गृहपृष्ठ किराँत समाज सुधार दिवस : ७ बुँदे ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको ९० वर्ष

किराँत समाज सुधार दिवस : ७ बुँदे ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको ९० वर्ष

लोब्रेकुटी ।

किराँत धर्मावलम्बीले ‘सत्यधर्म मुचुल्का’ को पाठ पारायण एवं व्यवहारमा लागू गरी ९०औँ किराँत समाज सुधार दिवस मनाउँदैछन् । १९८८ साल वैशाख २४ गते पाँचथरको लोब्रेचौरमा १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सक्रियतामा किराँत धर्ममा सुधारका सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो ।

त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते देशभरका किराँत धर्मावलम्बीले समाज सुधार दिवस मनाउने गरेको विश्व ज्योतिष महासंघका उपाध्यक्षसमेत रहेका किराँत धर्मगुरु डा. चन्द्रकुमार शेर्माले जानकारी दिए ।

मुचुल्कामा किराँत मन्दिरमा रक्तबलि दिएर पूजा नगर्ने, न्वारान, विवाहलगायत किराँत धर्माललम्बीका संस्कारमा जाँड, रक्सी, मासु निषेध गर्ने, किराँतको बसोवास भएको प्रत्येक गाउँमा मन्दिर स्थापना गर्ने, किराँत लिपिमा मुन्धुम पढाउने पाठशाला खोल्ने उल्लेख छ । यस्तै छोरीको विवाह छिन्दा पैसा नलिने, किराँत समुदायमा बच्चा जन्मँदा पाँचदेखि सात दिनसम्म सूतक बार्ने, बाबुआमाको काजक्रिया १० दिनसम्म गरी ११औँ दिनमा चोखिने गरी समाज सुधारका बुँदा सार्वजनिक गरिएको थियो ।

एक वर्षमा अरु सुधारका तीन बुँदा थपिएको जानकारी पनि डा. शेर्माले दिए । थपिएका बुँदामा उत्तरायणन हुने माघ १ गते उँभौली, दक्षिणायन हुने साउन १ गते उँधौली पर्व मनाउने, र जहाँसुकै धाननाच ननाच्ने निर्णय पनि किराँत महासभाबाट भएको थियो ।

२०६८ को जनगणनाअनुसार १० लाख किराँत समुदाय देशभर बसोवास गर्छन् । पूर्वी पहाडी जिल्लामा किराँत समुदायको बाक्लो उपस्थिति छ । सुधारको घोषणा गरिएको शताब्दी वर्ष विशेष मनाउने गरी नयाँ सुधारका बुँदा तयार गर्ने गरी गृहकार्यसमेत सुरु भइसकेको धर्मगुरु डा. शेर्माले बताए । किराँत समुदायमा सुधारको घोषणा गर्ने महागुरु फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते पाँचथरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले १६औँ राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

यसैगरी १९८८ वैशाख २४ गते किराँत धर्मगुरुहरुको महासभा बसी ‘सत्यधर्म मुचुल्का’ जारी भएको पाँचथरको रानीटारको शिरमा रहेको लोब्रेकुटीमा २०७१ वैशाख २४ गते किराँत समाज सुधारस्तम्भ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अनावरण गरेका थिए । यो ठाउँलाई किराँत धर्मावलम्बीले पवित्र तीर्थस्थलका रूपमा मान्ने गर्छन् । महागुरु फाल्गुनन्द कुटी बनाइ तपस्या गरेको स्थलका रूपमा पनि यो ठाउँ परिचित छ । लोब्रेकुटी भएको स्थल रमणीय ठाउँमा रहेकाले धार्मिक पर्यटकीयस्थलका रूपमा समेत विकास गर्न सकिने किराँत समुदायका अगुवाको माग छ ।

प्रकाशित समय १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु