गृहपृष्ठ ‘नाम मात्रै’को हेल्थ डेस्क, ‘भगवान भरोसा’मा कोरोना सतर्कता

‘नाम मात्रै’को हेल्थ डेस्क, ‘भगवान भरोसा’मा कोरोना सतर्कता

विभिन्न नाकाबाट दैनिक हजारौँको आवतजावत

कैलालीको त्रिनगरमा स्थापित हेल्थ डेस्क ।

चीनबाट फैलिएको कोरोना भाइरस भारतमा पनि देखिएपछि सुदूरपश्चिम प्रदेशमा पनि त्रास बढेको छ । भारतका विभिन्न राज्यमा कोरोना प्रभावित व्यक्ति फेला परेको समाचारहरु सार्वजनिक हुन थालेपछि सुदूरपश्चिममा यसको जोखिमसमेत बढेको छ ।

खुला सिमानाका कारण नेपाल-भारत बीचका विभिन्न नाकाबाट दैनिक हजारौँको खुलेआम आवतजावत हुनेगर्छ । तर कोरोना भाइरस संक्रमण परीक्षणका लागि सीमा नाकामा भरपर्दो हेल्थ डेस्क नहुँदा जोखिम झनै बढेको हो । केही स्थानमा ‘नाम मात्रैको’ हेल्थ डेस्क स्थापना गरिए पनि भाइरस संक्रमण रोकथामको प्रयास ‘भगवान भरोसा’मै छ ।

भारतको राजधानी नयाँ दिल्लीका हरिकृष्ण गुप्ता सपरिवार बिहीबार धनगढी आइपुगे । नोवेल कोरोना भाइरस (कोभिड- १९)को त्रास भइरहेका बेला गुप्ता र उनको परिवारलाई नेपाल र भारत दुवै देशमा स्थापना गरिएको हेल्थ डेस्कमा कुनै परीक्षण भएन । उनले कोरोना भारइसको त्रास नभएकै कारण आफू यस विषयमा गम्भीर नभएको प्रतिक्रिया दिए । उनले भारतमा कोही पनि संक्रमित नभएको दावीसमेत गरे ।

बिहीबार नै भारतको अखिमपुरबाट नेपाल आएका चारुदिन अग्रवालले पनि दुवै देशको सीमा क्षेत्रमा स्थापना गरिएको हेल्थ डेस्कमा आफूलाई कुनै चेकजाँच नगरिएको बताए । धनगढीमा भेटिएका उनले भने, ‘कुनै चेकजाँच भएन । म अरु बेलाजस्तै सरासर आएको हुँ ।’ नाकामा हेल्थ डेस्क राखिएको र अनिवार्य परीक्षणबारे समेत उनले अनभिज्ञता प्रकट गरे ।

कोराना भाइरस नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कैलालीको त्रिनगर भन्सार कार्यालय र डोकेबजार, कञ्चनपुरको गड्डाचौकी तथा बैतडी र दार्चुलामा हेल्थ डेस्क स्थापना गरेको छ । त्रिनगर भन्सारस्थित हेल्थ डेस्कमा खटिएका दिनेश ठकुल्लालाई एक्लै जेकजाँच गर्न भ्याइ-नभ्याइ छ । उनी करिब एक महिनादेखि एक्लै खटिएका छन् ।

जनशक्ति अभावमा चेकजाँचको काम प्रभावकारी हुन सकेको छैन । प्रत्येक दिन बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ पनि त्यही समयमा भारतका विभिन्न क्षेत्रबाट सयौँ नेपालीहरु घर फर्किरहेका हुन्छन् । हेल्थ डेस्कमा रहेका ठकुल्ला बिहान १० देखि साँझ ५ बजेसम्म मात्रै चेकजाँचका लागि बस्छन् ।

भारतीय पक्षले पनि नाकानजिकै हेल्थ डेस्क राखेको छ । भारतीय हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी शिवम मिश्राका अनुसार लखिमपुर खीरीबाट डाक्टरको टोली आएर स्वास्थ्य चेकजाँच गर्ने गरेका छन् ।

आफ्नो क्षमताले भ्याएसम्म पूर्वसतर्कता अपनाइरहेको प्रदेश सरकारले बताउँदै आएको छ । सरोकारवालासँगको सल्लाहबाट थप सतर्कता अपनाउन तयारी भइरहेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुष्णराज सुवेदीले बताए । ‘सबै नाकामा हेल्थ डेस्क स्थापना गरिसकिएको छ । अब छुटेका नाकामा पनि हेल्थ डेस्क स्थापना हुन्छ,’ उनले भने ।

संक्रमणबाट जोगिन तीनै तहको सरकारले पूर्ण तयारी गरेको दावी गरेको छ । संघीय सरकारअन्तर्गत रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक सूचनामार्फत सबैलाई सचेत रहन भनेको छ । प्रशासनले ठूला सभा समारोह, महोत्सव, मेला लगायतका भीडभाड हुने कार्यक्रम नगर्न सरोकारवालासँग अनुरोध गरेको छ ।

प्रकाशित समय १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु