गृहपृष्ठ कोरोना महामारी : समाजमा अनेकौं ‘भाइरस’, फरक-फरक लक्षण

कोरोना महामारी : समाजमा अनेकौं ‘भाइरस’, फरक-फरक लक्षण

प्रियजनहरू, सबैलाई मेरो भाइरस अभिवादन ! तपाईंहरुले मेराे कुरा बुझ्नु नै हुन्छ हाेला । ‘सरकारको नेतृत्व’जस्तो लेखनशैली छ भने चाहिँ माफी चाहन्छु । किनकी आजकल दिमागमा सुसांख्यमा लाग्नेजस्तै भाइरस पसेको छ । हजुर सही बुझ्नु भो, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) । तर हामी नेपालीलाई भाइरस नौलो कुरा हो जस्तो लाग्दैन मलाई । किनकी हामी आफैँमा एक भाइरस हौँ । यस्तो ‘भाइरस’ले हामी पहिल्यैदेखि नै ग्रसित भइरहेका छौँ । र यस्तो भाइरसको महामारी हाम्रा लागि सदावहारझैं छ ।

देशका अभिभावकदेखि आमनागरिक सबै ग्रसित छौँ । र, आदरणीय प्रिय बाजेबज्यै, नेताज्युदेखि अग्रज र माननीय पनि । केटाकेटी पाराका नेतृत्वविहीन हजुरबुबा-आमा र क्षमता भएका माननीयलाई पनि यो भाइरसले छाडेको छैन । तर के गर्नु भाइरस हो, भाइरल भइहाल्छ । संक्रमणको भीडमा आफू पनि संक्रमित भइने, नभए शंकास्पद नजरमा परिने । गजब छ ! प्रकृतिको खेल र मनुवाको प्रवृत्ति । आज लकडाउनको १९औँ दिन म पनि सरकारको कामजस्तै सुस्ताएको छु । लकडाउनका दुई सातासम्म समाचारमार्फत कतिपय गतिविधि थाहा पाएँ त कति आफैँ फिल्डमा गएर आँखाले नियालेँ । बढो अचम्म अनि ताजुब प्रवृत्तिका मान्छेलाई देखेँ, सुनेँ अनि बुझेँ ।

ढिलै तर ‘केही होला कि’जस्तो प्रवृत्तिमा हाम्रा अभिभावकले केही कदम चालेकै हुन् । सायद त्यसैले होला हालसम्म नेपालमा कोरोनाको महामारी फैलिन पाएको छैन । साथै सरकारको कदममा नागरिकको साथ र सहयोग पनि उत्तिकै छ । साथ नदिउन् पनि कसरी कोही अटेरीलाई तह लगाउन सडकको चोकदेखि गल्लीसम्म वर्दीवालाको कडाई पनि त त्यस्तै प्रभावकारी छ नि । हरेक कुराका दुई पाटो हुन्छन् । कोरोना भाइरसको पोजेटिभ र नेगेटिभ रिपोर्टजस्तै । हाम्रो देशमा पनि उस्तै । कसैमा भाइरस पोजेटिभ देखाउँछ, कसैमा नेगेटिभ ।

ढिलै तर ‘केही होला कि’जस्तो प्रवृत्तिमा हाम्रा अभिभावकले केही कदम चालेकै हुन् । सायद त्यसैले होला हालसम्म नेपालमा कोरोनाको महामारी फैलिन पाएको छैन । साथै सरकारको कदममा नागरिकको साथ र सहयोग पनि उत्तिकै छ ।

