गृहपृष्ठ मोटरसाइकल-स्कुटरको दुर्घटना सर्वाधिक
मोटरसाइकल-स्कुटरको दुर्घटना सर्वाधिक
पछिल्लो समयमा निजी मोटरसाइकलको संख्या निकै बढेर गएको छ । सार्वजनिक सवारी साधनको अभावका बीच बैंक तथा वित्तीय संस्थाहरूबाट किस्ताबन्दीमा पाइने ऋण सुविधाकै कारण मोटरसाइकल किन्नेहरूको संख्या तीव्र रुपमा बढेको छ ।
आर्थिक वर्ष २०७५/७६ को फागुनमसान्तसम्म देशभरि ३५ लाख ३९ हजार सवारी साधनहरू दर्ता भएकोमा मोटरसाइकलहरूको मात्र संख्या २५ लाख ३० हजार छ ।
मध्यम वर्गीय नेपालीहरूको संख्या बढ्दै गएसँगै सहज सवारी साधनका रूपमा मोटर साइकल र स्कुटरको संख्या बढ्दै गएसँगै यसको दुर्घटनादर पनि उच्च दरमा बढेको छ । बढ्दो दुर्घटनाले यी सवारी साधनहरू जतिको सहज छन्, उत्तिकै जोखिमपूर्ण पनि छन् भन्ने देखाएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा देशभरिमा १३ हजार ३६६ सवारी साधन दुर्घटना भएकोमा ८ हजार ५५३ मोटर साइकल र स्कुटर दुर्घटना भएका छन्, यो अघिल्लो आर्थिक वर्षकै हाराहारीमा छ ।
काठमाडौं उपत्यकामा मोटरसाइकल र स्कुटर दुर्घटना दर अत्याधिक छ । गत आर्थिक वर्षमा मात्र उपत्यकामा ५ हजार ५११ मोटरसाइकल र स्कुटर दुर्घटना परेका छन् ।
ट्राफिक प्रहरी महाशाखाको विश्लेषणमा सवारी साधनअनुसार दुर्घटनामा पर्नेको मृत्यु संख्या उल्लेख छैन । विगत १५ वर्षमा नेपालमा सवारी दुर्घटना दोब्बर भएको देखिन्छ ।
‘पहिलो कुरा त हाम्रो सडकको अवस्था नै ठिक छैन, त्यसमाथि हाम्रा युवा पुस्ताका मोटरसाइकल, स्कुटर चालकहरूको आफ्नै लापरवाहीले दुर्घटना हुने क्रम बढेको छ,’ ट्राफिक प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले भने ।
अत्याधिक गतिमा चलाउने, ‘जिकज्याक’ पारेर चलाउने, सवारी नियम पालना नगर्ने र मादक पदार्थ सेवन गरेर चलाउने प्रवृत्तिले मोटरसाइकल दुर्घटना बढेको उनको ठहर छ ।
महानगरीय ट्राफिक प्रहरीको दुर्घटना विश्लेषणअनुसार उपत्यकामा सर्वाधिक सवारी साधन दुर्घटनाको मुख्य कारण चालकको लापरवाही नै देखिएको छ । कुल दुर्घटनाको ८८ प्रतिशत चालकको लापरवाही, ६ प्रतिशत तीव्र गति, करिब ३ प्रतिशत मादक पदार्थ सेवनले हुने गरेको ट्राफिक प्रहरीको अध्ययनमा उल्लेख छ ।
उपत्यकापछि सर्वाधिक मोटरसाइकल दुर्घटना हुने क्षेत्रहरूमा इटहरी, बुटबल र पथलैया क्षेत्र परेका छन् । यी ट्राफिक प्रहरीको क्षेत्रीय कार्यालय भएका स्थानहरू हुन् । इटहरीले पूर्व, बुटबलले पश्चिम र पथलैयाले मध्य क्षेत्रका जिल्लाहरूका ट्राफिक अभिलेख राख्छन् ।
सवारी दुर्घटना संलग्न चालकहरूमध्ये २० प्रतिशत २० वर्षभन्दा मुनिका, करिब ५७ प्रतिशत २१ देखि ४० वर्ष उमेर समूहका र करिब २३ प्रतिशत ४० वर्षभन्दा माथिका छन् ।
‘सवारी चालकहरूमा सवारी नियम पालनाप्रतिको गम्भीरता निकै कम छ,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘यदि सवारी चालकहरूले पूर्ण रूपमा सवारी नियममात्रै पालना गर्ने र सडकको अवस्था सही हुने हो भने दुर्घटना दर नियन्त्रण गर्न सकिन्छ ।’
ट्राफिक प्रहरीका अनुसार दिउँदो १२ देखि साँझ ६ बजेका बीचमा सर्वाधिक सवारी दुर्घटना हुने गरेको छ । उपत्यकाभित्र हुने कुल दुर्घटनाको करिब ४० प्रतिशत यो समयमा हुने गरेको छ । त्यसपछि बिहान ६ देखि १२ बजेका बीचमा ३० प्रतिशत र साँझ ६ देखि बेलुका १२ बजेका बीचमा २५ प्रतिशत दुर्घटना हुने गरेको छ ।
‘हाम्रोमात्र सक्रियताले सडक दुर्घटना कम गर्न सकिँदैन, यसका लागि सवारी नियमन र व्यवस्थापनसँग सम्बन्धित सबै निकायहरूको एकीकृत प्रयास आवश्यक छ,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘मुख्य कुरा चालक सचेतना नै हो । यदि विद्यालय स्तरबाटै शिक्षामै सडक सुरक्षासम्बन्धी पाठ्यक्रम राख्ने हो भने यसमा धेरै सुधार हुनसक्छ ।’
यो पनि पढ्नु होस्ः
सडक दुर्घटनामा दैनिक ८ जनाको मृत्यु
प्रकाशित समय १६:४७ बजे

















