गृहपृष्ठ क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कुटिए
क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कुटिए
बैतडीको पुरचौडी नगरपालिका- ५, कुवाकोटमा रहेको क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी कुटिएका छन् । क्वारेन्टाइनमा राखिएकाहरूको आफन्तले नै स्वास्थकर्मीमाथि कुटपीट गरेका हुन् ।
उनीहरुले क्वारेन्टाइनभित्रै प्रवेश गरेर बुधबार राति ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीलाई कुटेका हुन् । भाटाले प्रहार गर्दा अहेब धामीको छातीमा चोट लागेको छ । आक्रमणकारीले उनको हातको औंलासमेत टोकिदिएका छन् ।
भारतको बैंगलोरबाट चैत १२ गते नेपाल आएका सात जनालाई भूमिराज मावि, काटै गहताडको क्वारेन्टाइनमा राखिएको थियो । नरेन्द्र जाग्रीले ‘मेरो छोरालाई किन क्वारेन्टाइनमा रोखको ?’ भन्दै अहेबमाथि आक्रमण गरेका थिए ।
कुटपीटबाट घाइते भएका अहेब धामीलाई उद्धार गरी हाट स्वास्थ्य चौकीमा ल्याइएको पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विनोद कुँवरले जानकारी दिए । बैतडीका प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेयले स्वास्थ्यकर्मीमाथि कुटपीट भएको जानकारी आएपछि घटना स्थलमा प्रहरी पठाएको बताए ।
प्रकाशित समय १५:४८ बजे

















