गृहपृष्ठ कोरोना त्रास : गाउँपालिकाद्वारा १० वटा झोलुंगे पुलमा आवतजावत बन्द
कोरोना त्रास : गाउँपालिकाद्वारा १० वटा झोलुंगे पुलमा आवतजावत बन्द
कर्णाली प्रदेश र ५ नं. प्रदेश जोड्ने दशवटा झोलुंगे पुलमा आवतजावत बन्द गरिएको छ । सुर्खेतको चौकुने गाउँपालिकाले आइतबार सूचना जारी गर्दै उक्त पुलहरु बन्द गरेको जनाएको हो । भारत लगायतका विभिन्न मुलुकबाट मानिसहरु भागेर आउने भएका कारण पुल बन्द गर्नु परेको गाउँपालिका प्रमुख धिरबहादुर शाहीले बताए ।
उनका अनुसार कोरोना भाइरस (कोभिड-१९) फैलने त्रासले भेरी तथा कर्णाली नदीमाथिका सम्पूर्ण झोलुंगे पुलहरु बन्द गरिएको हो । चौकुने गाउँपालिका ९ को भेरी पुल, वडा नं. १० मा पर्ने सोल्टा र मलेखा पुल, वडा नं. ३ मा ताम्चा पुल लगायतका दशवटा पुलहरु आइतबारदेखि बन्द गरिएको प्रमुख शाहीले जानकारी दिए ।
‘छिमेकी जिल्लामा कोरोना भाइरसको संक्रमण देखिनु भनेको हामीलाई पनि खतरा हो,’ उनले भने, ‘भारत तथा विभिन्न क्षेत्रबाट लकडाउनको उल्लंघन गरी मानिसहरु आउने क्रम नरोकिएपछि पुल बन्द गरेका हौं ।’ भेरी र कर्णाली नदीमा डुंगा चलाउन र पौडी खेल्नसमेत रोक लगाइएको उनले बताए ।

प्रकाशित समय १९:५२ बजे

















