गृहपृष्ठ जनस्वास्थ्यमा गम्भीर लापर्बाही

जनस्वास्थ्यमा गम्भीर लापर्बाही

sampadakiya-newskarobar

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाकै ठूला नेताहरुले मंगलबार कलंकी र कोटेश्वरबाट मान्छे जिल्ला ओसारेका छन् । कोरोनाभाइरस संक्रमणका कारण काठमाडौँमा त्रासद दैनिकी बिताइरहेकाहरू सबै घर जान चाहन्छन् भन्ने पूर्व र पश्चिमका यी दुवै नाकामा भेला भएकाहरुको संख्याले स्पष्ट पार्छ । अर्घाखाँचीका प्रभावशाली नेता एवं पूर्वउपप्रधानमन्त्री टोपराज रायमाझीले केही मान्छे गाउँ लैजाने तयारी गरेका थिए । मान्छे पठाउन उनी स्वयं कलंकी पुगेका थिए । तर, कलंकीमा अर्घाखाँची जाने मान्छेमात्र पुगेका थिएनन् । पश्चिम घर भएका अधकांश फर्किन पाउने आशामा पोकापोकी बोकेर उपस्थित भएका थिए । कोटेश्वरमा पनि पूर्वतिर जान चाहने अधिकांश जिल्लाका हतारिँदै पुगेका थिए, थुप्रै मानिस अलपत्र परे, जान पाएनन् । तर उनीहरूलाई किन त्यहाँ बोलाइयो र अलपत्र पारियो भन्ने उत्तर न सरकार दिन सक्छ न त दलका नेता नै ।

अहिले विश्व विनासकारी कोरोनाभाइरस (कोभिड १०) संक्रमणबाट त्रस्त छ । अहिलेसम्म कुनै सम्पन्न मुलुकले यसको उपचारको कुनै सम्भावना फेला पारेका छनैन् । नेपाल विश्व समुदायसँग व्यापारको माध्यमबाट कमै मात्र जोडिएकाले भर्खरदेखि संक्रमण देखिन थालेको छ । भारतसँगको खुला सीमाका कारण नेपालमा कोरोना भित्रिसकेको छ । नेपालमा मंगलबारसम्म भारतीयसहित ४२ जनामा संक्रमण देखिइसकेको छ । उदयपुर जिल्लामा मात्रै २२ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये अधिकांश भारतीय छन् । सरकारले उदयपुरलाई उच्च जोखिम सूचीमा राखेर नाका सिल गर्ने तयारी गरिरहेको जानकारी आएको छ । उदयपुरमा परीक्षणका क्रममा चुक भएकै हो । ती १२ जना भारतीयमा संक्रमण पुष्टि भइसकेपछि जुन द्रुतगतिमा स्थानीयवासीको परीक्षण गरिनुपर्थ्यो, त्यसमा लापरबाही गरियो । उदयपुर अहिले कोरोनाको केन्द्र बनेको छ । तत्कालै सरकारले विशेष स्वास्थ्य टोली पठाई स्थानीय उदयपुर अस्पतालमै पिसिआर परीक्षण गर्ने व्यवस्था नमिलाए अर्को जोखिम बढ्नेछ । हालसम्म देखिएका सरुवा रोगमध्ये सबैभन्दा तीव्र रुपमा एकबाट अर्कोमा सर्ने कोभिड १९ माथि दलका नेताहरूबाट गम्भीर लापर्बाही भइरहेको छ भने सरकार यसमा मुकदर्शक बन्नु हुँदैन ।

काठमाडौँमा खान नपाएर अलपत्र परेकाहरू घर जान पाउने खबरले हुत्तिँदै चोकमा निस्किनु सामान्य नै हो । सरकारले राहत बाँड्न नसकिरहेका बेला उनीहरूलाई घर पुर्‍याउनु नै श्रेयस्कर हुनेछ । यसले घर पुगेपछि भोको त बस्नु पर्दैन, कुटोकोदालो गरेर पनि खाइन्छ भन्ने मानसिकतालाई बल पुर्‍याएको देखिन्छ । लकडाउन र कोरोना संक्रमणको सम्भावना करिब डेढ वर्षसम्म रहने अनुमानबीच दीर्घकालमा यसको नतिजा सकारात्मक नै आउला । सरकारले कृषि उपज संकलन, प्रशोधन तथा भण्डारण र बजारीकरणमा तदारुकदा देखाए कृषिक्षेत्रमा योगदान थपिएला, बाली, वस्तु तथा कुखुरापालनमा थप व्यावसायिकता भित्रिएला । यसका लागि पहिला स्थानीय तहलाई ब्युँझाउनुपर्छ । उनीहरूलाई तयार पार्नुपर्छ । र, यी सबै अवस्था आउने हामी रोगमुक्त भए मात्र हो ।

दलका नेताले अव्यवस्थित तरिकाले घर पठाउँदा मानिससँगै कोरोना जाने र फैलिने जोखिम उच्च रुपमा बढेको छ । काठमाडौँबाट फर्किन चाहनेको एक‑एक गर्दै नाम टिपेर सके र्‍यापिड टेस्ट (आरडिटी) गरेर र नसके ज्वरो परीक्षण गरेर, मास्क, स्यानिटाइजर प्रयोग गरेर, सिटमा सकिन्छ एकजना नसकिए सिटमा मात्र मान्छे राखेर गाउँ लैजान सकिन्थ्यो । गाउँ पुर्‍याइएका मानिसलाई पनि कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा राख्न स्थानीय तह र प्रदेशसँग समन्वय गर्नुपर्थ्यो । पूर्वउपप्रधानमन्त्री रायमाझीले दाबी गरेअनुसार सुरक्षाका सबै उपाय अवलम्बन गरिएको छैन । गाडीमा कोचाकोच गरेर लैजाँदै गम्भीर गल्ती भइसकेको छ । सरकारले नेताको प्रभावकै भरमा काठमाडौँबाट अव्यवस्थित ढंगले मान्छे ओसार्न दिने लापर्बाही नगरोस् ।

यही बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट गम्भीर गल्ती भइसकेको छ । जनताको दैनिकी कष्टकर बनिरहँदा उनी दल फुटाउन सहयोग गर्ने र राजनीतिक अभीष्ट पूरा गर्ने योजना बुन्न तल्लीन छन् । संकटको घडीलाई प्रधानमन्त्रीले राजनीतिक दाउपेचमा लाग्ने अवसरका रुपमा उपयोग गरिरहेका छन् । सरकार र दलहरुका गलत कामकारबाहीमाथि खबरदारी गर्ने, सरकारसमक्ष सूचना पुर्‍याउने र सुधारका लागि दबाब सिर्जना गर्ने दायित्व बोकेका मिडियालाई निरन्तर गाली गरिरहेका छन् । प्रधानमन्त्री सम्पूर्ण देशवासीका अभिभावक हुन्, उनका हरेक गतिविधि नागरिकसँग प्रत्यक्ष परोक्ष जोडिएको हुन्छ । हेक्का रहोस् ।

प्रकाशित समय ०८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु