गृहपृष्ठ रगत अभावले विरामी जोखिममा

रगत अभावले विरामी जोखिममा

कोरोना संक्रमणको त्रास बढेसँगै देशभर लकडाउन घोषणा भएपछि रक्तदान कार्यक्रमसमेत नहुँदा रगत अभाव भएको छ । विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने रक्तदान कार्यक्रमबाट रगतको आपूर्ति गरिरहेको रक्तसञ्चार केन्द्रमा हाल पर्याप्त रगत छैन ।

कैलालीमा रगतको अभाव हुँदा बिरामी समस्यामा परेका छन् । सेती प्रादेशिक लगायतका अन्य अस्पतालमा विरामीले रगत पाइरहेको छैनन् । रगत नपाउँदा विरामीको ज्यान नै जोखिममा परेको छ । कञ्चनपुरबाट श्रीमतीको उपचारका लागि धनगढी आएका भजौरा रानाले रगत पाउन समस्या भएको बताए । ‘ओ पोजेटिभ’ समूहको रगत चाहिएको उनले नत दाता नै पाएका छन्, नत रक्तसञ्चार केन्द्रमा रगत नै ।

कैलालीका रामलचल चौधरी पनि रगत नपाएर समस्यामा छन् । ‘लकडाउनले रगत दिने मान्छे पनि पाइँदैन । रगत नभए उपचार हुन्न भनेर चिकित्सकले भनेका छन्,’ छोरीको उपचारका लागि धनगढी आएका उनले भने ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि रक्तदानका कार्यक्रम नै कम भएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले जमघटका कार्यक्रम स्थगित गर्न आह्वान गरेसँगै रगतको समस्या सुरु भएको हो । रक्तसञ्चार केन्द्र कैलालीका प्रमुख धरणी पन्तले ‘ओ पोजेटिभ’ रगतको चरम अभाव देखिएको बताए ।

यहाँका अस्पतालमा रातो रगतसँगै सेतो रगतको माग पनि हुँदै आएको छ । सेती प्रादेशिक अस्पताल र जिल्लाका अन्य अस्पतालमा हुने नियमित शल्यक्रियामा समेत रगत आपूर्ति गर्न नसकिएको रक्तसञ्चार केन्द्र कैलालीले जनाएको छ ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु