गृहपृष्ठ स्वास्थ्यकर्मी, प्रहरी र सञ्चारकर्मीको बिमा, विपन्न परिवारलाई ३ हजार रुपैयाँ
स्वास्थ्यकर्मी, प्रहरी र सञ्चारकर्मीको बिमा, विपन्न परिवारलाई ३ हजार रुपैयाँ
सुदूरपश्चिम प्रदेश सरकारले विपन्न परिवारलाई स्थानीय तहमार्फत प्रतिपरिवार ३ हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले स्थानीय तहमार्फत १६ करोड रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको हो ।
प्रदेशमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई थप १५ लाख र सञ्चारकर्मीलाई १५ लाखको बिमा गर्नेसमेत प्रदेश सरकारले निर्णय गरेको छ । साथै सबै अस्पतालमा विकास समिति मातहतका स्वास्थ्यकर्मीको लागि पनि प्रोत्साहन भत्ताको व्यवस्था गरिने निर्णय भएको छ ।
सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले बताए । त्यस्तै सबै जिल्ला प्रशासन कार्यालयलाई ५ लाखका दरले र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई १५ लाखका दरले व्यवस्थापनको लागि रकम उपलब्ध गराउने निर्णय भएको छ ।
कोष सञ्चालन निर्देशिका र राहत वितरण मापदण्डसमेत बिहीबारको बैठकबाट पारित भएको मन्त्री शाहले जानकारी दिए । उनका अनुसार प्रदेशमा फागुन मसान्तसम्म तिर्नुपर्ने कर, शुल्क र दस्तुरको अवधि वैशाख मसान्तसम्म थप गर्ने निर्णय भएको छ ।
प्रकाशित समय २१:०८ बजे

















