गृहपृष्ठ तारमा जेलिएको सहर
तारमा जेलिएको सहर
चारैतिर घरैघर अर्थात् कंक्रिटको जंगल । साँघुरा गल्ली, अनि त्यही गल्लीभित्रका पोलमा गुुुुजुमुज्ज बिजुलीका तार । सहर नै कुरुप देखिने गरी बाँधिएका तारका झुप्पाले राजधानी काठमाडौंको वास्तविक चित्रण गर्छ ।
केन्द्रीय राजधानी काठमाडौँ, जहाँ अव्यवस्थित तरिकाले सहर बसिसकेको छ । पुराना शैलीमा बनेका घर भत्किाइँदै नयाँ घर बन्ने क्रम बढ्दो छ । तर, त्यतिखेर पनि महानगरपालिकाका कुनै योजना अगाडि सर्दैनन् । जसलाई जे ठिक लाग्छ, त्यही भइरहेको छ । घरअगाडिका पोलमा बिजुली, केबुल, इन्टरनेट, टेलिफोनका तार गुजुमुज्ज भए पनि स्थानीयलाई हाइसञ्चै छ । उनीहरु न यसको व्यवस्थापनका लागि चासो दिन्छन् न त दबाब नै दिन चाहन्छन् । फगत व्यापार गरेर बसेका छन् सदीयौंदेखि ।
काठमाडौंभित्रका ‘पुराना सहर’ असन, इन्द्रचोकलगायत त बिजुलीका तारभित्र खोज्नुपर्ने स्थिति छ । कतिपयले घरमा आफैं व्यापार गरेका छन् भने कतिपयले भाडामा दिएका छन्, अकुत भाडा लिएर । ‘बिजुलीको तार धेरै जोखिमपूर्ण छ, करेन्ट लाग्ने हो कि भन्ने पनि हुन्छ, फोहोर उस्तै देखिन्छ,’ असनका व्यापारी कृष विष्टले भन्छन्, ‘तर के गर्नु व्यापार त गर्नैपर्यो ।’
एक वर्षदेखि असन बस्दै आएका उनी बजार क्षेत्रको सुन्दरता बिगार्ने मुख्य कारक तार नै ठान्छन् । केही समयअघि पसलनजिक आगो लाग्दा भुइँ नै छुन खोजेको तारका कारण दमकल छिर्न नसकेर ठूलै समस्या निम्तिएका उनले सुनाए । ‘तर पनि यहाँका मानिसलाई हाइसञ्चो छ, समस्या आइपर्दा मात्र आत्तिने हुन्,’ व्यापारी विस्टले भने ।
असनकै जुत्ता व्यापारी अनिल तारका कारण सहर नै कुरुप देखिएकाले भूमिगत गर्ने कार्यलाई तीव्रता दिनुपर्ने बताउँछन् । तार मात्र होइन, पुराना घर हटाउने विषयमा पनि सरकारले सोच्नुपर्ने उनको धारणा छ । ‘घर बनाउन सरकारले ऋण अनुदान दिन सक्छ नि !’ उनले भने ।
घर तारले छोपिएका छन् । र, ती तार थाम्ने पिल्लर झनै कमजोर छन् । कतै कतै तार पिल्लरको भरमा र पिल्लर तारको भरमा अडिएको भेटिन्छन् । काठमाडौँ महानगरपालिका नेपाल विद्युत प्राधिकरणले कहिले तार जमिनमुनि हालिदिन्छ र जस लिउँ भन्नेमा छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नगर क्षेत्रमा अहिले बिजुलीका तार मुठो पारेर झुन्ड्याउने काम भइरहेकोे बताउँछन् । ‘विद्युतका तारभन्दा पनि केबुलका तार व्यवस्थित गर्न हामी लागिपरेका छौं,’ उनी भन्छन्, ‘बिजुलीका तारलाई भूमिगत गर्ने जिम्मा प्राधिकरणको हो, यसमा नगरपालिकाले सहयोग गर्छ ।’
विद्युत प्राधिकरणले काठमाडौंको तार भूमिगत गर्न तथा वितरण प्रणालीलाई स्वचालित बनाउन काम थालिसकेको छ । प्राधिकरणले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम सुरु गरिसकेको जनाएको छ । पहिलो चरणमा बागबजार, असन, दरबारमार्ग र रत्नपार्क क्षेत्रसहित बालुवाटर, गोंगबु, सामाखुसी क्षेत्रका काम सक्ने प्राधिकरणको तयारी रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
तस्बिर : कबेन्द्रकुमार रावल
प्रकाशित समय १२:०८ बजे



















