गृहपृष्ठ काठमाडौंमा मान्छे रोक्ने जिम्मा केन्द्र सरकारको हो : गोविन्दबहादुर पौडेल

काठमाडौंमा मान्छे रोक्ने जिम्मा केन्द्र सरकारको हो : गोविन्दबहादुर पौडेल

काठमाडौँमा राहत नपाएर मानिसहरू भोकै परेका समाचार धेरै आउन थालेपछि  मंगलबारदेखि रातारात मानिसहरू गाउँतर्फ लैजान थालिएको छ । कतिपय जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकै स्थानीय नेताहरूले मान्छे लगिरहेका छन् भने कतिपयमा प्रभावशाली नेता एवं पूर्व मन्त्रीहरू नै जुटेका छन् । तर, केही स्थानीय तहले भने केन्द्र सरकारको लकडाउनको निर्णयविरुद्ध स्थानीय तह जान नसक्ने बताएका छन् । सामान्य स्वास्थ्य मापदण्डसमेत पूरा नगरी बसभरि कोचेर मानिस गाउँ लैजाँदा संक्रमण जोखिम झनै उच्च हुनेतर्फ कसैको ध्यान पुगेको छैन । स्थानीय तहले चाहिँ मानिस गाउँ ओसार्न अनुमति पाएका छन् त ? यी मानिसलाई लैजान स्वास्थ्य मापदण्ड पूरा गरिएको छ ? यिनै विषयमा ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेलसँग डीआर आचार्यले बुधबार साँझ गरेको टेलिफोन कुराकानी :

तपाईंको गाउँपालिकाका सयौँ मानिस झोलापोका बोकेर जडिबुटी, लोकन्थली, कौशलटारलगायतका चोकमा उभिएका छन्, स्थानीय तहको निर्णयअनुसार गरिएको हो ?

होइन । हामीले त्यस्तो कुनै निर्णय गरेका छैनौँ । केन्द्र सरकारको निर्णयविपरीत हामी कुनै निर्णय गर्दैनौँ पनि ।

मैले त्यसरी जान लागेका मानिसलाई सोधेको थिएँ, उहाँहरूले वडाले नै गाडीहरू व्यवस्था गरेकाले यहाँ उभिएका हौँ, गाडी आउँदैछ, भन्नुभएको छ नि !

उहाँहरूले किन त्यस्तो भन्नुभयो त्यो मलाई थाहा छैन तर गाउँपालिकाले त्यस्तो निर्णय गर्नै मिल्दैन ।

त्यसो भए यी मानिस तपाईंहरुको पहलमा गाउँ फर्किरहेका छैनन् ?

छैनन् ।

रामेछापका केही स्थानीय तहका जनप्रतिनिधि नै आएका छन्, जान लागेका केही मानिसले पनि जनप्रतिनिधिले नै गाडी तयार पारेर बोलाएका हुन् भनिरहेका छन् नि !

हामीले चाहिँ त्यस्तो गरेका छैनौँ । म विश्वस्त छु, गाउँपालिकाको निर्णयबिना वडाहरूले पक्कै त्यस्तै गरेका छैनन् । तर, कोही कुनै व्यवस्था गरेर गाउँ आइपुग्छ भने उनीहरूलाई फर्काउन मिल्दैन, हामी उचित प्रबन्ध गरेर क्वारेन्टिनमा राख्छौँ ।

कस्तो प्रबन्ध गर्नुहुन्छ ?

थर्मल गनले ज्वरो परीक्षण गर्छौं । होम क्वारेन्टिनमा अनिवार्य राख्छौँ । गाउँपालिका कार्यालयनजिकको अस्पतालमा एक‑दुई आइसोलेसन बेड तयार पारेका छौँ । हाम्रो क्षमताअनुसार गरेका छौँ ।

तपाईंको गाउँपालिकामा कति घरधुरी छन् ?

३ हजार ८५९ घरधुरी छन् ।

तीमध्ये कति विपन्न अर्थात् राहत दिनुपर्ने अवस्थाका छन् ?

१ हजार १३५ परिवार छन् ।

अहिलेसम्म कतिलाई बाँड्नुभयो राहत ?

अहिलेसम्म बाँड्नुपर्ने स्थिति नै आएको छैन । वैशाख १५ गतेसम्म पर्खिन्छौँ, त्यसपछि पनि लकडाउन थपियो भने बाँड्छौँ । तयारीमा छौँ ।

तपाईंको गाउँपालिकाबाट कुन‑कुन जिल्लामा मानिस गएका छन्, ती मानिस के‑कस्तो पेसा व्यवसायमा आबद्ध छन् ?

हामी अहिले धमाधम त्यसको लगत तयार पारिरहेका छौँ । १५ गतेभित्र तयार पारिसक्छौँ । त्यहीअनुसार केन्द्र सरकारको निर्णय प्रभावित नहुने गरी आवश्यक केही निर्णयहरू गर्न सक्छौँ ।

तपाईंको गाउँपालिकामा कोरोनाभाइरस संक्रमणको जोखिम कति छ ?

हामीले उच्च सतर्कता अपनाएका छौँ । गाउँपालिका भित्रिने सबै नाका सिल गरिएका छन् । भारत तथा अरु देशबाट आउनले सबैको थर्मल गनबाट ज्वरो परीक्षण गर्ने गरेका छौँ । केही दिन निगरानीमा राख्ने गरेका छौँ । अनिवार्य होम क्वारेन्टिनमा राखेका छौँ । जोखिम नै त नहुने कुरा भएन तर अहिलेसम्म कुनै संकेत देखिएको छैन ।

काठमाडौँबाट यसरी बसमा कोचिएर आउने मानिसमध्ये एक जना मात्रै संक्रमित भए बसभरिका मानिसमा सर्न सक्छ, यसरी त संक्रमण फैलिने जोखिम उच्च भएन र !

हेर्नुस्, यसमा केन्द्र सरकार बढी सचेत हुनुपर्छ । हामीले हाम्रो तर्फबाट जेजति गर्नुपर्ने गरिरहेका छौँ, हाम्रो क्षमताले भ्याएसम्म तयारी गरेका छौँ । उताबाट त्यसरी मान्छे आउनबाट केन्द्र सरकारले नै रोक्नुपर्छ, प्रहरी प्रशासन, स्थानीय प्रशासनले रोक्नुपर्छ । मैले अघि पनि भनेँ, गाउँपालिकाको सीमामा आइसकेका मानिसको व्यवस्थापन गर्नु हाम्रो कर्तव्य हो । उनीहरूलाई बेवास्ता गर्नु झन् ठूलो गल्ती हुनेछ ।

तपाईंको गाउँपालिकालाई पुग्ने खाद्यान्न तथा तरकारी गाउँपालिका क्षेत्रमै उत्पादन हुन्छ ?

लिखु गाउँपालिका तरकारी र मासुमा पूर्णतः आत्मनिर्भर छ । यो गाउँपालिकामा मकै, कोदो र केही धान उत्पादन हुन्छ । करिब २५ प्रतिशत मानिसले १२ महिना नै पुग्ने खाद्यान्न उत्पादन गर्छन्, २५ प्रतिशतले ६ महिना र बाँकीलाई ३ महिनापछि खाद्यान्न समस्या हुने गरेको छ । अपुग खाद्यान्न भारत र विभिन्न जिल्लाबाट आयात हुन्छ । अहिले कोरोनाको समयमा पनि करिब एक महिना थेग्ने खाद्यान्न हामीसँग स्टक छ ।

कृषि क्षेत्रलाई व्यवस्थित गर्ने कुनै योजना ल्याउनुभएको छ ?

हामीले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौँ । चालू आवमा पनि कृषितर्फ ९६ लाख रुपैयाँ बजेट छुट्याएका छौँ । हेल्भेटासले ४५ लाख सहयोग गरेको छ । तर कृषि प्राविधिक र कर्मचारी अभावमा धेरै समस्या छ । भदौपछि कृषि कार्यालयमा ताला नै लगाएका छौँ । गाउँपालिकामा कृषितर्फ धेरै सम्भावना छ । विगतको अनुभगको आधारमा जुनार, सुन्तला, अनार, आँप, अलैंची, लिचीलगायतका फलफूल धेरै उत्पादन हुनसक्छ । अहिले माटो परीक्षणको चरणमा छौँ । मौरीपालन र पशुपालनलाई पनि विशेष ग्राह्यता दिएका छौँ ।

गाउँपालिकामा कति मानिस स्थानीयस्तरमै रोजगार छन्, कति बेरोजगार छन् ?

गाउँपालिकाको कुल जनसंख्या २४ हजारभन्दा केही बढी छ । तीमध्ये करिब ८ हजार मानिस बेरोजगार छन् ।

प्रकाशित समय १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु