गृहपृष्ठ लकडाउनले रोजीरोटी गुमाएकालाई १६ दिनदेखि खाना खुवाउँदै एकल महिला समूह
लकडाउनले रोजीरोटी गुमाएकालाई १६ दिनदेखि खाना खुवाउँदै एकल महिला समूह
मानव अधिकारको लागि महिला, एकल महिला समूहले लकडाउनका कारण रोजीरोटी गुमाएकाहरूलाई १६ दिनदेखि खाना खुवाउँदै आएको छ । काठमाडौँको बूढानीलकण्ठ ६ हात्तीगौँडामा केन्द्रीय कार्यालय रहेको समूहले वैशाख ३ गतेदेखि लगातार खाना खुवाउन थालेको हो ।
समूहको केन्द्रीय कार्यालयबाट बिहीबार मात्र १ हजार ३०४ जनाले खाना खाएका छन् । कार्यालयमा भीड नहोस् भनेर परिवारका एक जनामात्र सदस्यलाई आउन र खाना लिएर जान आग्रह गरिएको समूहकी संस्थापक अध्यक्ष लिली थापाले जानकारी दिइन् । ‘सुरुमा कसैले खालान् कि नखालान् भन्दै ५० देखि ७० जनालाई पुग्नेमात्र पकाएका थियौँ, ७० जनाले खाना लगेपछि खाने रहेछन् भन्ने लाग्यो, भोलिपल्ट अलि बढाएर पकायौँ,’ उनले भनिन्, ‘आजका दिनसम्म आइपुग्दा खाना खानेको संख्या १३ सय नाघेको छ ।’
बिहीबारसम्म समूहले ११ हजार ६८६ छाक खाना खुवाएको छ । समूहले दाल, भात र तरकारी खुवाउने गरेको छ । खाना बनाउन बिहानैदेखि समूहका कर्मचारी र २५ जना स्वयंसेवक जुट्ने गर्छन् । यसको सबै व्यवस्थापन समूहकी कर्मचारी अमिसा थिङ तामाङले गरेकी छन् । उनका अनुसार बिहीबार १२ बोरा अर्थात् ३०० किलो चामलको भात पाकेको छ । ‘डेढ सय किलो तरकारी र ३० किलो दाल पाकिरहेको छ,’ उनले भनिन्, ‘हिजो १ हजार २०४ जनाले खाना लगेका थिए, खाना लानेको संख्या निरन्तर बढिरहेको छ, त्यसैले हिजोभन्दा अलि बढी पकाएका छौँ ।’ खाद्य सामग्री जिम्मा लिने, नपुगेको किन्ने, स्वयंसेवक र अन्य कर्मचारीलाई कामको जिम्मेवारी तोक्ने, खानापानीलगायतको व्यवस्थामा बिहानदेखि बेलुकासम्म थिङ आफैं जुट्छिन् ।
संस्थापक अध्यक्ष थापाका अनुसार लकडाउनका कारण अफ्ठ्यारोमा परेका विद्यार्थी, एकल महिला, सुत्केरी, मजदुर, बूढाबूढी, अपांगलगायतले खाना लगिरहेका छन् । एकल महिला समूहका जिल्ला शाखालगायतले तरकारीलगायतको जोहो गरिरहेका छन् । सुनाकोठी, भक्तपुर, धादिङ, धापाखेल, साँखु, धर्मस्थली, मच्छेगाउँलगायतका ठाउँबाट समूहका सदस्यले तरकारी लिएर आउने गरेका छन् । बिहीबार पनि सैनिक एकल महिला तथा घाइते परिवार समूहका तर्फबाट कोषाध्यक्ष शान्ति महर्जनले एक गाडी तरकारी लिएर आएकी थिइन् । खाना पकाउन सोही समूहका सदस्यहरू उदयपुरका नहेन्द्र निरौला, सुरेन्द्र तामाङलगायत खटिएका छन् ।
समूहलाई खानाका लागि अहिलेसम्म स्थानीयबासी, व्यापारी, व्यवसायी, समाजसेवी, जनप्रतिनिधिलगायतले सहयोग गरिरहेका छन् । ‘हामीले अहिलेसम्म खाद्यान्न किन्नुपरेको छैन,’ संस्थापक अध्यक्ष थापाले भनिन्, ‘खुवाउन थालेयता कुनै कुराको अभाव हुन पाएको छैन, धेरै सहयोगीको साथ पाएका छौँ ।’
ग्यास, चामल, दाल, तेल र केही रकमका साथै स्वयंसेवक स्थानीयबासीबाट पनि ठूलो सहयोग भएको थापाले जानकारी दिइन् । ‘समूहले केन्द्रीय कार्यालय हात्तीगौँडामा खोल्नु हाम्रो भाग्यको कुरा हो,’ खाना खान आएका एक व्यक्तिको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘यहाँहरूकै कारण आज हामी गरिबले भोकै मर्नुपर्ने अवस्था टरेको छ ।’
खाद्य सामग्री संकलनका लागि एनजिओ फेडेरेसन काठमाडौँका अध्यक्ष प्रदीप डंगोलले समूहलाई सहयोग पुर्याएका छन् । ‘म यहीँको भएकाले स्थानीयबासीसमक्ष समूहलाई आवश्यक परेको कुरा सामाजिक सञ्जालमा राखेर सहयोग गरिरहेको छु,’ त्यही सूचनाको भरमा धेरैले सहयोग गरिरहेका छन् ।’
समूहको काममा स्थानीयदेखि संघीय जनप्रतिनिधिसम्मले सहयोग गरिरहेका छन् । ‘एउटा महिला समूहले यति धेरै काम गरिरहँदा भूकम्पका बेला च्याउसरी निस्किएका एनजिओ/आइएनजिओहरु अहिले के गरिरहेका छन्,’ हात्तीटारमा बिहीबार भेटिएकी संघीय सांसद शान्ति पाख्रिनले भनिन्, ‘गोजी भर्ने अवसर पाउने स्थितिमा मात्र सेवाभाव दर्शाउने भन्ने त हुँदैन होला ।’
यसअघि, समूहले देशभरका छहारी भवन क्वारेन्टाइन सेवाका लागि सरकारलाई उपलब्ध गराएको थियो । ‘विभिन्न जिल्लामा एकल महिला समूहका निम्ति बनाइएका १० वटा छहारी भवन सरकारलाई दिएका छौँ,’ संस्थापक अध्यक्ष थापाले भनिन्, ‘तर अहिलेसम्म प्रयोगमा भने आएको छैन ।’
स्थापनाको २५ वर्ष पार गरेको समूहले १४ जिल्लामा छहारी भवन निर्माण गरेको छ । एकल महिलाको आर्थिक, सांस्कृतिक र राजनीतिक अधिकारको लागि वकालत गर्दै आएको समूहले एकल महिलाका छोराछोरीको शिक्षा र सहकारीमा पनि लगानी गरेको छ । विभिन्न प्रदेशमा समूहका ६ वटा सहकारी सञ्चालनमा छन् । एक महिलालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुका साथै समूहले उनीहरूलाई रोजगारीका अवसर पनि जुटाइदिने गरेको छ ।
प्रकाशित समय २१:१० बजे





