फिल्डमा हिँड्दा चोक-चोकमा नागरिकका लागि तैनाथ सुरक्षाकर्मी देख्छु । बरै उहाँहरुलाई यतिबेला न दिन छ, न रात । त्यो सुरक्षा हामी र हाम्रै स्वास्थ्यको लागि हो । अनि अर्को चोकतिर पुग्छु, त्यहाँ पनि मान्छेहरु टुपुल्किरहेका छन् । कुन्नि कताबाट । उनीहरुलाई सम्झाउनुको सास्ती । विनाकुनै सुरक्षा सामग्री अग्रपंक्तिमा सुरक्षाको लागि खटिएकाको रिसमा परिहाल्छन् । अरे ! प्रेसर उहाँहरुलाई नि हुन्छ नि । जसको लागि गर्दैछ, उहीँ अर्को भाइरस बोक्न हिँडेपछि कसको पारो तात्दैन ? राम्रै परे त सम्झाइ-बुझाइ हुन्छ । नभए त समाचार आउँछ ‘प्रहरीको दादागिरी’ ! अनि अर्को संक्रमित जमात निस्किन्छ भए/नभएको सुनाउन र प्रहरीलाई गाली गर्न ।

यो लेख लेख्दासम्म प्रहरीको तलब काट्ने समाचार पाएँ । प्रहरीको मात्र किन काट्न लागेका रैछन् नि । अब स्वास्थ्यकर्मी, सेनालगायत यसरी सुरक्षाको अंग्रपंक्तिमा बसेकाको मात्र काट्नुपर्छ । कोरोना राहत कोषका लागि संसद भवनका जनप्रतिनिधिहरु छैनन् नि । उहाँहरु त फेरि केटाकेटी, केटाकेटीको पैसा कहाँ लिन हुन्छ र ? मिहिनेत र परिश्रमीकै चुस्न आनन्द आउँछ । प्रहरीको मात्र तारिफ गरेको होइन, अर्को चोकमा पुग्नै बाँकी छ ।

लकडाउनले संसार ठप्प छ भनेर नहुने, खान त परिहाल्यो । दैनिक मजदुरी गरेर खानेलाई फेरि अर्को सास्ती छ । निस्किए लाठी, ननिस्किए पेट भित्रको अर्को सास्ती । बढो गाह्रो । उनीहरुको कुरा कसले बुझिदिने । हुन त सरकारले राहत पनि ल्याएको छ । भनिहालेँ नि, अभिभावक पनि त छ । तर के गर्नु आइफोन बोक्ने र सुनको सिक्री लगाउनेको जमातले आफ्नो चपेटामा पारिहाल्छन् ।

यस्तो बेला फेरि अनेकौं समाजसेवी र आविष्कारक पनि देख्न पाइने । एक छाक पुग्ने चामल दिएर दुई थान फोटो खिच्नेदेखि, प्लास्टिकका कपडा सिलाएर पीपीई भन्दै उफ्रिने भाइरस पनि यही बेला देख्न पाइएको छ । संक्रमित र संक्रमणको कुरा गरिरहँदा उपचार हुने थलो त छुटाउनु भएन । अस्पतालतिर पुगौँ । क्वारेन्टाइनदेखि बिरामी आउलान् भनेर आइसोलेन वार्ड सबैको तयारी छ । मन्त्री ज्युले जुटाएको पीपीईदेखि अन्य आवश्यक सामग्री पनि छन् । पर्याप्त होला/नहोला अर्कै कुरा । चिकित्सकका कुरा उस्तै । कोही ‘कोरोना महामारीको लागि तयारी अवस्थामा छौँ’ भन्छन् । कतै निमोनिया भएका बिरामीले उपचार नपाएर ज्यान गुमाउन बाध्य छन् । भगवानको जीवन्त रुप मानिने चिकित्सक पनि साँच्चिकै भगवान कहाँ हुन् र ? आवश्यक सामान नभए र नपुगेपछि डर लाग्नु जायज छ । यो भाइरस मानव जातिलाई नै काबु पार्ने जन्तु रहेछ । त्यसैले त कोही बिरामीले रातभर अस्पतालबाहिर बिताउनु पर्छ । कतै बिरामी बोक्ने सवारी साधनले बिरामी बोक्न नै मान्दैन ।

बुझ्नु पर्ने कुरा यो लडाईं कोही एक्लैको होइन । हाम्रो मात्र नभइ पुरै विश्वको हो । यो लडाईंमा एकदिन विजय त अवश्य हुनेछ तर हामीभित्र भएको अर्को नकारात्मक ‘भाइरस’बाट सन्चो कहिले हुने हो ? केटाकेटी पाराको ‘हचुवा’ नेतृत्व कहिलेसम्म चलाउने ? यो बेला क्षमता र नेतृत्व पनि हेरिँदै छ र त्योसँगै नागरिकको आफ्नो दायित्व पनि ।

अब कुरा सूचनाको । स्वास्थ सबैका लागि प्राथमिकताको कुरा हो । तर एउटा कोठामा बसेर सही र तथ्यगत सूचना आउँदैन । यिनका नि बढो गज्जबको जमात छ । जमात त मेरो नि एउटै हो तर केहीलाई देख्दा ताजुब लाग्छ । कोही सूचनाकै लागि फिल्डमा यसरी खटिँदै छन् । मानौँ यि निलो कार्डधारीलाई कोरोनाले छुनै सक्दैन । जहाँ पनि ‘क्लिक्क गर्न’ पुग्या छन् । ‘ठोसो’ ठडाएको भरमा आमनागरिकसामु सूचना पुर्याउन तयार छन् । सरकारले दिएको अत्यावश्यक सूचीमा सञ्चार पनि पर्छ र सूचना दिनु हरेक सञ्चारकर्मीको धर्म पनि हो । म त्यसलाई सम्मान गर्छु । तर अचम्म यो बेला यिनैबीच एक प्रकारको प्रतिस्पर्धा चल्दै छ ।

यस्तो बेला दुईतिहाइको बहस गर्ने दलका ‘दलाले’हरु पनि गजब छन् । देश र विश्वको विषम परिस्थितिमा राजनीतिक बहस कति अर्थपूर्ण होला ? अनेकौं स्थिति छन् । कोही सहर छोडी गाउँ पसे । मानौँ कोरोनाले गाउँ आउँदिन भनेको छ । कोही आफ्नै देशमा आउनका लागि ज्यान माया मारेर नदीमा हाम्फाले । विभिन्न कामको सिलसिलामा गएका कामदार र विद्यार्थीहरुको पनि त आफ्नै समस्या होलान् । यस्तो परिस्थितिमा आफ्नो ठाँउ, आफ्नै देशमा हुँदाजस्तो सुरक्षित अनुभव पराइ भूमिमा कहाँ मिल्ला र ?

कहीँकतैबाहेक पोखरा सुनसान छ । अन्य स्थानको जस्तो लकडाउन उल्लंघन गर्नेलाई कारबाही भनेर समाचार सुन्न र लेख्न परेको छैन । सरकारले गरेको लकडाउन आफ्नै लागि हो भनेर चुपचाप बस्ने नेपाली जनता पनि छन् । यस्तो बेला जनताको दुखमा मल्हम लगाउने जनप्रतिनिधिहरु पनि छन् । जे होस्, अचम्मको भाइरसले अचम्म-अचम्म दृश्य देखाउँदै छ । बेग्लै जमात अनि अनेकौँ फरक-फरक भाइरस संक्रमितका विभिन्न लक्षण अनि व्यवहार । तर बुझ्नु पर्ने कुरा यो लडाईं कोही एक्लैको होइन । हाम्रो मात्र नभइ पुरै विश्वको हो । यो लडाईंमा एकदिन विजय त अवश्य हुनेछ तर हामीभित्र भएको अर्को नकारात्मक ‘भाइरस’बाट सन्चो कहिले हुने हो ? केटाकेटी पाराको ‘हचुवा’ नेतृत्व कहिलेसम्म चलाउने ? यो बेला क्षमता र नेतृत्व पनि हेरिँदै छ र त्योसँगै नागरिकको आफ्नो दायित्व पनि ।

प्रकाशित समय १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु