गृहपृष्ठ भारतबाट आउने क्रम नरोकिएपछि चेकपोष्ट बढाइयो
भारतबाट आउने क्रम नरोकिएपछि चेकपोष्ट बढाइयो
नेपाल-भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ । प्रदेश नं २ प्रहरीले सो सीमा क्षेत्रमा थप २२९ चेकपोष्ट थपेर त्यसको संख्या ३२९ बनाएको छ ।
आठ जिल्लाका ४३२ किलोमिटरमा १०० को हाराहारीमा चेकपोस्ट रहेकोमा कोरोना संक्रमणलाई ध्यानमा राखी सरकारले लागू गरेको तेस्रो चरणको लकडाउन उल्लंघन गर्दै भारतबाट नेपाल र नेपालबाट भारत आउनेजाने क्रम रोकिएको छैन ।
लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोष्ट संख्या बढाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तिलक सुनारले जानकारी दिए । यसका लागि नेपाल तथा सशस्त्र प्रहरी दुवैको संख्या बढाइएको उनले बताए । ‘प्रदेशमा पहिला सय वटाको हाराहारीमा मात्रै चेकपोष्ट थियो,’ सूचना अधिकारी सुनारले भने, ‘अहिले त्यसलाई बढाएर ३२९ पुर्याएका छौँ । भारतबाट नेपाल आउनसक्ने सम्भावित ठाउँमा चेकपोष्ट बनाइएको हो ।’
प्रकाशित समय १७:४७ बजे

















