गृहपृष्ठ पाँच वर्षमा ५० हजार पटक आयो नेपालमा भूकम्प
पाँच वर्षमा ५० हजार पटक आयो नेपालमा भूकम्प
फाइल तस्बिर
नेपालमा दोस्रो ठूलो महाभूकम्प आएको पाँच वर्ष पुगेको छ । विश्वास नलाग्न पनि सक्छ, यो पाँच वर्षको अवधिमा ५० हजार पटकभन्दा बढी परकम्प आइसकेको छ ।
चार रेक्टर स्केलभन्दा सानो भूकम्पले इपिसेन्टरभन्दा बाहेकमा महसुस नै हुँदैन । यस्ता भूकम्प दिनमै सयौं पटक गइरहन्छन्र । प्रायः ठूलो र क्षति भएको भूकम्पबारे मात्रै जोकोहीलाई जानकारी हुन्छ ।
नेपालमा पहिलो पटक १९९० सालमा महाभूकम्प आयो । संखुवासभा केन्द्रबिन्दु बनाएर १९९० सालमा गएको ८.३ रेक्टर स्केलको महाभूकम्पबाट ८ हजार ५१९ जना नेपालीले ज्यान गुमाएका थिए । त्यो घटना इतिहास बन्न नपाउँदै २०४५ सालमा अर्को ठूलो भूकम्प गयो । १९९० को भूकम्पबाट भारतमा पनि ठूलो जनधनको क्षति भएको थियो ।
पहिलो पटक आएको महाभूकम्पपछिकै ठूलो भूकम्प थियो, २०४५ सालमा उदयपुर केन्द्रबिन्दु बनाएर गएको भूकम्प । त्यो भूकम्प ६.७ रेक्टर स्केलको थियो । त्यससँगै आएका पराकम्पसहितले गरेर ०४५ सालमा ७२१ जनाको ज्यान गएको थियो । त्यस्तै हजारौं वस्तुभाउ मरेका थिए । सयौं घरहरु भत्किएका थिए । ०४५ सालसम्म नेपालमा दोस्रो ठूलो भूकम्प भनेर त्यसैलाई चित्रण गरिएको थियो ।
तर ०४५ सालको भूकम्पलाई पनि बिर्साउने गरी २०७२ सालमा आयो । आजभन्दा पाँच वर्षअगाडि । २०७२ वैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको भूकम्पले ९ हजारभन्दा बढीको ज्यान लियो भने २० हजार २०० भन्दा बढीलाई घाइते बनायो । झन्डै ९ लाख घर भत्किए । लाखौँ घरबारविहीन भए । त्यसै दिनमा मात्रै ३५ पटक चार रेक्टरभन्दा माथिको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ गते सुरुमा गएको ७.६ रेक्टर स्केलको भूकम्पपछि ६.६ रेक्टरको गयो । त्यसै दिन २० पटक ४ देखि ४.९ रेक्टर स्केलसम्मको भूकम्प गएको थियो भने १३ पटक ५ देखि ५.९ रेक्टरसम्मको भूकम्प गएको थियो ।
२०७२ सालभरमा ४ देखि ४.९ रेक्टरसम्मको भूकम्प ३८८ पटक गएको थियो भने ३९ पटक ५ देखि ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसैवर्ष महाविनाशकारी भूकम्पको दोस्रो दिन दोलखा केन्द्र बनाएर वैशाख १३ गते ६.९, २९ गते ६.८ र ६.२ रेक्टर स्केलको भूकम्प गरी वर्षभरमा ४४४ पटक भूकम्प गएको भूगर्भशास्त्री भरतप्रसाद कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार २०७३ सालमा ४ देखि ४.९ सम्मका ४१ र ५ देखि ५.९ रेक्टरसम्मका दुई गरी ४३ पटक भूकम्प गएको थियो । त्यस्तै २०७४ सालमा २४ पटक गएको थियो । त्यो बेलामा ४ देखि ४.९ सम्मका २२ र ५ देखि ५.९ सम्मका २ गरी ४३ पटक भूकम्प गएको थियो ।
भूकम्प मापन केन्द्रको तथ्यांकअनुसार २०७५ सालमा ३४ पटक भूकम्प गएको थियो । जसमा ३३ पटक ४ देखि ४.९ र १ पटक ५ देखि ५.९ रेक्टरको भूकम्प गएको थियो । त्यस्तै २०६६ सालमा ४५ पटक भूकम्प गएको तथ्यांकले देखाएको छ । जसमा ६ पटक ५ देखि ५.९ रेक्टरको र ३९ पटक ४ देखि ४.९ रेक्टरसम्मको भूकम्प गएको छ । विनासकारी भूकम्पपछिको ०७६ सालमा फेरि बढ्दै गएको देखिन्छ ।
‘भूकम्प मापन केन्द्र दिएको तथ्यांकअनुसार अहिलेसम्म गणना भएका ४ देखि माथिका रेक्टर स्केल हुन्,’ भूगर्भशास्त्री कोइरालाले भने, ‘त्योभन्दा साना भूकम्प दिनमा पनि सयौं पटक जाने गरेका छन् ।’ ०७२ सालको महाभूकम्पपछि नेपालमा ५० हजार ५५० पटक नेपालमा भूकम्प आएको उनले बताए ।
गोरखाको ‘बारपाक’ केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भत्काएका कतिपय संरचनाहरु अहिलेसम्म पनि ठडिएका छैनन् । खर्बौंको हाराहारीमा बजेट खर्च हुँदा पनि अवस्था फेर्न भने निकै समय लाग्ने देखिन्छ ।
प्रकाशित समय १०:१७ बजे

















