गृहपृष्ठ प्रणय दिवसमा एकै दिन डेढ लाख थुँगा गुलाब बिक्री, २ करोडको कारोबार

प्रणय दिवसमा एकै दिन डेढ लाख थुँगा गुलाब बिक्री, २ करोडको कारोबार

प्रणय दिवसको अवसरमा यस वर्ष नेपाली बजारमा डेढ लाखभन्दा बढी गुलाबका थुँगा बिक्री भएका छन् । आइतबार परेको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा उत्पादित र आयातित गरी करिब २ करोड रुपैयाँको हाराहारीमा गुलाब बिक्री भएको नेपाल फ्लोरिकल्चर एसोशिएसनले जनाएको छ ।

कोरोना महामारीका कारण नेपालमा उत्पादन नभएपछि भारतलगायत अन्य मुलुकबाट एक लाख २५ हजारभन्दा बढी गुलाबका थुँगा आयात गरेको एसोशिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । उनका अनुसार फूलमा आत्मनिर्भर बन्नै लागेको नेपालमा कोरोना महामारीपछिको लकडाउनले व्यवसायीलाई उत्पादन गर्न सहज नहुँदा ठूलो मात्रामा आयात गर्नुपरेको हो ।

यो पटक व्यवसायीहरुले पुष्प उत्पादन गर्नै नपाएको उनको भनाइ छ । ‘पुष्प व्यवसायीलाई लकडाउनले निकै ध्वस्त बनायो । २०/२५ हजार स्टिम फूल उत्पादन गर्न पनि हम्मे-हम्मे पर्‍यो । त्यसपछि उपभोक्ताको मागअनुसार सवा लाख स्टिम फूल आयात गर्नुपरेको हो,’ उनले भने । उपभोक्ताको मागअनुसार आयात गरिएको तथा नेपालमै उत्पादन भएको प्रतिस्टिम फूलको सयदेखि डेढ सय रुपैयाँमा बिक्री भइरहेको छ । आइतबार त फूल अपुग भएपछि साँझसम्म त प्रतिस्टिक फूल डेढ सय रुपैयाँमा पनि बिक्री भएको व्यवसायीहरु बताउँछन् ।

गत आर्थिक वर्षको तुलनामा भने यो वर्ष आयात निकै बढेको छ अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले भने, ‘कोरोना महामारीको बेलामा व्यवसायीहरुले बाहिरै निस्कन पाएनन्, सिचाईं गर्नै पाएनन् । यो पटक उत्पादन शून्य नै हुनसक्ने अनुमान गरेका थियौं । तर, २५/३० हजारसम्म भए पनि थुँगाहरु उत्पादन भएछन् ।’

बजारलाई पुरानै अवस्थामा फर्काउन पुष्प व्यवसायीलाई झन्डै एक/डेढ वर्ष समय लाग्ने अनुमान गरिएको छ । ‘अहिले भर्खर ३०/४० प्रतिशत उत्पादन भइरहेको छ । अब पुष्प व्यवसायलाई पुरानै लयमा फर्काउन भने अझै एक/डेढ वर्षसम्म समय लाग्छ,’ अध्यक्ष श्रेष्ठले भने ।

उनका अनुसार कोरोना माहामारीको बेलामा उत्पादन भएका फूलहरु पनि बिक्री नहुने हो कि भनेर व्यवसायीहरुले चिन्ता गरेका थिए । ‘तर, खुसीको कुरा प्रेम जोडीहरुले पनि उत्सुकता, हर्ष उल्लासका साथ प्रेम दिवस मनाए । व्यवसायीका फूलहरु पनि बिक्री भए,’ उनले भने ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रेमी प्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रणय दिवस विश्वभर मनाइने गरिन्छ । यस अवसरमा विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र एक आपसमा, प्रेमभाव प्रस्तुत गर्ने गर्दछन् । केही वर्षयता नेपालमा पनि यस दिवसले व्यापकता पाउँदै गएको छ ।

किशोर-किशोरीभन्दा नवदम्पती आकर्षित

नेपाली बजारमा भ्यालेन्टाइन डेको बेलामा प्रेम साट्नका लागि फूलप्रति सबैभन्दा बढी नवदम्पतीहरु आकर्षित हुने गरेका छन् । अध्यक्ष श्रेष्ठका अनुसार गुलाबको फूलमा किशोरकिशोरीभन्दा नवदम्पतीहरुको मोह बढी छ । ‘गुलाबको फूलमार्फत् आफ्नो प्रेमभाव साट्ने सबैभन्दा बढी किशोरकिशोरी नै हुन् । तर, पर्याप्त पैसा नभएर हुनसक्छ उनीहरु प्लाष्टिकका फूल बढी खरिद गर्छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘नवदम्पतीहरु भने ५०/६० वटा थुँगा भएका बन्चहरु नै किन्छन् ।’

श्रेष्ठका अनुसार नेपालमा जीवनको उत्तराद्र्धमा प्रवेश गरेकाहरुले पनि आफ्नो प्रेम साट्न गुलाबका थुँगाहरु खरिद गर्ने गर्दछन् । सद्भाव, प्रेम भातृत्वलाई अझै प्रगाढ होस् भन्नका लागि बालबालिकाबाहेक सबै उमेर समूहले रातो गुलाबलाई मन पराएको उनी बताउँछन् ।

प्रकाशित समय १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु