गृहपृष्ठ चीनमा भन्दा अमेरिकामा धेरै कोरोना संक्रमित, ट्रम्प भन्छन्- चीनले तथ्य लुकायो

चीनमा भन्दा अमेरिकामा धेरै कोरोना संक्रमित, ट्रम्प भन्छन्- चीनले तथ्य लुकायो

भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ हजार ९० पुग्यो

चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपले साढे ५ लाखको हाराहारीमा मान्छे संक्रमित बनेका छन् । प्रकोप सुरु भएदेखि सबैभन्दा बढी संक्रमित भएको देश चीनलाई पनि उछिन्दै अमेरिकामा सबैभन्दा बढी संक्रमित भएका छन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण भएको छोटो समयमै सबैभन्दा बढी फैलावट भएको छ ।
तथ्यांकअनुसार, मार्च २६ तारिक बिहीबार अपरान्हसम्ममा कोरोना भाइरसबाट संक्रमित अमेरिकीहरुको संख्या ८५ हजार ५९४ पुगेको छ । जुन चीनको भन्दा ४ हजार २५४ सय ८७ जनाले बढी हो ।

चीनमा आजसम्म संक्रमितको संख्या ८१ हजार ३४० छ । नयाँ संक्रमणको दरका हिसाबले अमेरिकामा यो भाइरस यति छिटो फैलिएको छ कि २६ तारिक साँझसम्ममा १३ हजार ६ सय ८५ नयाँ केसहरु थपिएका छन् ।

चीनमा संक्रमणको दर निकै कम छ । आज चीनमा ६७ वटामात्रै नयां संक्रमणका केसहरु आएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुमा इटाली अगाडि छ । यहाँ ८ हजार २१५ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ४ हजार १ सय ५४ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वभर भाइरसका कारण २४ हजार ९० जनाले विश्वभर ज्यान गुमाएका छन् । त्यस्तै ५ लाख ३२ हजार २६३ जना संक्रमित फेला परेका छन् भने एक लाख २४ हजार ३४९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोना संक्रमितको तथ्यांक लुकाएको बताएका छन् । ‘अमेरिकाले सबैको परीक्षण गरिरहेको छ, त्यही भएर संक्रमित बढी देखिएको हो,’ पत्रकार सम्मेलनमा उनले भने, ‘चीनले परीक्षण पनि सबै गरेको छैन र तथ्य पनि लुकाएको छ, त्यही भएर कम देखिएको हो ।’

प्रकाशित समय १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु