गृहपृष्ठ ज्यान मार्ने धम्कीपछि स्वास्थ्य चौकी बन्द

ज्यान मार्ने धम्कीपछि स्वास्थ्य चौकी बन्द

फाइल तस्बिर

खजुरा गाउँपालिका- ७, सोनपुरस्थित स्वास्थ्य चौकीमा ताला लगाइएको छ । कार्यालय परिसरमै आएर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ज्यान मार्ने धम्की दिएपछि मंगलबारदेखि स्वास्थ्य चौकी बन्द गरिएको हो ।

स्वास्थ्य चौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि यसअघि स्वास्थ्यकर्मी र कर्मचारीले प्रहरीसँग सुरक्षा माग गरेका थिए ।
उनीहरुले कर्मचारीलाई कार्यालयबाहिर भेटे हातखुट्टा भांँच्नेसम्मको धम्की दिएको र कार्यालयमा आई कर्मचारीमाथि अभद्र व्यवहार गरेको स्वास्थ्य चौकी इञ्चार्ज सुदीप पौडेलले बताए ।

कार्यालय परिसरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएकाले सुरक्षाको प्रत्याभूति दिलाउन धम्की दिनेमाथि कानूनी कारवाही गर्न यसअघि इलाका प्रहरी कार्यालय धनौलीमा लिखित निवेदन दिइएको थियो ।

चौकी इञ्चार्ज पौडेलका अनुसार स्वास्थ्य चौकीमा नजन्मेको शिशुलाई स्वास्थ्य चौकीमै जन्मेको प्रमाणीकरण गरिदिन दवाब दिएपछि उक्त दवाब आफूले अस्वीकार गर्दा रफी भाटसहितका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । वैशाख २६ गते स्वास्थ्यचौकीमा प्रसूति गराउन आएकी भाटकी श्रीमतीलाई स्वास्थ्य चौकीका कर्मचारीले सुत्केरी व्यथा नलागेको भन्दै घर फर्काएका थिए ।

घरमै सुत्केरी भए पनि स्वास्थ्य चौकीमै शिशु जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनको समूहले कार्यालयमा आएर कर्मचारीमाथि दुर्व्यवहार गर्नाका साथै ज्यान मार्ने धम्की दिएको थियो ।

कोरोना भाइरसको संक्रमणका आशंकामा स्वास्थ्यकर्मीले धमाधम स्वाब संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्य चौकीको सेवा प्रभावित भएको छ । इप्रका धनौलीका इञ्चार्ज इन्स्पेक्टर  पोषणराज थपलियाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित समय २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु