गृहपृष्ठ दैनिक २० हजार मास्क उत्पादन गर्ने चेम्बर अफ कमर्सको तयारी

दैनिक २० हजार मास्क उत्पादन गर्ने चेम्बर अफ कमर्सको तयारी

कोरोना भाइरसको संक्रमण चीनसँगै विभिन्न देश बढेको र नेपालसमेत यसको जोखिममा रहेकाले बजारमा मास्कलगायत औषधीको अभाव हुन थालेको छ । बजारमा देखिएको अभाव र मागलाई ध्यान दिँदै चेम्बर अफ कमर्सले आफैँ दैनिक २० हजार मास्क उत्पादन गर्ने तयारी थालेको छ । त्यसपछि सर्वसाधारणले एउटा मास्कका लागि ७ रुपैयाँ मात्र तिर्नुपर्ने चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार मास्क उत्पादनको काम होलीलगत्तै सुरु हुने भएको छ । उनले भने, ‘मास्क उत्पादनलगत्तै बजारमा पुर्‍याउछौँ । यसमा नाफाभन्दा पनि सहयोगको भावनाले वितरण गर्न लागेका हौँ । अन्य देशबाट पनि अर्डर आइरहेको छ, बजारमा पुग्ने मास्क उत्पादन गरिसकेपछि त्यतातिर पनि सहयोग गर्नेछौँ ।’

नेपालमा मास्कको अभाव हुन थालेपछि चेम्बरले मास्क उत्पादन गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । मास्क उत्पादनका लागि व्यवसायी दिपक मलहोत्राको संयोजकत्वमा कमिटी गठन भइसकेको उनले जानकारी दिए ।

नेपाल चेम्बर अफ कमर्सले कोरोनाबाट सुुरक्षित एवं न्यूनीकरणको लागि आवश्यक मास्कलगायत विभिन्न सामग्री हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी चेम्बरका अध्यक्ष  श्रेष्ठले त्रिभुवन विमानस्थल र स्वास्थ्य सेवा विभागलाई सामग्री वितरण गरेका हुन् । चेम्बर अफ कमर्सद्वारा बजारमा सर्जिकल मास्कदेखि लिएर प्राईम किट प्रिमियम, एप्रोन, एप्रोन क्याप, ह्याण्ड ग्लोब, नन-कन्ट्याक्ट रेड थर्मोमिटरस्ता सामग्री वितरण गरेको हो ।

कोरोना भाइरसबारे बजारमा फैलिएको हल्लाको पछि नलागेर सावधानी अपनाउनु पर्ने डा. राजेश शाहले बताए । कोरोनाको संक्रमणबाट जोगिन साबुन पानीले हात धुन, सेनिट्राईजर लगाउन, भीडभाडमा सकेसम्म नजान, बाहिर निस्कँदा मास्क लगाएर मात्र हिँड्न उनको सुझाव छ । नेपालमा हालसम्म १ जनाबाहेक कसैमा कोरोना नदेखिएको र देखिए पनि निको भएर घर फर्किएको बताउँदै उनले अरु कोहीलाई केही समस्या देखिएमा जाँचको लागि स्वास्थ्य संस्था जान उनले आग्रह गरे ।

हवाई उड्डयन कार्यालय निर्देशक देव चन्द्र लालकर्णले विमानस्थलमा कोरोनाबारे उच्च सतर्कता अपनाइरहेको बताए । अहिलेसम्म कुनै संक्रमण नदेखिएको उनले स्पष्ट पारे । विमानस्थलबाट आवतजावत गर्ने हरेकलाई चेकजाँच भइरहेको उनले दावी गरे ।

स्वास्थ्य सेवा विभागका महानिर्देक डा. महेन्द्रप्रसाद श्रेष्ठले सबैजना एकजुट भएर लागेमा कोरोना भाइरसको संक्रमण रोक्न सकिने बताए । अहिलेसम्मको तथ्यांकअनुसार कोरोनाबाट ज्यान गुमाउने वृद्धाहरु बढी रहेको उनले जानकारी गराए । नेपालको सन्दर्भमा कोरोना संक्रमित अहिलेसम्म नदेखिएको र देखिहालेमा रोगभन्दा पनि नाकाबन्दीको समस्या ठुलो हुने उनको भनाइ छ ।

नेपाल बाहिरी देशमा निर्भर भएका कारण संवेदनशील भएर अघि बढ्नुपर्ने उनले बताए । उनका अनुसार नेपालका विभिन्न ३६ नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । काठमाडौँमा पनि विभिन्न होटलमा अनुसन्धानको लागि अनुसन्धनकर्ताहरु तयार गरिएको उनले जानकारी दिए ।

प्रकाशित समय १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु