गृहपृष्ठ इराकमा पूर्व गुप्तचर प्रमुख प्रधानमन्त्री निर्वाचित

इराकमा पूर्व गुप्तचर प्रमुख प्रधानमन्त्री निर्वाचित

Mustafa al-Kadhimi pm of iraq

इराकका पूर्व गुप्तचर प्रमुख मुस्तफा खादिमी नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । अमेरिका पक्षीय मानिने खादिमीलाई इराकको संसदले बिहीबार प्रधानमन्त्रीमा निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकाको न्युयोर्क टाईम्सले पनि खादिमीको सम्वन्ध अमेरिकासँग धेरै राम्रो रहेको र उनी क्षमतावान व्यक्ति भएको जनाएको छ । तत्कालीन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजिनामा दिएपछि लामो समयपछि उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

इराकमा लामो समयदेखि कामचलाउ प्रधानमन्त्रीको भरमा सरकार सञ्चालन भइरहेको थियो भने सरकार विरोधी प्रदर्शनहरु पनि भइरहेका थिए । प्रदर्शनकारीहरुले रोजगारी र सुशासनको माग गरेका थिए । उनीहरुले भ्रष्टाचार अन्त्य गर्न र सरकारका काम कारबाही राम्रो बनाउन आग्रह गर्दै आएका थिए ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि खादिमीले इराकको सुरक्षा, समृृद्धि र उत्थानका लागि संसदले आफुलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत् उनले सबैभन्दा पहिलो प्राथमिकता कोरोनाभाइरसविरुद्धको लडाईँ हुने पनि उल्लेख गरेका छन् ।

इराकमा कोरोनाभाइरस संक्रमितको संख्या दुई हजार ४८० पुगेको छ भने १०२ व्यक्तिको विश्वव्यापी प्रकोपका रूपमा फैलिएको यस भाइरस संक्रमणका कारण मृत्यु भएको छ । (रासस)

प्रकाशित समय २३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु