गृहपृष्ठ कोरोना भाइरस : इटलीमा एक करोड ६० लाख मानिस क्वारेन्टाइनमा
कोरोना भाइरस : इटलीमा एक करोड ६० लाख मानिस क्वारेन्टाइनमा
चीनको गुआंग्सी जुआंग क्षेत्रमा सर्वसाधारणलाई मास्क लगाउन सिकाउँदै स्वास्थ्यकर्मी ।
कोरोना भाइरस संक्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको इटलीका प्रधानमन्त्रीले बताएका छन् ।
उनीहरूलाई एप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ । नयाँ कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला, पौडीपोखरी, संग्रहालय र स्की रिजोर्ट पनि बन्द हुनेछन् ।
युरोपेली मुलुकमध्ये इटलीमा कोरोनाभाइरस संक्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ । शनिवार त्यहाँ संक्रमित मानिसको संख्यामा व्यापक वृद्धि भएको थियो ।
इटलीमा लागु गरिएका नयाँ उपायहरू देशको वित्तीय केन्द्र मानिने मिलानसहित भेनिसका अन्य पर्यटकीय स्थलमा आगामी एप्रिल ३ सम्म लागु हुनेछन् । कोभिड–१९ का कारण इटलीमा मृत्यु हुने मानिसको सङ्ख्या २३० पुगेको छ । अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको संख्या ५० भन्दा बढी पुगेको छ ।
संक्रमित भएको पुष्टि हुने मानिसको संख्या शनिवार मात्रै १,२०० ले बढेर ५,८८३ पुगेको थियो । एक करोड मानिस बसोबास गर्ने भनिएको उत्तरी भेगमा पर्ने लोम्बार्डी र वित्तीय क्षेत्र मिलान अत्यावश्यक बाहेकका अवस्थामा बन्द रहनेछन् ।
भेनिससहित १४ प्रान्तमा पनि त्यस्तै प्रावधान कायम रहनेछ । त्यसबाट कुल एक करोड ६० लाख मानिस प्रभावित हुनेछन् । यसअघि उत्तरी भेगमा क्वारेन्टाइनका कारण झन्डै ५० हजार मानिस प्रभावित भएका थिए ।
मृत्युदर कस्तो छ ?
इटलीको राष्ट्रिय स्वास्थ्य निकायले मृत्यु हुने मानिसको औसत उमेर ८१ वर्ष रहेको र उनीहरूमध्ये धेरैमा पहिल्यै स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको जनाएको छ ।
मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष छन् । सरकारी तथ्यांकअनुसार कोरोनाभाइरस देखिएका ४.२५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च मृत्युदर हो । विश्वकै धेरै उमेर भएका जनसङ्ख्या रहेको देशमध्ये एक इटली हो ।
नियन्त्रणका उपाय कस्ता ?
भाइरस नफैलियोस् भनेर सर्वसाधारणहरूलाई सकेसम्म घरमै बस्न आह्वान गरिएको छ ।सरकारले मानिसहरूको जमघट हुने स्थानहरू बन्द गर्ने भएको छ ।
नाईटक्लब, पौडीपोखरी, संग्रहालय र स्की रिजोर्ट आदि बन्द हुनेछन्। यसअघि केही समयका लागि शैक्षिक संस्थाहरू बन्द हुने घोषणा भइसकेको छ । तर रेस्टुराँ र क्याफे भने खुला रहनेछन् ।
तर त्यहाँ खानपिनका लागि जाने ग्राहकहरूले एकअर्कासँग कम्तीमा एक मिटरको दुरीमा बस्नुपर्नेछ । सर्वसाधारणहरूका लागि खेलकुदका गतिविधिमा पनि बन्देज लगाइएको छ।
के भन्छ विश्व स्वास्थ्य संगठन ?
विश्व स्वास्थ्य सङ्गठनले इटलीलाई संक्रमण फैलिन नदिन गम्भीर रूपमा लाग्न सुझाव दिएको छ । सरकारले क्वारन्टीनबाट भागे तीन महिना जेल सजाय भोग्नुपर्ने घोषणा गरेको छ।
इटलीको योजना चीनको जस्तै देखिन्छ। चीनमा लाखौँ मानिसलाई क्वारन्टीनमा बस्न बाध्य पारिएको थियो । विश्व स्वास्थ्य संगठनले चीनको प्रयासको प्रशंसा गर्दै आएको छ ।
अहिलेसम्म विश्वभरि एक लाख भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ । चीनबाहिर सर्वाधिक सङ्क्रमण क्रमशस् दक्षिण कोरिया, इरान र इटलीमा देखिएको छ। तर ती देशमध्ये इटलीमा मृत्यु हुने मानिसको सङ्ख्यामा बढी छ ।
इरानमा ६,००० जना सङ।क्रमित भएका छन् भने १४५ भन्दा बढीको मृत्यु भइसकेको छ । (बीबीसीबाट)
प्रकाशित समय १५:०१ बजे

















