गृहपृष्ठ ढिलो गुड्ने सवारीसाधनलाई बायाँ लेन
ढिलो गुड्ने सवारीसाधनलाई बायाँ लेन
कोटेश्वर-कलंकी सडकमा नयाँ नियम
सार्वजनिक बस तथा मालबाहक गाडी लगायतका ढिलो गुड्ने सवारीसाधनहरुले सडकको बाँया सर्भिस लेन मात्र प्रयोग गर्न पाउने भएका छन् । यो नियम कोटेश्वर-कलंकी सडकमा आइतबारदेखि लागू भएको हो ।
नयाँ नियमअनुसार छिटो गुड्ने सानो गाडीले भने दायाँ लेन प्रयोग गर्नु पर्नेछ । महानगरीय ट्राफिक महाशाखाले कार्यक्रमको आयोजना गरी यससम्बन्धी नियमको उद्घाटन गरेको हो । उक्त सडकको ८ लेनमा यो नियम लागू गरिएको महाशाखा प्रमुख एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए ।
कोटेश्वर-कलंकी सडकको लम्बाइ १० किलोमिटर रहेको छ । यसअघि जडीबुटी-सुर्यविनायक सडक खण्डमा पनि यही नियम लागू गरिएको छ । उक्त सडकमा यो नियम हालसम्म ९० प्रतिशत कार्यान्वयन भइरहेको एसएसपी ढकालले बताए । सडक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले यस्तो नियम लागू गरिएको उनको भनाइ छ ।
नियम पालना गराउनका लागि १० दिनसम्म ट्राफिकहरु प्ले कार्ड बोकेर सडकमै रहने एसएसपी ढकालले बताए । उनले भने, ‘हालका लागि सडकमा सूचना बोर्ड, पम्पप्लेट राखेका छौँ । १० दिनपछि नियमअनुसार नचल्नेलाई कारबाही गर्छौं ।’ उनले काठमाडौंका सडकलाई नमूना सडकको रुपमा बनाइछाड्ने बताएका छन् । सडक नियमको पालना भए/नभएको अनुगमनका लागि ट्राफिक प्रहरीका पूर्वइन्स्पेक्टर सिताराम हाछेथुको संयोजकत्वमा ९ सदस्यीय अनुगमन टोली पनि गठन भइसकेको उनले जानकारी दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराम दाहालले दुर्घटना न्यून गर्न वा दुर्घटना नै हुन नदिन ट्राफिक महाशाखाले गरिरहेको कामहरु प्रशंसनीय रहेको बताए । ट्राफिक व्यवस्थापनमा हामी सबै सचेत हुनुपर्ने उनको धारणा थियो । ट्राफिक जामलाई व्यवस्थापन गर्न ट्राफिक लाइट, लेन, अन्डरग्राउन्डजस्ता अन्तर्राष्टिय नियमलाई ध्यान दिन उनले अनुरोध गरे । ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ट्राफिक मात्र नभएर सबैजना जिम्मेवार भएर लाग्नुपर्ने उनले बताए ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले सडक लेनसम्बन्धी नयाँ नियम कार्यान्वयन गराउने अभियानमा सबै मिलेर लाग्नुपर्ने बताए । चालकहरुलाई नियमबारे जानकारी दिन र सचेत गराउन यातायात व्यवसायीहरुसमक्ष उनले आग्रह गरे । ‘हामी सबै ट्राफिक हौँ, हामी आफैंले नियमको पालना गर्ने र अरुलाई पनि पालना गर्न सिकायौँ भने ट्राफिक व्यवस्थापन कायम गर्न गाह्रो छैन,’ उनले भने ।

प्रकाशित समय १४:४३ बजे

















