गृहपृष्ठ ट्राफिक उज्यालो अभियान : १ लाख ३० हजारलाई सचेतना कक्षा

ट्राफिक उज्यालो अभियान : १ लाख ३० हजारलाई सचेतना कक्षा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत ट्राफिक उज्यालो अभियानमार्फत १ लाख ३० हजारलाई सचेतना कक्षा प्रदान गरेको छ ।

सडक प्रयोगकर्ता, पैदलयात्री, चालक, सहचालक, विद्यार्थीहरुलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न थालेको ३ महिने विशेष उज्यालो अभियानमार्फत सचेतना कक्षा प्रदान गरिएको हो । महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले भने, ‘यस तीन महिने अभियानमा लक्ष्यभन्दा बढी १ लाख २९ हजार ५ सय ५३ जनालाई प्रशिक्षित गरिएको छ । अभियानअन्तर्गत १ लाख जनालाई प्रशिक्षण दिने लक्ष्य राखेका छौँ ।’

‘सडक प्रयोगकर्तालाई सडकमा मात्र नभई घर–घरमा, स्कुल कलेजमा, खेलमैदान आदिमा गएर सडक नियम र सडक अनुशासनबारे छर्लङ्गै हुनेगरी कोर्ष नै डिजाइन गरेर ट्राफिक सचेतना प्रदान गरिएको छ,’ उनले भने । उनका अनुसार यस ३ महिने अभियानमा सार्वजनिक भाडाका सवारी चालक १९ हजार ५६९, निजी सवारी चालक १ हजार ९५६ र मोटरसाइकल चालक २६ हजार ९२० जनालाई प्रशिक्षित तुल्याइएको छ ।

यसैगरी सिंहदरबारस्थित विभिन्न मन्त्रालयका सरकारी चालक ६१२, नेपाली सेनाका चालक ५७, पैदलयात्री/सर्वसाधारण ६२ हजार ८०९, संघसंस्था १ हजार ८१७ र विद्यार्थी १५ हजार ७८१ जनालाई पनि प्रशिक्षण दिइएको छ ।

प्रकाशित समय १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु