गृहपृष्ठ सांसद रावललाई थप ५ दिन हिरासतमा राखिने
सांसद रावललाई थप ५ दिन हिरासतमा राखिने
प्रदेश सांसद रावल ।
नेकपा सुदूरपश्चिमका सचेतकसमेत रहेका प्रदेशसभा सदस्य अक्कलबहादुर रावललाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । यसअघि प्रहरीले उनलाई ११ दिन हिरासतमा राखिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्ला अदालत कैलालीले रावलमाथि अनुसन्धानका लागि थप पाँच दिन म्याद थप गरेको हो । रावलमाथि जवरजस्तीकरणी उद्योगमा मुद्धा दर्ता भएको छ ।
उक्त मुद्धामा आरोप पुष्टि भए ५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । उक्त मुद्धामा साढे तीन वर्षदेखि ५ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ ।
रावलविरुद्ध धनगढीकी एक २५ वर्षीय विवाहित महिलाले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी थिइन् । महिलाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्ला अदालत कैलालीबाट फागुन १५ गते पक्राउका लागि अनुमति पाएको थियो तर, फागुन २१ गते मात्रै पक्राउ गरेको थियो ।
नगरप्रमुखबाट पराजित भएपछि बाम गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका रावल अछाम क्षेत्र नम्बर २ को ’ख’ बाट निर्वाचित भएका थिए ।
प्रकाशित समय ११:४३ बजे

















