गृहपृष्ठ सार्कमा साढे ३४ हजार व्यक्तिमा कोरोना संक्रमण, ९९९ को ज्यान गयो

सार्कमा साढे ३४ हजार व्यक्तिमा कोरोना संक्रमण, ९९९ को ज्यान गयो

भारतमा संक्रमितको संख्या बीस हजार नाघ्यो, सार्कमा चार हजार व्यक्तिको सफल उपचार

दक्षिण एसियाली सहयोग संगठन (सार्क)का ८ मुलुकहरुका कोरोना संक्रमितको संख्या साढे ३४ हजार नाघेको छ । बुधबार बिहानसम्म सार्कका सबै देशमा गरी ३४ हजार ५६० जनामा संक्रमण देखा परेको हो ।

सार्कका सबै देशमध्ये भारतमा बढी प्रकोप फैलिएको छ । भारतमा अहिलेसम्म २० हजार ८० जनामा संक्रमण देखिएको छ । त्यस्तै ६४५ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै भारतमा एक हजार ५४१ जनामा नयाँ संक्रमण देखिएको छ भने ५३ जनाको ज्यान गएको छ । त्यस्तै अहिलेसम्म भारतमा तीन हजार ९७५ जनाको उपचार सफल भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सार्कका मुलुकमध्ये दोस्रो बढी भाइरस फैलिएको मुलुकको रुपमा पाकिस्तान देखा परेको छ । पाकिस्तानमा अहिलेसम्म ९ हजार ५६५ जनामा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २०१ जनाले ज्यान गुमाइसकेका छन् । गएको २४ घण्टामा मात्रै पाकिस्तानमा ६७३ जनामा संक्रमण देखिएको छ भने २५ जनाको ज्यान गएको छ । अहिलेसम्म दुई हजार १५३ जनाको सफल उपचार भएको छ ।

सार्कमा तेस्रो बढी संक्रमण देखिएको देशको रुपमा बंगलादेश देखिएको छ । बुधबार बिहानसम्म बंगलादेशमा तीन हजार ३८२ जनामा संक्रमण देखिएको छ भने ११० जनाले ज्यान गुमाइसकेका छन् । गएको २४ घण्टाभित्रै ४३४ जनामा नयाँ संक्रमण देखिएको भने ९ जनाको ज्यान गएको छ । त्यस्तै अहिलेसम्म ८७ जनाको सफल उपचार भएको जनाइएको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार अफ्गानस्थान एक हजार ९२ जनामा कोरोना देखिएको छ । त्यस्तै अहिलेसम्म ३६ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै अफ्गानस्थानमा ६६ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म १५० जनालाई सञ्चो भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

श्रीलंकामा ३१० जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । एकै दिनमा मात्रै ६ जनामा नयाँ संक्रमण देखिएको छ भने अहिलेसम्म ७ को ज्यान गएको छ त्यस्तै १०२ जनाको सफल उपचार भएको छ ।

माल्दिभ्समा ८३ जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै १४ जनामा संक्रमण देखिएको थियो भने अहिलेसम्म १६ जनाको सफल उपचार भएको छ । त्यस्तै नेपालमा पनि अहिलेसम्म संक्रमणको संख्या ४२ पुगेको छ । मंगलबार मात्रै ११ जनामा नयाँ संक्रमण देखिएको थियो । अहिलेसम्म ४ जनाको सफल उपचार भएको छ ।

सार्कका आठ मुलुकमध्ये सबैभन्दा सानो मुलुक भुटानमा अहिलेसम्म ६ जनामा कोरोना देखिएको छ । मंगलबार मात्रै १ जनामा नयाँ संक्रमण देखिएको थियो । अहिलेसम्म भुटानमा २ जनाको सफल उपचार भएको छ । सार्कमा एकै दिनमा मात्रै दुई हजार ७४६ जनामा नयाँ संक्रमण देखिएको हो भने ८७ जनाको ज्यान गएको छ । अहिलेसम्म सार्कमा सञ्चो भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ४८९ पुगेको छ ।

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु