गृहपृष्ठ नर्भिक हस्पिटलसँग स्पष्टीकरण माग
नर्भिक हस्पिटलसँग स्पष्टीकरण माग
काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ । स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपिडी सेवामा ७५० लिएको भेटिएपछि जवाफ माग गरिएको हो । लकडाउनअघि हस्पिटलले सेवाग्राहीबाट आकस्मिक सेवाका लागि एक हजार २५० र बहिरंग सेवाका लागि पाँच सय रुपैयाँ लिँदै आएको थियो ।
लकडाउनका कारण सरकारले नै बहिरंग सेवा बन्द गर्न निर्देशन दिएपछि आकस्मिक बहिरंग सेवा सञ्चालन गरेर ७५० रुपैयाँ लिएको अनुगमनका क्रममा भेटिएको उनले बताए । एक हजार २५० बाट ७५० रुपैयाँमा झारिएको वा पाँच सयबाट सात सय रुपैयाँ लिइएको हो भन्ने विषयमा लिखित जवाफ माग गरिएको उनले जानकारी दिए । (रासस)
प्रकाशित समय २०:१२ बजे

















