गृहपृष्ठ रगतको नमूना पठाउन समस्या

रगतको नमूना पठाउन समस्या

कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनबाट हवाई सेवासमेत बन्द भएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना आशंका गरिएका व्यक्तिको रगत परीक्षणको नमूना काठमाडौं पठाउन समस्या भएको छ ।

सुदूरपश्चिममा प्रयोगलाशा नभएका कारण दुईदिन अघिसम्म कोरोना आशंका गरिएका व्यक्तिको रगत परीक्षणको नमूना सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला, तारानगरलाई पठाउने गरेको थियो । त्यहाँबाट हवाईजहाजमार्फत काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउने गरे पनि हवाइ उडानसमेत नहुँदा समस्था जटिल बनेको हो । यसरी धनगढीबाट रगतको नमूना काठमाडौं पठाउँदा त्यसको रिपोर्ट आउन तीन दिन लाग्ने गरेको थियो ।

लकडाउनका कारण मंगलबारदेखि हवाई सेवा बन्द भएका कारण कोरोनाको आशंका गरिएका व्यक्तिको रगत नमूना काठमाण्डौं पठाउन नसकिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले बताइन । उनका अनुसार हालसम्म सेती प्रादेशिक अस्पतालबाट १४ जनाको नमूना काठमाडौैं पठाइएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले ‘स्वाब’ परिक्षणमा लकडाउनले प्रत्यक्ष असर पारेको बताए । उनले भने, ‘विमान नउड्ने भएपछि संकलन भएका स्वाव कसरी पठाउने भन्ने समस्या भएको छ ।’ जिल्लामा संकलित नमूना पनि स्वास्थ्यकर्मीहरुले सवारी साधनबात ल्याउने गरेको बताए ।

सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालले आइतबारसम्म आठ जनाको ‘स्वाब’ परिक्षणका लागि काठमाडौं पठाइसकेको छ । जसमा सात जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका डा. जगदिश जोशीले बताए ।

डा. जोशीले सोमबार एक र मंगलबार थप तीन जनाको ‘स्वाब’ संकलन गरिएको बताए । ‘थप दुईजना पनि भर्ना भएका छन् । संकलित नमूना काठमाडौँसम्म कसरी पठाउने भन्ने अहिले मुख्य समस्या भएको छ,’ उनले भने ।

प्रकाशित समय १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु