गृहपृष्ठ कोटेश्वर-कलंकी सडक खण्डमा पनि लेन प्रयोगको नयाँ नियम
कोटेश्वर-कलंकी सडक खण्डमा पनि लेन प्रयोगको नयाँ नियम
उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोटेश्वर-कलंकी ८ लेन सडक खण्डमा लेन प्रयोगको नयाँ नियम लागू हुने भएको छ । अब यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू दाहिने मुख्य (दुर्त)लेनबाट मात्र चलाउनु पर्नेछ ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार यो नियम आगामी चैत्र २ गतेदेखि लागू गरिने हुने छ ।
पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन उक्त नियम लागू गर्न लागिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘यो सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्याससमेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनिकरण हुने अपेक्षा गरिएकोछ,’ उनले भने ।
उक्त सडक खण्डलाई व्यवस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुदाँ यसको प्रभावकारी कार्यान्वयन गर्नका लागि सम्बन्धित सरोकारवाला निकाय र संघ संस्था, यातायात सञ्चालक र व्यवसायीहरू,नागरिक समाज आदिसँग महाशाखाले छलफल गरेको छ । नियम कार्यान्वयनको लागि ट्राफिक प्रहरीलाई सहयोग पुग्नेगरी अनुगमनको लागि सम्बन्धित सम्पूर्णबाट प्रतिनिधित्व हुने गरि समितिसमेत गठन गरिएको छ ।
मासिक ८५ को हाराहारीमा सवारी दुर्घटना
देशकै पहिलो १० किलोमिटर लम्बाई भएको ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ्क रहेको छ । महाशाखाका प्रवक्ता एसपी जिवनकुमार श्रेष्ठले सवारी साधनहरूबाट जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानी हुने गरेको छ । जसका कारण दुर्घटनाको जोखिम बढेको हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ । यस नियम यसअघि नै महाशाखाले जडिवुटी-सुर्यविनायक सडक खण्डमा पूर्ण रूपमा कार्यान्वयन गरिसकेको छ ।
प्रकाशित समय १८:५५ बजे

















