गृहपृष्ठ कोरोनाभाइरसबारे हावा कुरामा विश्वास नगरौं, सत्यता बुझौं
कोरोनाभाइरसबारे हावा कुरामा विश्वास नगरौं, सत्यता बुझौं
कोरोनाभाइरस संक्रमणसम्बन्धी दुईवटा लेख प्रकाशित भएपछि धेरै गाली र थोरै ताली खाएँ । अब केही लेख्दिनँ, आफन्त र हितैषीमाझ मात्र ज्ञान र सूचना आदानप्रदान गर्छु भनेर बसेँ । सामाजिक सञ्जालमा झुट र भ्रमका बिस्कुनहरुलाई बेवास्ता गर्नुबाहेक अरु उपाय देखिन ।
यत्तिकैमा हिजो मात्र एक आफन्तसँग कुरा भयो ।
उहाँले भन्नुभयो, ‘बा त झ्यालढोका टम्म बन्द गरेर बस्नुभएको छ, बाहिर त के कोठाबाहिर पनि निस्कनुभएको छैन । संक्रमण त हुनै सक्दैन ।’
उहाँको कुरा सुनेर छक्क परें ।
‘किन नि !’ मैले थप जिज्ञासा राखेँ ।
उहाँले भन्नुभयो, ‘फेसबुकमा यो कोरोना भाइरस हावाबाट सर्छ भनेर विश्व स्वास्थ्य संगठनले भन्यो रे ! त्यही भनेर झ्यालढोका बन्द गर्नुभएको हो ।’
मैले उहाँलाई सम्झाएँ । त्यसपछि केही लेख्नुपर्छ भन्ने लाग्यो र लेख्दै छु ।
केही दिनअघि तपाईंको सञ्जालमा विश्व स्वास्थ्य संगठनको लोगो र डाइरेक्टर जनरलको फोटोसमेत भएको एउटा सन्देश आएको हुनुपर्छ । जसमा लेखिएको छ- ‘Covid 19 is confirmed as airborne and remain 8 hrs in air! So everyone is required to wear mask everywhere.’ स्रोतको रुपमा CNBC.COM झुन्ड्याइएको थियो । झट्ट हेर्दा शतप्रतिशत सत्य लाग्ने त्यो पोस्टर ।
मेरो र मेरा सह-अनुसन्धानकर्ताहरु एवं हाम्रा गुरुहरुले गरेका अध्ययनमा यस्ता भाइरसहरु airborne हुँदैन भन्ने थियो । सत्यतथ्य त पत्ता लगाउनु नै पर्यो । स्रोत समाचार संस्था CNBC मा गएर हेर्दा यस्तो भेटियो‑ ‘WHO is considering ‘airborne precautions’ for medical staff after a new study showed the coronavirus can survive in the air in some settings.’
पूरै लेख पढेँ ।
सामान्य अंग्रेजी जान्ने बुझ्नेले पनि फरक छुट्याउनुपर्ने हो‑ Covid 19 is confirmed र WHO is considering बीचको भिन्नता ।
तर, सानो अक्षरले लेखको पछिल्लो वाक्य पढ्दै पढेनन् र आकाश खस्न लागेको सन्त्रासमा धमाधम, भकाभक त्यो भ्रम भाइरल बनाउँदै लगे । सन्देश सेयर गर्नेमा संयुक्त राष्ट्रसंघीय निकायका उच्चपदस्थ अधिकारीदेखि पिएचडीधारी प्राध्यापकहरुसमेत थिए ।
मूल सन्देशको मतलब हालै प्रकाशित एउटा जर्नल आर्टिकलमा कोरोनाभाइरस विभिन्न सतहहरुमा कसरी नष्ट हुन्छ अर्थात् कति समयसम्म क्रियाशील रहन्छ भनेबारे अध्ययन गरिएको थियो । त्यसमा भाइरस पार्टिकललाई artificially aerosolized गरेर पनि कति समय क्रियाशील हुनसक्छ भन्ने अध्ययन गरिएको थियो ।
एरोसोल भनेको air अर्थात् हावा होइन । An aerosol (abbreviation of ‘aerosolution’) is a suspension of fine solid particles or liquid droplets in air or another gas.
हामीले खोक्दा वा कुरा गर्दा आँखाले नदेख्ने तर महसुस गरिने स‑साना पानी (तरल पदार्थ) पनि एरोसोल नै हो । यसमा टाँसिएर संक्रमणकारी दैत्य‑पिचासहरु बाहिर निस्कने हुन् । र, विश्व स्वास्थ्य संगठनले यसैलाई जोड दिएको हो । यस्तो जटिल र नाजुक उपचार कक्षको मेडिकल सेटअप विशेष हुन्छ, AIR TIGHT हुन्छ र त्यहाँ काम गर्ने स्वास्थ्यकर्मी र बिरामीका लागि कृतिम रुपमा स्वच्छ हावा बहाव गरिएको हुन्छ । त्यही हावामा ती एरोसोल थिग्रिनुअघि पुन: हावामा सर्कुलेट हुनसक्छ र भाइरस नाक हुँदै शरीरमा प्रवेश गर्ने सम्भावना रहन्छ । तसर्थ विश्व स्वास्थ्य संगठनले ‘airborne precautions’ for medical staff after a new study showed the coronavirus can survive in the air in some settings भनेको हो ।
यसको मतलव यो होइन कि भाइरस हावामा हुन्छ । यसको मतलव त अस्पताल र हवाईजहाजमा त्यहीँको हावा फिल्टर हुँदै घुमिरहने हुँदा एरोसोल हावामा केहीबेर तैरिन सक्छ । त्यसैले हेल्थ केयर सेक्टरमा काम गर्नेले N95 मास्कमात्र होइन, पिपिइसमेत अनिवार्य लगाउनुपर्छ ।
यस्तो लाभकारी र सही सन्देशलाई बंग्याएर त्रास फैलाउने जो कोही भए पनि त्यो कोरोनाभन्दा पनि नीच हुन् ।
एकछिन मानौं यो भाइरस airborne हो रे ! यदि हो भने तपाईं‑हामी लकडाउन भएर बस्नुको कुनै अर्थ छ ? हावालाई छेक्न सक्नु हुन्छ ? हावामा हुनुको अर्थ तपाईंले फेर्ने सासको कण‑कणमा भाइरस हुन्छ भन्ने हो । त्यस्तो हुने हो भने विश्वको कोही पनि मानव भाइरसबाट बच्न सक्दैन ।
मानवबाट मानवमा त्यो पनि हात‑औंलाको माध्यमबाट (नाक हुँदै) सर्ने हुँदा लकडाउनमार्फत एकबाट दुई र तीन जनालाई सर्ने/सार्ने मालालाई तोड्ने प्रयास हो । १४ दिनपछि भाइरस भएका, रोगको लक्षण देखिएका वा नदेखिएकाबाट स्वतः भाइरस नष्ट भएर जान्छ । थप संक्रमण हुनबाट बच्न र बचाउन सकिन्छ ।
तसर्थ बिन्ती छ, यस्ता भ्रमपूर्ण सन्देश सत्य हो कि होइन, दुई मिनेट गुगल गरेर हेरौं । सम्बन्धित ज्ञाता वा अनुसन्धानकर्मीलाई एक वचन सोधौं । आफू त भ्रममा बस्नुभयो नै अरुलाई पनि तनाव नबाडौं, भ्रमको खेती नगरौं । घरभित्र बसौं । झ्यालढोका खोलेर, खुला हावामा, स्वच्छ हावामा जिऔं । लकडाउन सकिएपछि फेरि हावा दूषित हुने नै छ । मौकाको फाइदा उठाऔं । साबुन पानीले हात धोइरहौँ । सतर्क रहौँ । तनावमुक्त होऔं ।
प्रकाशित समय १०:२७ बजे

















