गृहपृष्ठ साँझ परेपछि सडकमा हुरूरू
साँझ परेपछि सडकमा हुरूरू
कोरोना भाइरस (कोभिड- १९) ले विश्वव्यापी महामारीको रुप लिएपछि नेपाल सरकारले पनि गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन रोक्नका लागि लागू गरिरएको लकडाउनको सर्वसाधारणले भने पूर्णपालना गरेका छैनन् ।
नेपालमा कोरोना संक्रमण भइ उपचार गराइरहेका आठमध्ये चारजना सुदूरपश्चिमका छन् । भारतबाट फर्केकाहरुको संख्या अधिक भएका कारणले पनि सुदूरपश्चिम संक्रमणको उच्च जोखिममा छ ।
अनुमतिविना घरबाहिर निस्कन स्थानीय प्रशासनले रोक लगाए पनि सुदूरपश्चिमको अस्थायी राजधानी सहर धनगढीमा भने यसको पूर्णपालना हुन सकेको छैन । स्थानीयहरु दिनभर घरमै बसे पनि साँझ परेपछि भने हरेक गल्लीमा मानिसको भीड हुने गरेको छ । मुख्य सडकका हरेक चोकमा सुरक्षाकर्मी खटिने हुँदा खासै मान्छे नदेखिए पनि धनगढीका शाखा सडकहरुमा हरेक साँझपख बाक्लो भीड हुनेगर्छ ।
साँझ परेपछि हुने अनावश्यक भीडभाड नियन्त्रणका लागि मोबाइल गस्ती भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्ष कुमार बस्नेतले बताए । ‘सुरुमा सम्झाइ-बुझाई पठायौँ । तर अहिले भने कारबाही नै गर्न थालिएको छ,’ उनले भने ।
लकडाउनको अवज्ञा हुन थालेपछि कैलालीका विभिन्न स्थानमा प्रहरीले ‘इम्प्रोभाइज म्यान क्याचर स्टिक’बाट पक्राउ गर्न सुरु गरेको हछ । अत्यावश्यक कामबाहेक घरबाहिर निस्केकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेती आफैँले ‘इम्प्रोभाइज म्यान क्याचर स्टिक’ निर्माण गरेको छ ।
लकडाउन उल्लंघन गरी सवारी साधन चलाउने घटे
प्रदेशमा एकैपटक ३ जना कोरोना संक्रमित फेला परेपछि लकडाउन उल्लंघन गरी सवारी साधन चलाउने घटेका छन् । प्रहरीका अनुसार बिहीबार कैलालीमा लकडाउन उल्लंघन गरी सवारी साधन चलाएको भेटिएको छैन । शुक्रबार भने ९ वटा सवारी साधन नियन्त्रणमा लिएको डीएसपी बस्नेतले बताए ।
प्रकाशित समय १७:३५ बजे

















