गृहपृष्ठ सबै संक्रमित निको भएपछि सुदूरपश्चिममा स्वास्थ्य सेवा नियमित

सबै संक्रमित निको भएपछि सुदूरपश्चिममा स्वास्थ्य सेवा नियमित

सुदूरपश्चिम प्रदेशका अस्पतालमा मंगलबारदेखि ओपीडीसहित नियमित स्वास्थ्य सेवा सुचारु भएको छ । लकडाउनसँगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएको सुदूरपश्चिमका सरकारी अस्पतालहरुले आजदेखि स्वास्थ्य सेवा नियमित गरेका हुन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले सबै अस्पतालहरुलाई ओपीडी सेवा सुचारु गर्न निर्देशन गरेपछि अस्पतालमा बन्द रहेका सेवाहरु सुचारु भएका हुन् । निर्देशनालयले संघीय मन्त्रालयअन्तर्गत सञ्चालित, प्रदेश सरकार मातहत सञ्चालित, स्थानीय तहअन्तर्गत सञ्चालित स्वास्थ्य संस्था र अस्पताल तथा निजी र गैरसरकारी क्षेत्रबाट सञ्चालित अस्पतालहरुलाई आइतबार ओपीडी सेवा सञ्चालन गर्न लिखित निर्देशन गरेको थियो । योसँगै स्वास्थ्य सेवा सुरु भएपछि विरामीहरूलाई राहत मिलेकाे छ ।

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालले पनि कोरोना भाईरसको संक्रमणपछि बन्द रहेका बहिरंग (ओपीडी) सेवा आजदेखि सञ्चालन गर्ने गरेको छ । प्रादेशिक अस्पतालका डा. प्रमोद जोशीले संक्रमणपछि बन्द रहेका सम्पूर्ण सेवाहरु आजदेखि सुचारु भएको जानकारी दिए । उनले आवश्यक स्वास्थ्य उपकरण र सामाजिक दुरी कायम गरी अस्पतालले सेवा सुरु गरेको बताए ।

यसअघि सेती अस्पतालले कोरोना भाईरसको महामारीलाई लिएर चैत ११ गतेदेखि ज्वरो र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो । लामो समयदेखि ओपीडी र खोप सेवा प्रभावित भएपछि त्यसको मारमा अन्य विरामी परेका कारण आजदेखि प्रदेशका नौ वटै जिल्लामा सम्पूर्ण स्वास्थ्य सेवा सुरु भएको क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । उनले अन्य स्वास्थ्य सेवा सुरु नहुदाँ दादुरा र दीर्घ रोगीलाई समस्या हुँदै आए पनि अब विस्तारै सहज हुने दावी गरे ।

सुदूरपश्चिमका सबै संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका र नयाँ संक्रमितसमेत नदेखिएपछि नौ वटै जिल्लामा सवै स्वास्थ्य सेवा सुरु गरिएको हो ।

प्रकाशित समय २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु