गृहपृष्ठ कोरोना संक्रमणको आशंका गरिएकाहरुको पहिचानमा जुट्न मुख्यमन्त्रीको निर्देशन

कोरोना संक्रमणको आशंका गरिएकाहरुको पहिचानमा जुट्न मुख्यमन्त्रीको निर्देशन

नागरिकलाई पर्ने समस्याका विषयमा अनुगमन गर्न १० सदस्यीय समिति

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुट्न प्रदेशका सबै स्थानीय तहहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार कोरोना भाइरसको रोकथाम प्रसार तथा जनचेतना समितिको बैठकमा मुख्यमन्त्री राईले संक्रमणको आशंका भएका सबै व्यक्तिको पहिचान गर्न स्थानीय तह हरुलाई निर्देशन दिएका हुन् । उनले विदेशबाट आएका, होम क्वारेन्टाइनमा रहेका र क्वारेन्टाइनमा राख्नु पर्नेको तथ्यांक संकलन गर्न पनि आग्रह गरे ।

कोरोना रोकथाम, प्रतिरक्षा र उपचार निर्देशन समितिको अध्यक्षसमेत रहेका मुख्यमन्त्री राईले कोरोनाको रोकथामका लागि स्थानीय तहको भूमिका प्रभावकारी र महत्वपूर्ण हुने बताउँदै विशेष हेरचाह गर्नुपर्ने सुत्केरी र गर्भवतीहरु, अपांगता भएकाहरु र दैनिक ज्यालादारीमा काम गर्नेहरुको विवरण संकलन गर्न आग्रह गरे । ‘विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई स्थानीय तहहरुले राहत उपलब्ध गराउनुहोला । स्थानीय तहबाट सम्भव नभए प्रदेश सरकारले व्यवस्था मिलाउँछ,’ उनले भने ।

बैठकले कोरोना भइरसविरुद्ध लड्न स्थानीय पालिकाहरुको नेतृत्वमा स्थानीय तहमा विभिन्न समिति निमार्ण गर्ने, प्रदेशका सबै स्थानीय तहको तथ्यांक संकलन गर्ने, राहात वितरणको कामलाई एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको छ । यसका साथै स्थानीय तहले तथ्यांकहरु दैनिक मुख्यमन्त्री कार्यलयमा पठाउने, स्थानीय पालिकाहरुसँग नगरपालिका महासंघ, गाउँपालिका महासंघ, जिल्ला समन्वय समितिहरुले समन्वय गर्ने लगायतका निर्णय पनि बैठकबाट भएको छ ।

लकडाउनको अवधिमा कृत्रिम अभाव हुन नदिन र नागरिकलाई पर्ने समस्याका विषयमा अनुगमन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्वोको संयोजकत्वमा १० सदस्यीय अनुगमन समिति गठन गरेको छ । समतिको सदस्यमा राज्यमन्त्रीहरु, विपक्षी दलका नेता, समाजवादी पार्टी, लिम्बुवान पार्टी र राप्रपाका नेता, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रमुख न्यायधिवक्ता र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार रहेका छन् ।

कोरोनासम्बन्धी तत्काल नागरिकलाई राहत, उद्धार गर्नुपर्ने वा उजुरी, गुनासो र सुझाव भए प्रदेश सरकारले स्थापना गरेको कोरोेना सुचना डेस्कमा र मोवाइल एप्लिकेशनमार्फत जानकारी दिनसमेत बैठकले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित समय १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु