गृहपृष्ठ अब जाग्नुपर्छ काकी ! देश बचाउनुपर्छ !!

अब जाग्नुपर्छ काकी ! देश बचाउनुपर्छ !!

अबेर भइसक्यो अब । भाले पनि बासिसक्यो । बाहिर चराचुरुङ्गीहरु पनि चिरबिर गर्न थालिसके । उठ्ने बेला भइसक्यो काइँला । उठ् ! पल्लाघरे काकीको परिवारलाई पनि उठ्न भन् । माथि डाँडामा गएर सारा गाउँलेलाई पनि डाको लगाएर उठ्नका लागि भन्दे । जा !

मुलुकमा भ्रष्टाचार मौलाउँदै गयो भन्छन् सबैले । जताततै लुटपाट र ठगिएका खबर मात्र सुनिन्छन् । रेडियो खोल्यो कि स्वास्थ्य सामग्री र उपकरण खरिदमा करोडौंको अनियमितता भन्ने खबर आउँछ । टिभी खोल्नेबित्तिकै शिक्षकद्वारा नै १३ वर्षीया बालिका बलात्कार भन्ने समाचार सुन्नुपर्छ । सामाजिक सञ्जाल हेर्‍यो, पत्रपत्रिका पल्टायो कि विभागीय मन्त्रीसहित सरकारका माथिल्लो तहका कर्मचारी नै अरबौंको भ्रष्टाचारमा संलग्न भन्ने शीर्षकमा समाचार छापिएका हुन्छन् ।

मुलुकमा सरकार र कानुन छ कि छैन ? अत्तोपत्तो छैन । कस्ता‑कस्ता दिनहरु देख्नुपर्‍यो आज । हिजो त्यति लामो समयसम्म जनआन्दोलन गर्‍यौँ । आफ्ना नैसर्गिक अधिकार प्राप्तिका लागि लड्यौँ । तर, आज हामीले नै जिताएर पठाएकाहरुको घिनलाग्दो हर्कत देखेर आँखाहरु पनि थाकिसके । कस्तो राजनीतिक व्यवस्थाको थालनी गरेछौँ ? जताततै लुटपाट र ठगी मात्र मौलाउने, जसलाई जे मन लाग्यो, मनलाग्दी गर्ने, कारबाही गर्ने अख्तियार प्राप्त निकाय र व्यक्ति नै अपराध र भ्रष्टाचारका घटनाहरुमा मुछिन थालेपछि कसप्रति भर गर्ने ?

‘रक्षक नै भक्षक’ भइसकेपछि त अब नगरिकले फेरि जुर्मुराउने बेला पनि आइसक्यो । एकपटकका लागि भ्रष्टाचारविरुद्धको क्रान्ति गर्नैपर्छ काइँला । भ्रष्टाचारविरुद्धको क्रान्तिको नेतृत्व आजको युवापुस्ताले सम्हाल्नैपर्छ । ‘लगामबिनाको घोडा’ जस्तो भएको अहिलेको राजनीतिक व्यवस्था र भ्रष्टाचारको मतियार बनेका हरेक राजनीतिक दललाई किनारा लगाउने ताकत हाम्रो पुस्ताले जुटाउनैपर्छ ।

शासकीय स्वरुप र शासन व्यवस्था बदलिँदैमा मुलुकको विकास नहुँदो रैछ । विकास र समृद्धिका निम्ति त दृढ आत्मविश्वास र पारदर्शितासहितको इमानदार व्यक्तिहरुको संकल्प पनि चाहिने रहेछ । त्यो दक्षता आजको युवापुस्तामा अनिवार्य छ । केवल त्यो दक्षता र क्षमतालाई मुलुकका निम्ति समर्पण गर्न सक्ने नैतिकता र साहसमा बदल्न सकियो भने लोकतन्त्रको असल अभ्यास हाम्रै पालामा गर्न सकिन्छ ।

टिभी, रेडियो, पत्रपत्रिका अनि अनलाइन समाचारहरुमा देख्न र सुन्न पाइन्छ‑ आज नेकपा परित्याग गरी सिंगो गैरीगाउँ कांग्रेसमा प्रवेश गर्‍यो अरे ! अनि भोलि बिहान अर्को समाचार छापिएर आउँछ‑ कांग्रेसका अढाइ सय जनासहित सारा शिवपुरी बस्ती नै नेकपामा प्रवेश गर्‍यो अरे !

अरे ! यो प्रथा त उहिले पनि थियो । आज पनि छ । कुनै एउटा राजनीतिक पार्टीको सदस्य घट्दैमा न नागरिकका समस्या घटे न त पिरमर्का नै । अनि कुनै दलको सदस्य बढ्दैमा त आम नेपालीको आयस्रोत बढ्यो न त जीवनशैली नै सहज भयो । यो सब बकवास चली नै रह्यो । आज पनि चलिराखेकै छ । तर, आमनेपालीको चुलोचौकोको अवस्था के भयो ? ‘हिजो जस्तै आज’ ।

हुन त हरेक वर्ष नेपालमा गणतन्त्र दिवस, सहिद दिवस, मजदुर दिवस मनाइन्छ । अर्थात् वर्षौंपिच्छे नारी दिवस, लोकतन्त्र दिवसलगायत के‑के दिवस मनाइन्छन् के‑के । यी दिवसहरु सिंहदरबार र शीतलनिवासमा विराजमान भएकाहरुका लागि पक्कै पनि जायज र सान्दर्भिक हुन सक्छन् । जसले सात पुस्तासम्म श्रम नगरी बाँच्न सक्ने हैसियत बनाइसकेका छन् । तर, आमनागरिकको जनजीवनमा यी दिवसहरुको के औचित्य ? के महत्व ? जसले दिनरात अनि भोक प्यास नभनी ३६५ दिन खेतबारीमा काम गरेको छ, खाद्यबाली उत्पादन गरेको छ, उसैलाई तीन महिनाको छाक टार्न मुस्किल छ । अनि त्यो कृषकका लागि मजदुर दिवसको औचित्य के रह्यो ? किन मनाउने उसले मजदुर दिवस ?

कयौं यस्ता नारीहरु छन्, जसले आफू बलात्कृत भएर वर्षौंदेखि न्यायालयको ढोका ढकढक्याइ राख्नुपर्ने ? अनि हजारौं निर्मलाहरुले बलात्कृत भएर ज्यानसमेत गुमाउनुपर्ने ? निर्मलाका आमाहरुले छोरीको न्यायका निम्ति प्रहरी प्रशासन, न्यायालय धाइरहँदा पनि न्याय नपाउने । मिडियामा पुगेर न्यायको भिख माग्नुपर्ने ? अनि हामी त्यही मुलुकका लाचार नागरिक हौं, जसले हरेक वर्ष महिला अधिकारका नाममा नारी दिवस धुमधामका साथ मनाइरहेका हुन्छौं ।

दिनहुँजसो ‘निर्मला’हरू बलात्कृत भइरहन्छन्, मारिरहिन्छन् । हामी त्यही मुलुकका लाचार नागरिक हौं, जसले हरेक वर्ष महिला अधिकारका नाममा नारी दिवस धुमधामका साथ मनाइरहेका हुन्छौं ।

त्यसैले अबेला भइसक्यो अब उठ्नुपर्छ काकी, ब्युझिनुपर्छ सबैले । सिंहदरबार छिर्नका निम्ति हिजो कयौंले ज्यान गुमाए । कयौं घाइते र अपांग भए । हजारौं बेपत्ता भए । तीमध्ये केही व्यक्ति सकुशल सिंहदरबार छिरे । अनि आज सिंहदरबारमा बस्नेहरुले नै हामीमाथि सेवाको नाममा शासन र शोषण गरिरहेका छन् । जनतालाई ‘नोकर’ सरह बनाएर आफू ठूल्ठूला ‘मालिक’ र ‘साहु महार्जन’ बनेका छन् । मुलुकमा कम्युनिस्टको सरकार आओस् या कांग्रेसको, के फरक पर्छ हाम्रो जिन्दगीमा ! एउटाले जमिन बेच्छ, अर्कोले जल बेच्छ । दुइटैको मिलिभगतमा कौडीको मूल्यमा खाडीमा जवानी बेचिन्छ ।

