गृहपृष्ठ प्रदेश २ मा ११५ शय्याको आइसोलेसन वार्ड निर्माण हुँदै
प्रदेश २ मा ११५ शय्याको आइसोलेसन वार्ड निर्माण हुँदै
फाइल तस्बिर ।
प्रदेश २ मा ११५ शय्याको आइसोलेसन वार्ड निर्माण हुने भएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि प्रदेशका विभिन्न मेडिकल कलेज तथा अस्पतालमा आइसोलेसन वार्ड निर्माण गर्न लागिएको हो ।
यसका लागि तयारीका कामहरु तीव्र रुपमा अगाडि बढाइएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेश २ मा पनि हालसम्म एक जनामा पनि कोरोनाको संक्रमण नदेखिएको भए पनि पूर्व सतर्कताका लागि आइसोलेसन वार्डको निर्माण कार्य अगाडि बढाइएको हो ।
जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा तीन, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच, जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० वटा तथा नेशनल मेडिकल कलेजमा पनि ५० वटा आइसोलेसन वार्डको निर्माणका लागि काम अगाडि बढाइएको निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले जानकारी दिए ।
यसैगरी कोरोनाको संक्रमण हुन नदिनका लागि सीमा क्षेत्रमा विशेष निगरानी बढाउने काम भएको छ । विभिन्न स्थानीय तहहरुमा पनि हेल्थ डेस्क सञ्चालनका लागि काम शुरु भइसकेको निर्देशनालयले जानकारी दिएको छ ।
प्रकाशित समय १४:४१ बजे

















