गृहपृष्ठ कोरोना संक्रमित ४ लाख ४४ हजारको सफल उपचार, १३ लाखको अवस्था सामान्य

कोरोना संक्रमित ४ लाख ४४ हजारको सफल उपचार, १३ लाखको अवस्था सामान्य

विश्वभर कोरोनाभाइरस (कोभिड १९) संक्रमित ४ लाख ४४ हजारभन्दा बढी मानिस सफल उपचारपछि घर फर्किएका छन् भने अस्पतालमा उपचाररत १३ लाख मानिसको अवस्था सामान्य छ । वर्ल्डोमिटरले जनाएअनुसार हालसम्म विश्वभर कुल संक्रमित १९ लाख २४ हजारभन्दा बढी पुगे पनि मंगलबार बिहानसम्ममा ४ लाख ४४ हजार ८३६ मानिस उपचारपछि घर फर्किएका हुन् भने १३ लाख ८ हजार ८१ जनाको अवस्था सामान्य छ ।

उपचाररत ५१ हजार ७४२ जनाको अवस्था भने गम्भीर छ । गम्भीर बिरामी १२ हजार ७७२ जना अमेरिकामा छन् । अमेरिकामा कुल संक्रमितको संख्या ५ लाख ८६ हजार ९४१ पुगेको छ । तीमध्ये ३६ हजार ९४८ उपचारपछि घर फर्किएका छन् भने २३ हजार ६४० जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै स्पेनमा करिब ६४ हजार ७ सय, जर्मनीमा ६४ हजार ३ सय र चीनमा ७७ हजार ७ सय मानिस सफल उपचारपछि घर फर्किएका छन् ।

नेपालमा हालसम्म ५ हजार १८४ जनाको स्वाब परीक्षण गर्दा १४ जना संक्रमित भेटिएका छन् । तीमध्ये १ जना उपचारपछि घर फर्किसकेका छन् भने ८ जनाको स्वास्थ्य स्थिति निकै राम्रो भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै साता फेलापरेका ४ जनाको उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य नै रहेको मन्त्रालयले जानकारी गराएको छ ।

छिमेकी भारतमा संक्रमितको संख्या १० हजार ४५३ पुगेको छ भने ३५८ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा १ हजार १८१ जना सफल उपचारपछि घर फर्किसकेका छन् भने बाँकी सबै संक्रमितको स्वास्थ्य स्थिति सामान्य छ । विश्वभर कुल मृतकको संख्या १ लाख १९ हजार ६५५ पुगेको छ ।

प्रकाशित समय ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु