गृहपृष्ठ ‘होली’जस्तो भएन होली
‘होली’जस्तो भएन होली
फिका बन्यो रङको पर्व
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व अर्थात् होली परम्परागत रूपमा विभिन्न रङ र लोला खेलेर मनाइँदै छ । हरेक फागुन शुक्ल पूर्णिमाका दिन पर्ने होली पर्व हिमाली तथा पहाडी जिल्लामा सोमबार तथा तराईमा मंगलबार मनाउने प्रचलन छ ।
तर यस वर्षको होली पर्वमा विगत वर्षको जस्तो उत्साह भने देखिएको छैन । कोरोना भाइरस संक्रमण हुने जोखिम बढेकाले रङको पर्व होली यस वर्ष ‘फिका’ बनेको छ । तराईमा आज आपसमा अबीर, रङ दलेर शुभकामना साटासाट गर्दै होली गीत गाउँदै यो पर्व मनाउने गरिन्छ । तर यो वर्ष सुदूरपश्चिमका तराइका जिल्लाहरुमा होलीको रौनक विगतमा जस्तो छैन ।
प्रदेशको राजधानी धनगढीका सडक र चोकहरुमा होली खेल्नेको चहलपहल अत्यन्त न्यून छ । बजार प्राय सुनसान छ । होलीको अवसर पारेर विगतमा विभिन्न सांगीतिक कार्यक्रम हुने धनगढी बजार यसपटक उराठलाग्दो बनेको स्थानीयवासी ओम चन्दले बताए । ‘यो वर्षको होली, होलीजस्तो नै लागेको छैन । पोहोरको रमझम सम्झेर बसिरहेको छु,’ मंगलबार धनगढीबजारमा भेटिएका चन्दले भने ।
धनगढी– ४, बसपार्कका राम भण्डारीले कोरोना संक्रमण हुन सक्ने भएकाले साथीभाइले पनि होली खेल्न मन नगरेकाले रमाइलो नभएको बताए । होलीको अवसरमा तराईमा आज सार्वजनिक बिदा दिइएको छ । धनगढी– १, पशुपतिटोलका विरेन्द्र परियारले सबैको मनमा भाइरसको डर भएकाले यसपालिको होलीमा रमाइलो नगरेको बताए । उनले भने, ‘केटाकेटीहरुलाई पनि होली नखेल्न भनिरहेका छौँ । हामी आफैँ त खेल्ने कुरै भएन ।’
कोरोनाको जोखिम रहेकाले सधैँजस्तो यसपटक जमघट भएर होली नखेल्न सरकार र विशेषज्ञ चिकित्सकहरुले आग्रह गरेका छन् । भीडभाडमा जाँदा, नजिकै पुगेर रङ लगाइदिँदा र पानीमा भिज्दा संक्रमणको जोखिम हुने भएकाले सजक हुन भनिएको छ ।
होलीका समान पनि बिकेनन्
होलीको चहलपहल नभएपछि रङ, अबिर, टीसर्ट, पिचकारीलगायत सामानको कारोबारसमेत घटेको छ । होलीका लागि भनेर ल्याइएका सामान विक्री नभएपछि व्यापारीहरुले अर्को वर्षका लागि थन्क्याउन थालेका छन् । धनगढीको रातोपुलमा रङ तथा पिचकारीको व्यापार गरिरहेका दिपक साहले पहिलाका वर्षहरुमा २०/३० हजार कमाई भएको बताउदै यस वर्ष पुरै घाटामा गएको बनाए ।
सधैँको वर्षहरुमा ‘ह्याप्पी होली’ लेखिएको टिसर्टको बिक्री राम्रै हुने गरे पनि यस वर्ष व्यापार नै नभएको एलएन चोकका फेन्सी पसलका सञ्चालक रमेशकुमार बङ्ग्रवालले बताए ।
सभा समारोह गर्न रोक
जिल्ला प्रशासन कार्यालय कैलालीले होलीका अवसरमा ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको छ । सरकारले सामूहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।
नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकाले यस वर्ष होली पर्वमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।
प्रकाशित समय १५:५८ बजे

















