गृहपृष्ठ विकास निर्माणका काम धमाधम, २३ आयोजनाले लिए अनुमति
विकास निर्माणका काम धमाधम, २३ आयोजनाले लिए अनुमति
फाइल तस्बिर।
चैत र वैशाख विकास निर्माणको काम गर्ने उपयुक्त समय हो । तर यही बेला कोभिड- १९ को संक्रमण फैलिने त्रासका कारण सरकारले लडकडाउन गरेपछि देशभर विकास निर्माणको काम ठप्प प्रायः छ । ठूलो लगानी गरेर निर्माण थालिएका सडक, पुल र सार्वजनिक निकायका भवन अलपत्र छन् ।
एक महिना लामो लकडाउन नखुले पनि कैलालीमा विकास निर्माणका काम धमाधम सुरु भएका छन् । यसै साता मात्रै २३ वटा आयोजनाले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर काम सुरु गरेका छन् ।
सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि रोकिएका आयोजनाको काम सुरु हुँदा निर्माण व्यवसायी उत्साहित बनेका छन् । काम सुचारु भएपछि मजदुरहरुले पनि राहतको सास फेरेका छन् । सरकारले मापदण्ड बनाएर निर्माणका काम सुरु गर्न अनुमति दिएका कारण व्यवसायीलाई केही सहयोग पुगेको प्रशंसा कन्स्ट्रक्सन कैलालीका प्रबन्धक दीर्घराज जोशीले बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीबाट अहिलेसम्म रानीजमरा कुलरिया सिचाई आयोजना, हुलाकी राजमार्ग, समृद्ध तराई मधेस कार्यक्रम, गेटा मेडिकल कलेज, ६ लेन सडक आयोजना, चन्दनचौकी फूलवारी चौमाला सडक आयोजना, खुटिया नदी पुल, देवरिया बेहडाबाबा सडक सुरु भएका छन् । त्यस्तै खानेपानी, सिँचाई, जनताको तटबन्ध र केही पुलको काम सुरु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव बहादुर भण्डारीले बताए ।
बिहीबारसम्म २३ वटा आयोजना सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिइसकेका छन् । आयोजना सञ्चालन गर्न चाहिने आयोजना वा कम्पनीले श्रमिक तथा अन्य जनशक्तिलाई आवास र खानाको व्यवस्था गरेर बाहिरका कसैसँग पनि सम्पर्क गर्न नदिई कार्यस्थलमै राख्नुपर्ने वाध्यकारी व्यवस्था गरेको छ । त्यस्तै कामदारबीच व्यक्तिगत दुरी कायम गर्नुपर्ने, दिनहुँ स्वास्थ्य परीक्षण गर्नुपर्ने, मास्क, सेनिटाइजरको व्यवस्था हुनुपर्ने लगायतका नियम पालना गरेर काम गराउन निर्देशन दिएको प्रशासकीय अधिकृत भण्डारीले बताए ।
विकास निर्माणका काम तीव्र रुपमा अगाडि बढ्ने बेला लकडाउनका कारण धेरै विकासे आयोजनाको काम बन्द हुँदा थुप्रै आयोना समयमा पूरा नहुने निर्माण व्यवसायीले बताउँदै आएका छन् । अहिले कोरोनाले गर्दा धेरै विकासे आयोजनामा मजदुर र निर्माण सामग्रीको भने अभाव छ ।
प्रकाशित समय २१:४१ बजे

















