गृहपृष्ठ जिल्ला भित्रिएकाहरू क्वारेन्टिनमा नबसी सिधै घर
जिल्ला भित्रिएकाहरू क्वारेन्टिनमा नबसी सिधै घर
लकडाउन जारी रहेकै बेला जिल्ला बाहिरबाट गाउँ प्रवेश गर्ने र क्वारेन्टिनमा नबसी सिधै घर जाने क्रम बढेपछि कोरोनाभाइरस संक्रमणको जोखिम बढेको छ । बाटोमा अलपत्र परेकाहरुलाई गाडीबाट उद्धार गरिएपछि गाउँमा बाहिरबाट आउने क्रम बढेको छ । उनीहरूको विवरणसमेत राख्ने गरिएको छैन ।
लकडाउनका कारण काठमाडौँमै रोकिएका हजारौँ मानिसहरुलाई संघीय तथा स्थानीय जनप्रतिनिधिले गाउँ ल्याइरहेका छन् । कैलालीमा पनि काठमाडौँबाट हजारौंको संख्यामा मानिसहरु प्रवेश गरेका छन् । स्थानीय तह तथा सांसदहरुको पहलमा उनीहरुलाई गृहजिल्ला ल्याइएको हो ।
सुदूरपश्चिमको प्रवेशद्वार चिसापानीबाट ५ हजारभन्दा बढी नागरिक कैलाली भित्रिएका छन् । कैलाली भित्रिएका उनीहरुलाई चेकजाँच नै नगरी सिधै घर पठाइएको छ । टाढा-टाढाबाट आएका मानिसलाई छुट्टै क्वारेन्टिनमा नराखी होम-क्वारेन्टिनमा बस्न आग्रह गरिएको जनप्रतिनिधिहरु बताउँछन् ।
स्वास्थ्यमा केही समस्या देखिए चेकजाँच गरी क्वारेन्टिनमा राख्न निर्देशन दिइएको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बताए । हालसम्म शंकास्पद कोही नभेटिएकाले सबैलाई होम–क्वारेन्टिनमै बस्न आग्रह गर्दै घर पठाइएको उनले बताए ।
कञ्चनपुुरका जनप्रतिनिधिहरुले पनि आफ्ना क्षेत्रका नागरिकहरुका लागि बस पठाएर जिल्ला भित्र्याएका छन् । तर त्यहाँका स्थानीय तहहरुले पनि बाहिरबाट आउनेहरुलाई होम-क्वारेन्टिनमै बस्न निर्देशन दिएर पठाएका छन् । स्थानीय तहहरुले जिल्लाबाहिर रहेका नागरिकलाई अहिले बस पठाएर घर फर्काएपछि धेरैले चिन्ता व्यक्त गरेका छन् ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार यसरी हुलका हुल आएका मानिसका कारण जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको छ । १४ दिन क्वारेन्टिनमै राख्नेगरी मात्र बाहिर रहेका मानिसहरुलाई जिल्ला भित्र्याउनु उचित हुने उनको भनाइ छ ।
प्रशासनले भने स्थानीय जनप्रतिनिधिले जिम्मा लिनेगरी बाहिरबाट बसमार्फत सम्बन्धित स्थानीय तहमा मानिसहरुलाई पुर्याइएको जनाएको छ । उनीहरुको स्वास्थ्य परीक्षणदेखि क्वारेन्टिनमा राख्ने जिम्मासमेत स्थानीय तहकै रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।
लकडाउन भनेको जो जहाँ छ त्यही रहनुु हो । तर, अहिले स्थानीय तहहरुमा आफ्नो क्षेत्रका नागरिकहरुलाई घर पुर्याउने होडबाजी नै चलेको छ । सीमित बसमा खचाखच मानिसहरु आउँदा मानिसहरु एकअर्काको सम्पर्कमा आउने गर्छन् । जसले कोरोना संक्रमणको जोखिम बढाएको कतिपयको भनाइ छ ।
प्रकाशित समय १९:१८ बजे

















