गृहपृष्ठ हटस्पट वरवरका गाउँमा पनि थालियो स्बाब संकलन
हटस्पट वरवरका गाउँमा पनि थालियो स्बाब संकलन
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित जामे मस्जिदमा आएका भारतीय मुस्लिम धर्म गुरु जमातीलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुसँग सम्पर्क भएका चौदण्डीगढी नगरपालिका ५ र ९ का सिवाइ र ज्यामिरेका मुस्लिम समुदायको पनि स्वाब संकलन गरिएको छ । चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर सिशवाइ र ९ ज्यामिरे, त्रियुगा नगरपालिका २ मोथियाहीका मुस्लिम समुदायका नौ महिलासहित ७८ जनाको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको हो । प्रदेश १ का प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनीहरुको स्वाब संकलन गरेको छ ।
जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक डा. जयबेन्द्र यादवको नेतृत्वमा आएको टोलीले बिहीबार सिवाइ र मोथियाहीमा अस्थायी क्याम्प खडा गरी स्वाब परीक्षणको नमुना संकलन गरेको हो । संकलित स्वाब विराटनगरस्थित जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने डा. यादवले बताए ।
प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित आएको टोलीले सिवाइ, ज्यामिरे, मोथियाहीमा स्वाबको नमुना संकलन गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।
त्रियुगा नगरपालिकाको भुल्केमा पत्ता लागेका संक्रमित भारतीय मुस्लिम गुरुहरु सिवाइ, ज्यामिरे, मोथियाहीको मस्जिदमा बसेकाले त्यहाँको स्वाब संकलन गरिएको हो । चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरका तीन टोल र वडा नं. ९ को एक टोलमा रहेका मुस्लिम समुदायका शंकास्पद व्यक्तिहरु र उनीहरुको सम्पर्कमा रहेका अन्य समुदायका मानिसको स्वाब संकलन गरिएको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले बताए ।
वडा नं. ५ सुन्दरपुर सिवाइको रामजानकी टोल, टोकनी टोल अजगरा, बडेरुवा टोल सुन्दरपुर र वडा नं. ९ को पूर्वटोल ज्यामिरे कदमगाछीका शंकास्पद मुस्लिम समुदायका मानिसको स्वाव संकलन गरिएको छ । चिया पसल, किराना पसल र अन्य व्यावहारिक हिसाबले उनीहरुसँग सम्पर्कमा रहेका अन्य समुदायका मानिसको पनि स्वाब संकलन गरिएको छ ।
चौदण्डीगढीमा पहिलो चरणमा संकलन गरिएको स्वाब परीक्षणको रिपोर्टको आधारमा थप रणनीति बनाउने नगर प्रमुख राईले जानकारी दिए । त्रियुगा नगरपालिका ३ भुल्केमा बुधबारसम्म १२ भारतीय नागरिकसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित फेला परिसकेपछि उदयपुरलाई विशेष संक्रमित क्षेत्रको रुपमा हेरेर पहिलो चरणमा मुस्लिम समुदायको वस्तीहरुमा स्वाब नमुना संकलन र परीक्षणको काम भइरहेको छ ।
संकलित नमुनाको रिपोर्ट हेरेर प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने प्रदेश सरकारका सामाजिक बिकासमन्त्री घिमिरेल बताए । परीक्षणपछि समुदायमा सरेको हुनसक्ने कुरालाई मध्यनजर गर्दै परीक्षणको दायरा बढाउने उनले जानकारी दिए । बिहीबार नै कोरोना संक्रमितहरुसँग दैनिक नियमित सम्र्पकमा रहने २३ जना स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गरिएको छ ।
प्रकाशित समय ०९:३४ बजे
















