गृहपृष्ठ ‘संस्था रहे व्यक्तिका कमजोरी पनि सच्चिन्छ, त्यसैले संस्थाकै अन्त्य गर्ने होइन’

‘संस्था रहे व्यक्तिका कमजोरी पनि सच्चिन्छ, त्यसैले संस्थाकै अन्त्य गर्ने होइन’

सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जारी छ । यसअघि सुरूमा निवेदकतर्फका कानुन व्यवसायीहरूले संसद विघटन गर्ने निर्णय असंवैधानिक रहेको भन्दै बहस गरेका थिए । त्यसपछि सरकार पक्षका वकिलहरूले प्रतिरक्षा बहस गरे । निवेदक पक्षको जवाफी बहस सोमबार सकिएको थियो ।

मुद्दाउपर सुनुवाइको क्रममा आजबाट भने एमिकस क्युरीका सदस्यहरूले राय दिने क्रम सुरू भएको छ । यसै क्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दा संविधानमा के लेखेको छ, त्यतिमात्र हेनुपर्ने बताएका छन् ।  ‘व्याख्या श्रीमानहरुले गर्ने हो । ब्याख्याको पनि कानुन छ । त्यहीअनुसार मैले गरेको व्याख्या मिल्यो कि मिलेन भनेर जाँच गर्ने हो । विधायकी मनसाय के थियो ? त्यही अनुसार बुझ्नुपर्छ,’ एमिकस क्युरीका तर्फबाट उनले राय दिए ।

अधिवक्ता कार्कीले जसले संविधान बनाए, उनीहरु नै संविधान दुर्घटनामा पर्‍यो भनेर सडक आन्दोलनमा रहेको पनि बताए । यस्तो स्थितिमा जे लेखिएको छ, त्यसैको आधारमा मात्र संवैधानिक इजलासले निर्णय दिनुपर्ने उनको राय छ । उनले संस्था रहे मात्र व्यक्तिका कमीकमजोरीहरू सच्चिने बताए । ‘संस्था रहे मात्र व्यक्तिमा भएको कमीकमजोरी पनि सच्याउन सकिन्छ,’ उनले भने, ‘जो हट्न चाहन्छ, विश्वासको संकट पर्छ भने विश्वासको मत लिन जाने हो । जसलाई हटाउन मन लाग्छ अविश्वासको प्रस्ताव ल्याउने हो । तर, संस्था अन्त्य गर्ने होइन ।’

प्रकाशित समय १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु