गृहपृष्ठ भारतीय नागरिकसँगको झडपमा सशस्त्रका एक जवान घाइते
भारतीय नागरिकसँगको झडपमा सशस्त्रका एक जवान घाइते
नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।
नेपाल-भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच सोमबार दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुंगा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।
दूध लिएर भारतीय नागरिक नेपालतर्फ आउन लागेपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा करीब २०-२५ जनाको समूहले सीमापारिबाट ढुंगा हान्न थालेपछि झडप भएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए । झडपका क्रममा ढुंगाको चोट लागेर सशस्त्र प्रहरीका जवान राजनकुमार चौधरी घाइते भएका छन् । घाइते चौधरीको निधारमा तीनवटा टाँका लगाइएको र अवस्था सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताए ।
आफ्नो बुबालाई दूध लिएर नेपालतर्फ पस्न नदिएपछि मोहनकुमार यादवले भारतीय गाउँ कुमरखत पुगेर २०-२५ जनाको समूहलाई सीमा क्षेत्रमा ल्याएर ढुंगा हान्न लगाएको सशस्त्र प्रहरीको भनाइ छ । सशस्त्र प्रहरीले यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताए ।
प्रकाशित समय २१:१६ बजे

















