गृहपृष्ठ ‘राष्ट्रिय एकताका लागि बुद्धका उपदेश’

‘राष्ट्रिय एकताका लागि बुद्धका उपदेश’

gautam-buddha

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गौतमबुद्धको २५६४औँ जन्मजयन्तीको अवसरमा विश्वभरका बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

उनले पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रका गौरव एवं शान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको पवित्र दिनमा सबैमा एक आपसमा सहिष्णुता, सद्भाव, अहिंसा एवं विश्व शान्तिको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन् ।

शेरचनले शान्तिका अग्रदूत बुद्धका समतामूलक समाज निर्माणका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएका छन् ।

उनले आर्थिक समृद्धि, सामाजिक विकास एवं सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता एक प्रमुख शर्त रहेकाले बुद्ध जयन्तीको यस अवसरमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प साकार पार्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबै शान्तिप्रेमी दाजुभाइ दिदीबहिनीमा आह्वानसमेत गरेका छन् ।

सन्देशमा कोरोना भाइरसको महामारीका कारण विश्वभरि सिर्जित समस्यालाई नियन्त्रणमा लिन नेपाल सरकारले गरेको लकडाउन सफल बनेको बताउँदै उनले अझै पर्याप्त पिसीआर परीक्षणका माध्यमबाट संक्रमणको अवस्था पत्ता लगाइ यसको रोकथाम तथा नियन्त्रणमा विशेष भूमिका खेल्ने विश्वास लिइएको उल्लेख छ ।

बुद्ध दर्शन मानवजातिको मार्गनिर्देशक : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुद्धका विचार र उपदेशले आज बुद्ध दर्शनका रूपमा बौद्ध धर्मावलम्बीलाई मात्र नभइ समग्र विश्व मानवजातिलाई नै मार्गनिर्देश गरेको बताएका छन् ।

२५६४औँ बुद्धजयन्तीका अवसरमा प्रकाशित शुभकामना सन्देशमा उहाँले सिद्धार्थ गौतमबुद्धकै कारण विश्व मानचित्रमा नेपाललाई बुद्धको देश र बुद्धदर्शनको उद्गमस्थलका रूपमा परिचित गराएको उल्लेख गरे ।

इसापूर्व ५६३ मा राजा शुद्धोधन र रानी मायादेवीका सन्तानका रुपमा लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतमबुद्ध २१ वर्षको उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेको स्मरण गराउँदै मुख्यमन्त्री गुरुङले सन्देशमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् ।

यतिबेला विश्व मानवजातिकै अस्तित्वका लागि चुनौती बनेर आएको साझा शत्रु कोरोना भाइरस रोगविरुद्धको लडाइँ निरन्तर जारी रहेको बताउँदै मुख्यमन्त्री गुरुङले सन्देशमा यस लडाइँमा अझै केही समय धैर्यता र मजबुत एकताका साथ जुध्न एवं उच्च सतर्कता र तयारीमा जुट्न आजको ऐतिहासिक दिनले हामी सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

सन्देशमा उनले विश्वमा दुःख छ, दुःखको कारण छ र दुःख निवारण गर्न सकिन्छ भन्ने बुद्ध दर्शनबाट प्रेरित हुँदै यस अवसरमा शान्ति र सामाजिक न्यायसहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक पार्ने अभियानमा आफ्नो स्थानबाट निष्ठापूर्वक लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित समय ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु