गृहपृष्ठ कोरोना जोखिम : सरकारलाई देउवाको ८ बुँदे सुझाव

कोरोना जोखिम : सरकारलाई देउवाको ८ बुँदे सुझाव

कोरोना भाइरस अर्थात कोबिड- १९ ले विश्वव्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउनु पर्ने सतर्कताबारे सरकारलाई गम्भीर भएर कार्य गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् ।

जोखिम सामना गर्न कांग्रेसको सम्पूर्ण साथ रहने घोषणा गरिसकेको स्मरण गराउँदै युद्धस्तरमा कार्य गरी सरकारको प्रभावकारिता देखाउन देउवाको आग्रह छ । सोमबार देउवाले विज्ञप्तिमार्फत सरकारलाई ८ बुँदे सुझाव दिएका छन् ।

देउवाका सुझावहरू :

(१) सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनै पनि समय संक्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गर्दछु ।

(२) सम्भावित जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइनहरु तथा आइसीयूसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औंल्याउन चाहन्छु ।

(३) अनेक अफवाह चिर्दै वास्तविक सूचना सम्प्रेषण गर्ने कर्तव्य राज्यको रहेकोे ध्यानाकर्षण गराउन चाहन्छु ।

(४) अत्यावश्यक खाद्यान्नको थप मुल्य वृद्धिसँगै कालोबजारी फस्टाएको छ । बजारमा सरकारका सम्बन्धित निकायहरूको उपस्थितिबाट उपभोक्ताको हित संरक्षण जरुरी रहेको आवश्यकता औंल्याउन चाहन्छु ।

(५) सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जाने संकेत दृष्टिगत गरेर सरकारले समयमै आवश्यक रणनीति निर्माण गर्न जरुरी देखिएको छ ।

(६) पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको छ भने कतिपय उद्योग र अन्य ब्यवसायिक क्षेत्र संक्रमण पूर्वको असर भोगिरहेका छन् । समग्र नीजि क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी आवश्यकता औल्याउँदछु ।

(७) सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा बिशेष गरि गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरुलाई अत्यन्तै कष्टकर अवस्था बन्ने देखिन्छ । तिनका लागि राहतको योजना ल्याउन सरकारसमक्ष माग गर्दछु ।

(८) शैक्षिक भविष्यलाई असर नपर्ने गरी जोखिमबाट विद्यार्थीहरुलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउँदछु ।

यसका साथै सभापति देउवाले स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी-दाजुभाइलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न हार्दिक अपिल गरेका छन् ।

प्रकाशित समय १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु