गृहपृष्ठ परराष्ट्रमन्त्री ज्ञवाली र साउदी विदेशमन्त्रीबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र साउदी विदेशमन्त्रीबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबिया अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग आज टेलिफोन वार्ता गरेका छन् ।
विश्वका १९ देशका सरकार र तिनका केन्द्रीय बैंकका गभर्नर सदस्य रहेको अन्तरराष्ट्रिय मञ्च (समूह-२०) को अध्यक्ष राष्ट्रका हैसियतमा साउदी अरेबियाले कोभिड-१९ को महामारी फैलिएका बेला सदस्य देशहरुलाई भिडियो कन्फ्रेन्सिङका माध्यमबाट एकजुट गराएकामा त्यसको सराहना गर्दै मन्त्री ज्ञवालीले आप्रवासी नेपाली श्रमिकको हेरविचार गरेकामा कृतज्ञता ज्ञापन गरे ।
सङ्कटको वर्तमान घडीमा नेपाली श्रमिकलाई सामाजिक सुरक्षा र स्वास्थ्य सेवा आवश्यक पर्नसक्ने भएकाले त्यसतर्फ विचार गर्न मन्त्री ज्ञवालीले राजकुमार सउदसँग अनुरोध गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली श्रमिकको हित, रोजगारी तथा सुरक्षाका निम्ति पनि उनले राजकुमार सउदलाई अनुरोध गरे ।
प्रत्युत्तरमा साउदी राजकुमारले आफ्ना नागरिकसरह नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गरिएको र उनीहरुको रोजगारी तथा सुरक्षाप्रति आश्वास्त पारे । उनले नेपाली श्रमिकको इमानदारी, लगनशीलता, परिश्रम र विनम्रताको प्रशंसा गरे ।
प्रकाशित समय २१:१६ बजे

















