गृहपृष्ठ तयारीमा दूरदर्शिता, कार्यान्वयनमा लापर्बाही
तयारीमा दूरदर्शिता, कार्यान्वयनमा लापर्बाही
कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले लकडाउन जारी गरेको छ । एक साताको लकडाउनको शुक्रबार एघारौं दिन पोखरा पूर्ण रुपले बन्द छ ।
लकडाउनको सहि रुपमा कार्यान्वयनसँगै यतिबेला नेपाल सरकारले कोरोनाविरुद्ध दुरदर्शी तथा प्रभावकारी कदमहरु चालिरहेको छ । सोही अनुरुप गण्डकी प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमितको आशंका गरिएका र विदेशबाट फर्किएकाहरूका लागि क्वारेन्टाइन बनाइएको छ ।

जसमा स्थानीय तहले निकै चाँसो देखाएका छन् । विभिन्न देशबाट फर्किएकालाई खोज्ने र क्वारेन्टाइनमा राख्ने काम पनि स्थानीय तह र प्रशासनले गरिरहेका छन् । सोही अनुरुप गण्डकी प्रदेश सरकारले पोखरा मालेपाटनमा कृषि व्यवसाय प्रवर्द्धन तथा तालिम केन्द्रमा ४८ बेडको क्वारेन्टाइन होम बनाइएको छ ।

मालेपाटन क्वारेन्टाइनमा १६ जना व्यक्तिहरुको हेरचाह भइरहेको मालेपाटन क्वारेन्टाइनका प्रमुख डा. असिम सुवेदीले बताए । अहिले उक्त क्वारेन्टाइनमा स्याङ्जा, रुपन्देही र पर्वत तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रदेशभरी स्थानीय तहले क्वारेन्टाइन र आइसोलेसन वार्ड स्थापना गरिरहेका छन् ।
गण्डकी प्रदेशका स्वास्थ निर्देशक डा. विनोद विन्दु शर्माले कोरोना नियन्त्रणका लागि आफूहरु जुन स्थितिमा पनि तयार भएको जानकारी दिए । उनले भने, ‘अहिलेको अवस्थामा जिल्ला जिल्लाको नमूना संकलन गर्नको लागि मौज्दातको अवस्था प्रयाप्त छ, यसको लागि प्रत्येक जिल्लाबाट दुई जना सुरक्षाकर्मीलाई तालिम दिएका छौं ।’

प्रत्येक जिल्लामा आवश्यक सामग्रीसहित पिपिए पठाइसकेको उनले बताए । उनले भपे, ‘समस्या आइपरेको अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलमाा पिपिए उपलब्ध छ, गण्डकी प्रदेश सरकारले आवश्यक संयन्त्रहरु जिम्मेवारका साथ आपुर्ति गर्न लागि परेको छ ।’
तर यता भने चीनबाट ल्याएर सरकारले गण्डकी प्रदेशमा पठाएको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेटमा गाउन मात्रै भेटिएको छ । गण्डकी प्रदेशमा मंगलबार आइपुगेको सामान बुधबार खोल्दा गाउन मात्रै भेटिएको हो । गण्डकीमा १ हजार थान पीपीई सेट पठाइएको थियो, जसमा पीपीई सेटमा गाउनसहित स्वास्थ्यकर्मीलाई आवश्यक टोपी, मास्क, चस्मा, पञ्जा, बुट वा बुट कभर हुनुपर्छ ।

गाउन मात्रै भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालयले पिपिई वितरण रोकेको छ । सरकारले पठाएको सामानमा आवश्यक सामान नभए बारे केन्द्रीय सरकारसंग कुरा गरिरहेको शर्माले बताए । तयारी स्वरुप पश्मिाञ्चल क्षेत्रीय अस्पतालले आइसोलेशन वार्ड पनि तयार पारेको छ । अस्पतालमा राखिएको हेल्थ डेस्कमा बिरामीको तापक्रम नाप्ने र परामर्श पनि दिने काम भइरहेको चिकित्सकहरु बताउँछन् ।
मंगलबार नै आएको पिसिआर मेसिनबाट भने कोरोना भाइरस परीक्षण पोखरामा सुरु भइसकेको छ । सरकारको तयारी दुरदर्शिता रुपमा देखिए पनि यसको कार्यान्यनमा भने हेल्चेक्राइ र लापरबाही देखिएको छ ।
प्रकाशित समय १६:१९ बजे

