देश निर्माणका निम्ति जुट्नुपर्ने उद्यमशील हातहरु अयोग्य, असक्षम र भ्रष्ट नेताको चाकडी गर्नमा सक्रिय हुनाले नै मुलुकको यो हविगत भएको हो । नेताको चाकडी गर्ने र उनीहरुबाट नै टीका, आशिष र आशीर्वाद थाप्नेहरुमध्ये सबैभन्दा बढी मेरो उमेर समूहका युवा देखिनु एउटा भयानक डरलाग्दो दृश्य हो ।

हरेक तहका निर्वाचन हुन्छन् मुलुकमा । हाम्रा दुःखसुख र आवश्यकताहरु परिपूर्ति गराउने सर्तमा आ‑आफ्नो क्षेत्रबाट जनप्रतिनिधि चुन्छौं । तर, निर्वाचित भएको दोस्रो दिनबाटै हामीबाट टाढा हुन्छन् हाम्रा प्रतिनिधि ।

मानौँ कि उनीहरुलाई हामीले खुलमखुला लुट मच्चाउन लाइसेन्स बनाइदियौं, मतदान गरेर । मतदान पनि आज यस्तो हतियार भइसक्यो कि विजय प्राप्त गर्नेले भ्याएसम्मको लुटपाट, ठगी, भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार गर्ने वैधानिक लाइसेन्स जस्तो ।

हो साइँला ! अब जाग्नुपर्छ हामीले । आज तल्लाघरे काकाको सुर्केथैली चोर्ने भोलि हाम्रो घरमा पस्दैन भन्ने के ग्यारेन्टी छ र ! यहाँ धर्ती भासिँदै छ, आकाश खस्दै छ । तर, तपाईं हामीहरु आफ्नै लाचार जिन्दगी र पुर्खौंदेखि मक्किएको झुपडीकै संरक्षणका निम्ति मात्र संघर्ष गरिरहेका छौं । आफू सवार सिंगो जहाज पल्टिन थालिसक्यो । अझै पनि हामी सिटबेल्ट कसेर आफू जोगिन सक्छौँ भन्ने मानसिकतामा बाँचिरहेका छौं । उठ काका ! उठ ! अब त साँच्चिकै अबेर भइसक्यो । आजभोलि भन्दाभन्दै सिंगो जीवन मौन धारणमै बितिसक्यो ।

हिजो एउटा यस्तो पुस्ता थियो, जसले टुक्राटुक्रामा विभाजित राज्यहरुको एकीकरण गर्‍यो । अर्को पुस्ता जन्म्यो । कसैले राणाहरुको निरंकुश तानाशाहविरुद्ध लड्नुपर्‍यो । कसैले एकलौटी शासनसहितको हुकुमी व्यवस्था राजतन्त्रविरुद्ध उभिनुपर्‍यो । कहिल्यै प्रजातन्त्र प्राप्तिका निम्ति त कहिल्यै जनताको बहुदलीय शासन व्यवस्थासहितको गणतन्त्र स्थापनाका निम्ति ।

अब त आन्दोलन र लडाइका शृंखलाहरु समापन गरेर देशको विकास र समृद्धिको यात्रा तय गर्नुपर्ने बेला फेरि यी लुटेराहरुको भ्रष्टतन्त्रविरुद्ध लड्नुपर्ने अवस्था सिर्जना भएको छ । भ्रष्टाचारविरुद्धको लडाइँ सारा नेपालीको सहभागिताबाट मात्रै सफल पार्न सम्भव छ । त्यो लडाइँ अब हाम्रै पुस्ताको काँधमा छ । प्रत्येक नागरिकको प्रत्यक्ष सहभागिताबाट मात्रै सम्भव छ ।

त्यसैले बेला भइसक्यो मित्र ! अब त उठ्नैपर्छ । नैतिकतामा खडेरी परेकाहरुका विरुद्ध राष्ट्रव्यापी अभियानको थालनी गरेर त्यसको सामना गर्न सक्ने आँट, साहस र सामर्थ्य जुटाउनैपर्छ । आँखैअगाडि देश लुट्दा कायर भएर निरीह जीवन बिताउनुभन्दा भावि सन्ततिका निम्ति पनि सोच्ने बेला आइसकेको छ ।

हजारौं सहिदहरुको रगत, श्रमिकहरुको पसिना, करोडौं नेपालीको संघर्षबाट निर्मित एउटा संविधान छ हामीसँग । भन्न त यही संविधानलाई विश्वको दोस्रो उत्कृष्ट संविधान भनिएको छ । तर, यही उत्कृष्ट भनिएको संविधानले त जनतालाई पेटभरि खान दिएको छ न त पूरा शरीर ढाक्ने कपडा दिएको छ । केही टाठाबाठा वर्गका लागि भने घुमीफिरी करोडौं कुम्ल्याउने दस्तावेज बनेको पक्कै पनि छ । अचेल त झन् लुटपाट र ठगी गर्नकै लागि नीतिगत रुपमा निर्णय गरेर भ्रष्टाचार गर्न पाइने साधन बनेको छ संविधान ।

हेर कान्छा ! अब चुप लागेर बस्नु हुन्न । यसरी आँखैअगाडि देश लुटेको देख्दादेख्दै मुकदर्शक बनेर बस्न सकिँदैन । अन्याय गर्नु अपराध हो भने चुप लागेर सहेर बस्नु झन् ठूलो अपराध हो । आज राजनीतिज्ञ भनाउँदाहरु शुद्धसँग ‘क‑ख’ लेख्न नजान्ने । बालबालिकाको हातमा आ‑आफ्ना पार्टीका झण्डा र घोषणापत्र, वर्षौंदेखि एकै ‘ताउलाको भात’ र ‘नाउलाको पानी’ पिएर बाँचेका दाजुभाइलाई अलग्याएर जिन्दावाद र मुर्दावादको नारा सिकाइरहेका छन् । यो पनि भन्दैछन् कि ‘समृद्धि सम्भव छ, हाम्रै पालामा’ ।

नागरिकले मौनधारण गरेर बसेको वर्षौं बितिसक्यो । अब त चिन्तन गर्ने बेला भइसक्यो । जुरुक्कै उठ दाजु ! एकपटक यी समृद्धिको नारा लगाइरहेकाहरुको जीवनशैली हेर्नकै लागि भए पनि उठ । यिनीहरुको यत्रो खानपान, रहनसहन, घरघडेरी, गाडी, बंगालाहरु रातारात कहाँबाट आए ? कसरी निर्माण भए ? खोजी गर्ने बेला भइसक्यो । वर्षौंदेखि मजदुरी गरेर कमाएको हाम्रो धन कहाँ गयो ?

५०‑५५ डिग्रीको तापक्रम सहेर विदेशबाट हाम्रा दाजुभाइ र दिदीबहिनीले पठाएको रेमिट्यान्स कहाँ गयो ? दिनभरि लगाएर दुई कप चिया, चार बट्टा चुरोट अनि दुई‑चार पाकेट चाउचाउ र चिउरा बेचेर तिरेको कर कहाँ गयो ?

अब त यिनीहरुलाई नङ्ग्याउने बेला भइसक्यो । यो जिम्मेवारी आजका युवापुस्ताको काँधमा छ । त्यसैले कायर भएर बस्नै हुन्न । चुनौतीसँग डटेर सामना गर्दै भावी पुस्ताको सुरक्षित भविष्यका निम्ति लड्नैपर्छ ।  मुलुकको यस्तो दुर्दशा र हविगत बनाउनुका पछाडि एक‑दुई जना राजनीतिक व्यक्ति र एक दुईवटा दल मात्र हुँदै होइनन् । च्याउ जस्तै उम्रेका नेपालका साना, मझौला र ठूला पार्टीहरुदेखि यिनीहरुका भ्रातृ संगठन र कमिसन र घुसघोर कर्मचारीतन्त्रकै कारण विकास गति अवरुद्ध भएको हो ।

कुनै एउटा राजनीतिक विचार र दर्शनमा आस्था राख्नु गलत होइन । गल्ती त त्यो हो, जसले दुनियाँलाई लुटेर बाँचेको एक भ्रष्ट नेताका पछाडि भेडाको जस्तो बथान लगाएर वाह वाह गर्नु । हामी यतिसम्म पनि मनन गर्दैनौं कि आज राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै राज्यको ढुकुटीबाट राजनीतिक कार्यकर्ताका नाममा दानापानी छर्किनेले भोलि हाम्रै मुखको गाँस काटेर आफ्ना सन्ततिको पेट पनि त भर्न सक्छन् । सारा संसारलाई लोभ्याउने हाम्रा डाँडाकाँडा र हिमशृंखला लाखौं पर्यटकको पर्खाइमा बसेका छन्, ती भत्काएर बेच्न पनि सक्छन् ।

विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने लुम्बिनी (गौतम बुद्ध) आफैं अशान्तिको भूमरीमा भाँसिएका छन्, स्वर्गीय आनन्द दिन सक्ने प्राकृतिक रुपमै सुन्दर र मनमोहक पहाडका बस्ती र मधेसका फाँटहरु औंशीको रात जस्ता अँध्यारा देखिन थालिसकेका छन् । हामी फगत वीर पुर्खाले रचेको गर्विलो इतिहास पढेर चित्त बुझाइरहेका छौं । आखिर यस्तो कहिलेसम्म चलिराख्छ ? विश्वले सारा ग्रह उपग्रहहरुको अध्ययन अनुसन्धान गर्दै उतैतिर बस्ती बसाल्दै छ । तर, हामी भने अझै बिहान‑बेलुकाको दुई छाक र एकसरो लत्ताकपडाका निम्ति विदेशी भूमिमा श्रम बेचिरहेका छौं ।

हो, हाम्रा पुर्खाहरुले गर्व गर्न लायकका तमाम कर्म गरेका थिए र त्यसकारण दुनियाँका सामु छाती पिटेर आफ्नो इतिहासको प्रशंसा गर्छौं । तर, तत्कालका लागि के छ र हामीसँग त्यस्तो गर्व गर्न लायक चिज ? सामान्य रुघाखोकी र ज्वरो आउँदा प्यारासिटामोल नपाई मर्नु पर्ने स्थिति छ । स्नातक तह पढेको एक जना युवाले बिरामी बिदाको निवेदनसमेत लेख्न नजान्ने, सामान्य तमसुक र भरपाइसमेत बनाउन नजान्ने हाम्रो शिक्षा प्राणाली छ । के यस्तै व्यवस्था ल्याउनका निम्ति लडेका होलान् त मदन भण्डारी र बिपी कोइरालाहरु ?

राजनीतिको नाममा भ्रष्ट नेताको चाकडी गरेर आफ्नो कद बढ्छ भन्ने सोच राख्नु बिल्कुलै गलत मानसिकता हो ।

हो, मदन भण्डारीको प्रखरताको बाजा बजाएर आजका कम्युनिस्ट भनिनेहरुले मोजमस्ती र अलिसान महलहरुमा स्वर्गीय आनन्द लिइरहेका छन् । अनि बिपी कोइरालाको त्याग, तपस्या र आदर्श बेचेर कयौं कांग्रेसजनका झुपडी रातारात दरबारमा परिणत भएका छन् । कोही मधेसी जनताका एजेन्डा बेचेर ‘मौ’ (सम्पन्न परिवार) भए । कोही सर्वहारा वर्गको उत्थानका निम्ति कुर्लनेहरु आफैं हुतिहारा भए । भोट हालेर जिताउने हामी नागरिक यिनीहरुलाई शासन र सत्तामा पुर्‍याउने भर्‍याङ मात्र भयौं । त्यसैले, नैतिकतामा खडेरी परेकाहरुलाई एक‑पटक नेपाली जनताले शपथ सिकाउनैपर्छ । जबसम्म मुलुकमा चाहे दुई रुपैयाँको होस्, चाहे दुई अर्बको भ्रष्टाचार होस्, रोक्न सकिएन भने विकास र समृद्धि भन्ने केवल सपनामा सीमित हुनेछ ।

हिजो हामीभन्दा अगाडिका पुस्ताले तत्कालीन समस्या र चुनौतीको सामनाका निम्ति आफ्नो जीवन सुम्पिए । आज पनि त्यसैगरी युवापुस्ताले यी लुटेरा र भ्रष्टाचारीको  डटेर सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हरेक व्यक्तिको निजी जीवन र उसका जन्मसिद्ध अधिकार अनि उसको सामाजिक दायित्व मुलुकको शासन व्यवस्था र राजनीतिक प्रणालीसँग जोडिएको हुन्छ ।

त्यसैले जबसम्म मुलुकमा स्वच्छ, पारदर्शी र नैतिकतासहितको राज्य व्यवस्था र निष्पक्ष र इमानदार राजनीतिक प्रणालीको सुरुवात हुँदैन, तबसम्म कुवाको भ्यागुतो कुवामै रहन्छ, जनताको जीवनशैलीमा कुनै पनि सुधार हुन सक्दैन । राजनीतिको नाममा भ्रष्ट नेताको चाकडी गरेर आफ्नो कद बढ्छ भन्ने सोच राख्नु बिल्कुलै गलत मानसिकता हो ।

भर्खरै मात्र नयाँ वर्षमा प्रवेश गरेका छौं । यसै अवसरमा नेपालका हरेक युवाले एउटा राष्ट्रिय संकल्प गरौँ कि म आफू पनि गलत कर्म गर्ने छैन र कसैले गरेको गल्ती, अपराध र अत्याचारपूर्ण हर्कतको पनि खुलेर विरोध गर्नेछु, चुप लागेर बस्ने छैन भनेर ।

अहिले विकासको बाधक र प्रमुख शत्रु भनेको भ्रष्टाचार मात्रै हो । आजका युवा इतिहासको एउटा यस्तो संगिन घडीमा छौं । यी भ्रष्टाचारीविरुद्ध लेख्न जान्नेले लेखेर, बोल्न जान्नेले बोलेर, गाउन जान्नेले गाएर विरोध गरौँ । हरेक नागरिकले आफूसँग भएको क्षमता भ्रष्टाचारविरुद्ध सदुपयोग गरौं । कोही पनि चुप नबसौं । हिजो त एउटा राजा थिए र कुम्ल्यायो भन्थ्यौं । तर आज त स्थानीय तह, प्रदेश र संघीय सरकारमा छोटे राजाहरुको बिगबिगी छ । जुम्लाको मार्सी भात नभई ज्युनार नगर्ने, चिल्ला गाडी र रातो कार्पेट नभई सवार नगर्ने कैयौं राजा छन् । त्यसैले यी छोटे राजाहरुलाई खाजा ख्वाउने जिम्मेवारी आजको युवापुस्ताको काँधमा छ ।

मुलुकको वर्तमान परिस्थिति र नवनियुक्त राजा‑महाराजाहरुको कुकृत्यको भण्डाफोर गर्ने गायक पशुपति शर्माहरुलाई आफ्नो सिर्जनामा रोक लगाइन्छ । मन्त्रीलाई सम्पत्ति विवरण सोधेकै भरमा पत्रकारहरुले जागिरबाट हात धुनुपर्छ ? भ्रष्टाचारीको विरोध गरेकै भरमा  नागरिक थुनिन्छन्, कुटिन्छन्, अनि तपाईं हामीचाहिँ अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतन्त्रको अभ्यास ठानिरहने कहिलेसम्म ?

आज विश्वभर नोवेल कोरोनाभाइरस (कोभिड १९)को कहर चलिरहँदा यसको प्रभाव र जोखिम हाम्रो मुलुकमा कम छैन । लकडाउनको मर्कामा परेर आहार नपाएका नागरिकका निम्ति अभिभावक बनेर प्रस्तुत हुनुपर्ने सरकार सौतेनी व्यवहार गर्दै हिँडेको छ । मधेसमा शीतलहरले कठ्यांग्रिएका बस्तीदेखि पहाडमा महाभूकम्पले दिएको घाउ अनि बाढीपीडितका निम्ति विदेशी भूमिबाट गाँस काटेर राहत पठाइएको हुन्छ तर संविधानमा लेखिएको गास, बाँस र कपासजस्ता जन्मसिद्ध अधिकारबारे सरकार बेखबर छ । सेवा सुविधाको विकेन्द्रीकरणका लागि ल्याइएको संघीयता गाउँ‑गाउँमा छोटे राजा उत्पादन गर्ने कारखाना बनेको छ ।

त्यसैले अबेर भइसक्यो बुवा ! अब त उठ्नुस् ! भावी सन्ततिको सुरक्षित भविष्यका लागि एकपटक भ्रष्टाचारविरुद्धको अभियानमा जुट्नुस् !

जीवनमा को कति उमेरसम्म बाँच्यो भन्ने कुराको कुनै अर्थ हुँदैन । तर, कुन व्यक्ति कसरी बाँच्यो भन्ने कुराको ठूलो अर्थ र स्मरण रहन्छ । त्यसैले जीवन सजिलै गुमाउन सकिन्छ तर अत्याचार भन्ने कुरा रत्तिभर स्वीकार गर्न सकिने छैन । आफूले देखेसुनेका हरेक विकृति, विसंगतिविरुद्ध उभियौँ ।

कुनै राजनीतिक दल, विचार वा सिद्धान्तप्रति निष्ठावान् व्यक्तिले पनि आफू आबद्ध संगठनभित्रका गलत गतिविधि र क्रियाकलापको खुलेर आलोचना गर्ने हो भने दर्जनौं समस्या समाधान हुन्छन् । त्यसैले कुनै राजनीतिक दल वा व्यक्तिको ‘झोले’ भएर बाँच्ने होइन । आँखाले देखेका र कानले सुनेका हरेक गलत पात्र र प्रवृत्तिलाई सामाजिक बहिष्कार गरौं ताकि कसैले अपराध गर्नुभन्दा पहिले सय पटक सोचोस् । जबसम्म इमानदार राजनीति र बफादार राजनीतिज्ञहरुको जन्म हुँदैन, तबसम्म सामाजिक न्याय र सुशासनका कुरा एकादेशका कहानी मात्र हुनेछन् ।

मन, वचन र कर्मका साथ एकजुट भएर प्रमाणित गरेर देखाऔँ कि सलाइको काँटीमा आगो अन्तर्निहित हुन्छ तर बट्टाको बारुदमा घोटिएपछि मात्र ज्वाला उत्पन्न हुन्छ । त्यही ज्वाला बन्नुपर्छ आजको युवापुस्ता ।

भनिन्छ ‘हरेक मुलुकको धर्तिले आफ्नो हैसियतअनुसारको नेता जन्माउँछ या हरेक नेताले आफ्नो औकातअनुसारको समाज बनाउँछ ।’ तर, हामी हाम्रो आवश्यकताअनुसारको नेता जन्माऔँ ।

प्रकाशित समय १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु