गृहपृष्ठ बागमतीका सबै जिल्लामा शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई निर्देशन
बागमतीका सबै जिल्लामा शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई निर्देशन
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बागमतीका सबै जिल्लामा शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा मकवानपुरको हेटौंडामा शनिबारदेखि सुरू भएको बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठीमा महानिरीक्षक ज्ञवालीले मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण र प्रहरीले सम्पादन गरेका समग्र कार्य, हालसम्म प्राप्त उपलब्धीलगायतका विषयमा चर्चा गरिएको थियो । बागमती प्रदेशको सुरक्षा चुनौती र प्रहरीले गर्नुपर्ने काम कारबाही र सतर्कताका सम्बन्धमा प्रहरी महानिरीक्षक ज्ञवालीले प्रस्तुतीकरण गरेका हुन् ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा सुरू भएको सत्रमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार प्रा.डा. इन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका युद्ध कार्यका महानिर्देशक उपरथी राजेन्द्र कार्की, गृह मन्त्रालयका सहसचिवलगायतले सम्बोधन गरेका थिए ।
बागमती प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद् तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तक्रिया र प्रस्तुतीकरण भएको थियो ।
आइतबार सम्पन्न हुने उक्त गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता रहेको छ ।
उक्त गोष्ठीको आजको सत्र सम्पन्न पश्चाात् प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुका प्रमुखहरु एवं अन्तर्गत १३ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई शान्ति सुरक्षालगायत समसामयिक विषयमा निर्देशन दिए ।
प्रकाशित समय ०७:३९ बजे

















