गृहपृष्ठ ‘डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन’

‘डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन’

काठमाडौंको वडा नम्बर २६ मा राहत लिनेको घुइँचो ।

काठमाडौँ महानगरपालिकाले स‌ंघीय सरकारको नीतिअनुरुप लकडाउन अवधिभर असंगठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमण रोक्न महानगरपालिकाबाट चालिएका कदमहरुबारे आज सञ्चारकर्मीहरुलाई जानकारी दिँदै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘डेरामा बस्नेहरुलाई मात्र राहत बाँड्ने भन्ने होइन । काठमाडौँमा घर भएरै पनि खाद्यवस्तु किनेर खान सामर्थ्य नराख्ने घर परिवारलाई समेत राहत बाँड्ने हो ।’

सरकारी सेवामा रहेका डेरावालहरुले यस्तो राहत नपाउने प्रमुख शाक्यले स्पष्ट पारे । राहत वितरणलाई अघि बढाउन महानगरपालिकाले जनसंख्याको आकारका आधारमा आठ लाख, छ लाख र चार लाख रुपैयाँका दरले वडाहरुलाई सहयोग रकम निकासा गरिसकेको जानकारी पनि उनले दिए ।

उनले भने, ‘महानगरपालिकाले अहिले टोल-टोल र वस्ती-वस्तीमा कीटनाशक औषधि छर्कने अभियानलाई अघि बढाइरहेको छ ।’

विपद्का बेला सन्त्रासको वातावरण सिर्जना नगरिदिन सञ्चारकर्मीहरुसँग आग्रह गर्दै उनले भने, ‘विदेशबाट फर्केका नागरिकलाई अपराधीसरह नभइ सम्मानपूर्वक व्यवहार गरौं । ऊ स्वयं पनि एकान्तवासमा रहनुपर्छ । परिवारका सदस्यसँगै घुलमिल नगरेर बसिदिनुपर्छ । हरेक नागरिकले आफैं सुरक्षित बनेर छिमेकी, समाज, देश र सम्पूर्ण मानव जातिलाई सुरक्षित पार्छु भन्ने भावना राख्नुपर्छ ।’

संक्रमणको आशंका गरिएका व्यक्तिको पहिचान र उसको स्वास्थ्य परीक्षण गर्न सहज होस् भन्ने हेतुले महानगरपालिकाले ‘कोभिड- १९ सर्भिलेन्स सर्भिस’ एप्प सञ्चालनमा ल्याइसकेको छ । यसमा केही व्यक्तिहरुले आफ्ना विवरण भरेर पठाइसकेका छन् ।

राहत बाँड्दा दोहोरिन सक्ने र पाउनु पर्ने चाहीँ छुट्न सक्ने सम्भावनाबारे राखिएको एक जिज्ञासामा उनले भने, ‘हामीले लक्ष्यित वर्गको प्रारम्भिक विवरण तयार पारेका छौं र त्यसकै आधारमा वितरण गर्ने काम भइरहेको छ । कसैले खानै नपाउने स्थिति नआओस् भन्नेमा हामी सचेत छौं ।’ तात्कालिक रुपमा लकडाउन अवधिभरका लागि क्यालोरीको गणना गरी खाद्यवस्तु वितरण गरिएको उनले बताए ।

उनका अनुसार राहत पाउनु पर्ने व्यक्तिहरुको यकिन विवरण आजै ३२ वटै वडाबाट प्राप्त हुनेछ ।
कुनै ठाउँ वा वस्तीमा अत्यावश्यकीय वस्तुको अभाव देखिए ढुवानीमा सहजीकरण गरिदिने प्रवन्ध पनि महानगरपालिकाले मिलाएको उनले जानकारी दिए । सर्वसाधारण नागरिकका लागि राहत वा अन्य कुनै विषयमा जानकारी लिन वा सहयोग माग्न महानगरपालिकाले हटलाइन ११८० को व्यवस्था पनि गरेको छ ।

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु