गृहपृष्ठ कोरोनाबाट बच्न कर्णालीका दश जिल्लाको यस्तो तयारी
कोरोनाबाट बच्न कर्णालीका दश जिल्लाको यस्तो तयारी
नोवल कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट बच्न कर्णाली प्रदेशका दश जिल्लाले आ-आफ्नै तयारी गरेका छन् । कर्णाली प्रदेश सरकारले गरेको तयारीसँगै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कर्णालीका सबै जिल्लामा कोरोनाबाट बच्न तयारी गरिएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा कर्णाली प्रदेश विपत् व्यवस्थापन उच्चस्तरीय परिषद् गठन गरिएको छ । साथै सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा कर्णाली प्रदेश विपत व्यवस्थापन कार्यान्वयन समिति गठन गरिएको छ ।
वीरेन्द्रनगरमा ४ सय शय्याको क्वारेन्टाइन बन्दै
कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरको खुल्लामञ्चमा ४ सय शय्या क्षमताको क्वारेन्टाइन निर्माण गर्दैछ । नेपाली सेनाका पृतनापति सरोजप्रताप राणाको संयोजकत्वमा काम अगाडि बढेको छ । सामाजिक विकासमन्त्री रावलका अनुसार सरकारले आवश्यक परेको खण्डमा थप ६ सय शय्याको क्वारेन्टाइन मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा निर्माण गर्नेछ ।
दैलेखका स्थानीय तहले उपचार व्यहोर्ने
दैलेखको नारायण क्याम्पसमा ९० वटा क्वारेन्टाइन शय्या तयार गरिएको छ । जसको जिम्मेवारी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले लिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सहयाक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । सरस्वती माध्यमिक विद्यालय तर्तांकमा पनि क्वारेन्टाइन निर्माण तयारी भइरहेको उनले बताए ।
उनका अनुसार आइसोलेनका लागि पनि तयारी भइरहेको छ । कोटिलाको खेत, डुंगेश्वर गाउँपालिकाका चुप्रामा रहेको खाली स्थानलगायतका थुप्रै स्थानमा क्वारेन्टाइनका लागि तयारी गरिएको क्षेत्रीले बताए । दैलेखमा कोरोना संक्रमण देखिए उपचार खर्च सम्बन्धित स्थानीय तहले व्यहोर्ने पनि उनले जानकारी दिए ।
त्यस्तै विपत् व्यवस्थापन समितिको बैठकले चारवटा उपसमिति गठन गरेको छ । दैलेखको गुराँस गाउँपालिका र आठबिसकोट नगरपालिकामा हेल्थ डेस्कको व्यवस्था गरिएको छ ।
मुख्यमन्त्रीको जिल्ला कालिकोटमा कोरोना सचेतना
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको जिल्ला कालिकोटमा कोरोना सचेतनाका कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा सचेतना कार्यक्रम गरिएको हो । कालिकोटका विद्यालयका भवनहरुमा क्वारेन्टाइनको व्यवस्था गर्ने बताइए पनि हालसम्म आधिकारिक जानकारी नआएको उनले बताए ।
जुम्लामा १२० शय्याको आइसोलेसन तयार
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२० शय्या क्षमताको आइसोलेसन तयार भएको छ । जिल्लामा अत्यावश्यक सेवा प्रवाह गर्ने सम्बन्धमा समिति गठन भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । एक सय शय्यासम्मको क्वारेन्टाइन निर्माणका लागि जुम्ला जिल्ला बहुमुखी क्याम्पस, तत्कालीन जिल्ला विकास समितिको कार्यालय र कर्णाली प्राविधिक शिक्षालयको स्थान अवलोकन भएको उनले बताए ।
जिल्लाका तीन स्थानमा हेल्थ डेस्क राखिएको छ । जुम्ला विमानस्थल, कालीकोटको नाग्मा र मुगु जाने बाटो हिमा गाउँपालिकामा हेल्थ डेस्क राखिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्राविधिक शिक्षालयबाट मानव स्रोत ल्याइने देवकोटाले जानकारी दिए ।
जाजरकोट सेना, प्रहरी र जिल्ला अस्पतालमा आइसोलेसन शय्या तयार
कोरोना संक्रमणबाट बच्न जिल्ला अस्पताल जाजरकोटमा ६, नेपाल प्रहरीले ४ र नेपाली सेनाले ६ आइसोलेसन शय्या बनाएका छन् । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी विष्णु साहनीका अनुसार आइतबार बसेको विपत् व्यवस्थापन समितिको बैठकले तयारीका लागि विभिन्न निर्णय पनि गरेको छ ।
जाजरकोट जिल्लामा रहेको विभिन्न स्थानीय तहहरुलाई सीमा नाकाहरुमा हेल्थ डेस्क राख्न अनुरोध गरिएको छ । यसबाहेक सचेतनाका कार्यक्रम पनि भइरहेका छन् । जाजरकोटको शिवालय गाउँपालिकाको छेडाबजारमा र खलंगा बजारमा हेल्थ डेस्क राखिएको छ ।
रुकुम पश्चिमका स्थानीय तहले कम्तीमा २० शय्याको क्वारेन्टाइन बनाउँदै
रुकुम पश्चिमका सबै स्थानीय तहले कोरोना संक्रमणबाट बच्न कम्तीमा २० शय्या क्षमताको क्वारेन्टाइन निर्माण गर्ने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए । स्थानीय तहहरुले कम्तीमा ५ शय्याको आइसोलेसन कक्ष तयार गर्ने तयारी पनि गरेका छन् ।
जिल्ला अस्पताल रुकुम पश्चिममा ५ शय्याको आइसोलेसन, नेपाल प्रहरीमा ४ शय्याको क्वारेन्टाइन, नेपाली सेनाले २० शय्याको क्वारेन्टाइन, सशस्त्र प्रहरीमा ४ शय्याको क्वारेन्टाइन र एउटा होटलमा क्वारेन्टाइनको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । सबै नाका जोडिएका क्षेत्रमा हेल्थ डेस्क रहेको उनले बताए ।
सल्यानमा आइसोलेसन नबन्ने
सल्यान जिल्ला अस्पतालमा २० शय्या क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लाले आइसोलेसनका लागि तत्काल केही गर्न सक्ने अवस्था छैन ।
हुम्लामा ५० शय्याको क्वारेन्टाइन
हुम्लामा कोरोना संक्रमणबाट बच्न ५० शय्या क्षमताको क्वारेन्टाइन तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए । हुम्लाका विभिन्न स्थानमा हेल्थ डेस्क राखिएको र स्थानीय तहहरुले संक्रमण फैलिए उपचारका लागि भन्दै बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
डोल्पामा स्रोत साधन छैन
डोल्पामा कोरोना प्रतिकार्यका लागि स्रोत साधनको अभाव भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेशराज सुनारले बताए । उनले स्रोत साधनको अभावमा समेत २८ शय्या क्षमताको क्वारेन्टाइनको तयारीमा लागेको जानकारी दिए ।
मुगुमा ३५ शय्याको क्वारेन्टाइन, ७ शय्याको आइसोलेसन
मुगुमा ३५ शय्याको क्वारेन्टाइन र ७ शय्या क्षमताको आइसोलेसन कक्षको तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पताल मुगुको नयाँ भवनमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न लागिएको हो ।
प्रकाशित समय ०७:५८ बजे

















