गृहपृष्ठ लकडाउनले ट्राफिकमैत्री सडक निर्माण र मर्मतमा सहज

लकडाउनले ट्राफिकमैत्री सडक निर्माण र मर्मतमा सहज

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवधिमा पनि ट्राफिकमैत्री सडक निर्माण र मर्मतको कामलाई जारी राखेको छ । महाशाखाले काठमाडौँ उपत्यकाको भित्री सडकबाट मुख्य सडकमा निस्कने जक्सनमा स्टप, लुक र गो लेखिएको संकेत बोर्डहरु २५० स्थानमा राखेको छ ।

शंकमुल, बानेश्वर, कोटेश्वर, थापागाउँ, अनामनगर, गौशाला डिल्लीबजार, पुतलीसडक, कमलपोखरी, लाजिम्पाट, सो¥हखुट्टे, कालीमाटी, कलंकी, जवालाखेल र चापागाउँ लगायतका स्थानमा यस्ता बोर्ड राखिएको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी र कामदारबीच सामाजिक दुरी कायम गरेर उच्च सर्तकता र सुरक्षा अपनाउँदै काम भइरहेको महाशाखा प्रमुुख एसएसपी भीम प्रसाद ढकालले बताए ।

सवारी चालकले भित्री सडकबाट मुख्य सडकमा निस्किदा पर्ख, हेर र जाउ भन्ने ट्राफिक नियमको पालना नगर्दा हुने दुर्घटना तथा ट्राफिक जामलाई न्युनीकरण गर्न र चालकलाई स्वअनुशासन बनाउन यस्ता बोर्डहरु उपयोगी हुने एसएसपी ढकालको भनाइ छ । सामाजिक उत्तरदायित्वअन्तर्गत नाडा अटोमोबाइल्स एसोेसियसन अफ नेपालले ५० स्थान र ग्लोबल आईएमई बैंकले २०० थानका लागि उक्त बोर्डहरु महाशाखालाई हस्तान्तण गरेका हुन् ।

सडकको काम पनि धमाधम

अहिले सीतापाईला-रामकोट, स्वयम्भु अजिमा हलअगाडि, भैंसीपाटी-छम्पी, लुभु-लामाटार, चाबाहिल उकालो, जोरपाटी-बागमती करिडोर खण्डमा सडक निर्माण तथा कालोपत्रेको काममा समन्वय र सहजीकरण भइरहेको महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी थलीबाट साँखु, नाम्गेल, जोरपाटी-गुहेश्वरी, खानी विभाग-गल्कोपाखा, चुच्चेपाटी, पुतलीसडक, अष्ट्रेलियन दूतावासअगाडि, चाबाहिल-मित्रपार्क खण्डमा ढल, खानेपानी तथा फुटपाथ निर्माण, गौशाला-तिलगंगा, सेतोपुल-डिल्लीबजार र सेतोपुल-पुरानो बानेश्वर खण्डमा रोड मार्किङ भइरहेको छ । इमाडोल-टिकाथली सडकमा पुल निर्माण र कपनको एनसेल चोक-देउवा चोक सडकखण्डमा टेलिकमको काम, चुच्चेपाटी-चाबहिल खण्डमा मेलम्ची र विद्युतको काममा समेत ट्राफिक प्रहरीले समन्वय र सहजीकरण गरिरहेको एसपी श्रेष्ठले बताए ।

लकडाउनको समयमा सडक खाली भएको र गाडी नरोकी काम गर्न सहज हुने भएकाले ट्राफिकमैत्री सडक निर्माण र मर्मतको लागि सरोकारवाला निकायहरुसँग नियमित समन्वय र सहकार्य भइरहेको महाशाखाले जनाएको छ । ट्राफिक महाशाखा र सडक विभागले काठमाडौँ उपत्यकाका धेरै स्थानमा रोड मार्किङको काम सम्पन्न गरिसकेको छ ।

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु