गृहपृष्ठ ‘संकटको समयमा पत्रकार अत्यन्तै जिम्मेवार बन्नुपर्छ’

‘संकटको समयमा पत्रकार अत्यन्तै जिम्मेवार बन्नुपर्छ’

कोरोनाभाइरस (कोभिड- १९) संक्रमण तीव्ररूपमा फैलिएपछि विश्वका अधिकांश मुलुक लकडाउन गरिएका छन् । लकडाउन अमेरिकालगायतका धेरै देशले राष्ट्रिय संकट घोषणा गरेका छन् । लकडाउन घोषणा नगरिएका मुलुक पनि सीमित आर्थिक कारोबार र गतिविधिमा केन्द्रित छन् ।

जुनसुकै परिस्थितिमा पनि जनताको सुरक्षा तथा सूचना दिने निकाय सधैं चनाखो भइरहनुपर्छ । विश्वभर त्यही अवस्था छ । रोगसँग लडिरहेका बेला पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी भने अग्रमोर्चामै रहनुपर्ने बाध्यता रहन्छ ।

विषम परिस्थितिमा अन्य निकाय जस्तै सञ्चार क्षेत्र झन् धेरै जिम्मेवार रहनुपर्छ । नागरिकलाई सही सूचना सम्प्रेषण गर्न नसके सञ्चार क्षेत्रमाथि यही अवस्थामा बढी प्रश्न उठ्ने अवस्था आउँछ । प्रश्नसँगै रोगको त्रासमा बसेका नागरिकलाई छिटो सूचना दिन खोज्दा गम्भीर गल्ती हुन गए समाजमा उत्तेजना फैलिने र असामाजिक क्रियाकलाप हुने खतरा पनि उत्तिकै हुन्छ ।

संकटको समयमा पत्रकारहरू कति जिम्मेवार बन्नुपर्छ ? पत्रकारहरू कसरी प्रस्तुत हुनुपर्छ ? कस्ता सामग्री प्रकाशनले सञ्चार क्षेत्रको जवाफदेहिता दर्शाउँछ ? यी र यस्तै विषयमा हामीले केही वरिष्ठ पत्रकारहरूसँग कुरा गरेका छौँ :

मिडियाले जनतालाई भ्रमित पार्नु हुँदैन : किशोर नेपाल

संकटको समयमा पत्रकारको विशेष भूमिका रहन्छ । सरकारी मिडियाले भन्दा प्राइभेट मिडियाले सबैका विचार समेटेको हुन्छ, समेटिरहेका छन् । सबैलाई स्थान दिएका छन् । अनुसन्धानमूलक खोजहरु गरिरहेका छन् ।

रिपोर्टिङमा जाँदा आवश्यक स्वास्थ्य सामग्री अपनाएर समाचार सम्प्रेषण गर्नुपर्छ । किनकि ज्यानभन्दा ठूलो अरु केही हुँदैन । कतिपय मिडियाले भने तथ्यहीन समाचार सम्प्रेषण गरेर जनतालाई भ्रमित पार्ने गरेका छन् । यो भनेको ठूलो युद्ध हो । यसमा सबैले सरकारले चालेका कदमहरूको पालना गर्नुपर्छ ।

तर, सरकारले यो विषयमा भने एकदमै ठूलो लापर्बाही गरिरहेको छ । जनताप्रति खासै चासो देखाएको पाइँदैन । सरकार राजनीतिमै, कुर्सीकै र आसेपासकै लागि तँछाडमछाड गरिरहेको छ । यो बेलामा नागरिकलाई राज्य भएको महसुस गराउन सक्नुपर्थ्यो । सञ्चारकर्मीले यस्ता कुरालाई गम्भीरतापूर्वक लिएर कलम चलाउनुपर्छ ।

पत्रकारले सामान्य नागरिकले भन्दा बढी अध्ययन गर्नुपर्छ : राजेन्द्र दाहाल

कोरोना भाइरस एक प्राकृतिक महामारी हो । यसले सिंगो संसारलाई चासो, चिन्ता डर र त्रास बढाएको छ । यो बेलामा पत्रकारको समाचारले प्रवृत्ति देखाउँछ । यो बेलामा पत्रकारले जति समाचार सम्प्रेषण गरे पनि अलिकति पृथक् तरिकाले पाठकलाई सूचना सम्प्रेषण गर्नुपर्छ ।

अहिले धेरै एउटै प्रकृतिका समाचार आउँछन् । जति समाचार लेखे पनि यसको निचोडमा भने यो विश्लेषण आउँदैन तर आउनुपर्थ्यो । हरेक विषयमा पत्रकारले सामान्य नागरिकभन्दा बढी थाहा पाउनुपर्ने, अध्ययन गर्नुपर्ने हुन्छ । यो बेलामा त समाचारसँगै कतिपय ठाउँमा त शिक्षा नै पनि बाँड्नुपर्ने अवस्था पनि आउँछ । अहिले पत्रकारहरुले जति लेखिरहनुभएको छ । दोस्रो तथ्यांकलाई आधार बनाएर लेखिरहनुभएको छ । सबैभन्दा पत्रकारले वस्तुनिष्ठ र वस्तुगत सूचना विश्लेषण दिनुपर्छ । यो बेला लकडाउनको अवधिमा सबै नागरिकले नियम पनि पालना गर्नुपर्छ । यसमा सबैले जिम्मेवार तरिकाले सुरक्षित हुनुपर्छ ।

राज्यलाई नीति नियम कार्यान्वयन गराउन पनि पत्रकारले गाइड गर्नुपर्छ । नीति निर्मातालाई शिक्षा पनि दिनुपर्ने, सरकारलाई मार्गनिर्देश पनि गर्नुपर्ने दायित्व पत्रकारसँग हुन्छ । सरकार भनेको कम्प्रमाइज फोरम हो ।

सरकारको भने अहिले स्वार्थको निर्णय मात्र देखिन्छ । कोरोना फैलिएको यति लामो समयसम्म केही काम गरेको देखिँदैन । स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्छ ।त्यसमा पनि खासै ध्यान दिएको देखिएको छैन ।

तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्छ : ध्रुवहरि अधिकारी

कोरोनाभाइरस फैलिएको बेलामा पत्रकारले समाचारहरु सम्प्रेषण राम्रै गरिरहनुभएको छ । त्यसमा अझै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्छ । कहिलेकाहीँ पत्रकारले कुनै सरकारी अधिकारीलाई टेलिफोनमा उद्धृत गर्दै समाचार सम्प्रेषण गर्छौं तर त्यो विषय पनि के कस्तो हो भनेर निर्क्यौल गरिरहेका छैनौं । उनीहरुले दिएको तथ्यांकमा रुजु पनि गर्नुपर्छ । तर, अहिलेको विषम परिस्थिति हो । यसमा आफैंले जोगिनु भन्ने त हुन्छ तर समाचारका लागि केही मिडियामा भने खासै उत्सुकता देखिएन ।

जनताको मन जितेर सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण बढाउन जरुरी छ । सरकारी मिडियाले आफ्नो गुणगान मात्र गाइरहेको बेलामा प्राइभेट मिडियाले सबै घटनाहरु बाहिर ल्याएका छन् । सरकार भने जनताप्रति उत्तरदायी नभएको देखिन्छ । यो समयमा सरकार राजनीति नै तरंगित हुने गरी विधेयक ल्याउने र फिर्ता गर्ने काममै लागेको छ । सरकारको तर्फबाट कोरोना नियन्त्रणमा काम फितलो देखिन्छ ।

९० प्रतिशत मनगणन्ते कुरा थपेर भ्रमित पारिन्छ : यशोदा तिम्सिना

अहिले कतिपय पत्रकारले तथ्यहीन समाचार संकलन गरेको पनि देखिन्छ । १० प्रतिशत सत्य भएको कुरामा ९० प्रतिशत मनगणन्ते कुरा थपेर समाचार सम्प्रेषण गरेर जनतालाई भ्रमित पारेको देखिन्छ । जुनसुकै अवस्थामा पनि पत्रकारले आचारसंहिता अनुसार काम गर्नुपर्छ ।

कतिपय मिडियाले यो कोरोनाको कहरमा श्रमजिवी पत्रकारलाई कामबाट निकाल्ने, तलब नदिने गरेको भन्ने पनि सुनिन्छ । योबारे पत्रकार महासंघलगायतका निकायले पनि ध्यान दिनुपर्छ । पत्रकारका सूचना समाचारकै आधारमा अहिलेसम्म जनतालाई जानकारी प्राप्त भएको हुने गरेको छ । सबै पत्रकारले राम्रो लेखेका छन् भन्ने अवस्था पनि छैन । कतिपयले भ्रमित पारेका छन् भने कतिपयले सत्यतथ्यमा टेकेर समाचार सम्प्रेषण गरेको पनि पाइन्छ । त्यो राम्रो विषय हो ।

मिडियाकर्मीले नकारात्मक तरिकाले समाचार सम्प्रेषण गर्नु हुँदैन । यो परिस्थितिमा सकारात्मक कुरालाई पनि सही ढंगले जनतासामु लैजानुपर्छ । यो भएन, त्यो भएन भनेर मात्र हुँदैन । सरकारले नगरे कसले गर्छ ? यो बेलामा सबैले आ‑आफ्नो तर्फबाट सरकारलाई सहयोग गर्नुपर्छ ।

पत्रकारले केही नगरेको भन्ने होइन तर पनि सत्यतथ्य कुरामा बढी ध्यान दिनुपर्छ । मैले पनि १९ वर्ष पत्रकारिता गरेकी छु । यो अवधिमा मैले कहिल्यै नराम्रो गरिनँ । आचारसंहिताभन्दा बाहिर गइनँ । आफ्नो धर्म निभाएकी थिएँ । त्यसैगरी सबै पत्रकारले पनि यो बेलामा झनै अवस्था गम्भीर भएको हुँदा सत्य तथ्य सूचना दिनुपर्छ ।

प्रकाशित समय ०९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु