गृहपृष्ठ सीमामा सशस्त्र प्रहरी खटिएपछि दार्चुलावासी खुसी, अतिक्रमण रोकिने विश्वास
सीमामा सशस्त्र प्रहरी खटिएपछि दार्चुलावासी खुसी, अतिक्रमण रोकिने विश्वास
बीओपीका लागि छाङरूभन्दा कौवा उपयुक्त स्थान भएको स्थानीयको भनाइ
राज्यको कमजोर उपस्थिति रहेको कालापानीनजिकै दार्चुलाको व्यास गाउँपालिका- १, छाङरू (गागा)मा सरकारले पहिलोपटक सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेपछि जिल्लावासी खुसी भएका छन् । छ महिना मानवविहीन हुने यो क्षेत्रमा बाह्रैमास सशस्त्र प्रहरी बस्ने भएपछि सीमा अतिक्रमणसमेत रोकिने जिल्लावासीको विश्वास छ ।
समुद्री सतहबाट तीनदेखि पाँच हजार मिटर उचाइसम्म रहेको व्यास गाउँपालिकामा अब सशस्त्र प्रहरीको नियमित गस्ती हुने छ । सरकारले पहिलो चरणमा व्यासको छाङरूस्थित गागामा बीओपी स्थापना गर्ने गत मंसिर निर्णय गरेको थियो । तर भवनलगायत पूर्वाधार अभाव र बाटोघाटोसमेत नहुँदा सशस्त्र प्रहरीलाई व्यास पुर्याउन सकिएको थिएन । गत शुक्रबार भारतले एकाएक नेपाली भूमि, कालापानी लिपुलेक हुँदै चीनको सीमा जोड्ने गरी निर्माण गरेको सडकको उद्घाटन गरेपछि सीमा सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी पठाएको हो ।
विगतमा छ महिना मात्र नेपाल सरकारको प्रतिनिधिका रुपमा नेपाल प्रहरीको मात्रै उपस्थिति हुने गरेको थियो । व्यास गाउँपालिका–१ छाङरूको गागा र तिंकरको छायालेकमा नेपाल प्रहरी छ महिना बस्दै आएको थियो । स्थानीयवासीको कुञ्चा सदरमुकाम खलंगा सरेसँगै उनीहरु पनि व्यास गाउँपालिका- २, दुम्लिङ झर्ने गरेको छ । अहिले सशस्त्र प्रहरी व्यासको कालापानीभन्दा १२ किलोमिटर यतै बसेको छ भने छाङबाट लिपुलेक १७ किलोमिटर दूरीमा पर्छ ।
‘सशस्त्र प्रहरी पहिलोपटक गाउँमा पुगेपछि निकै खुशी छौँ’, व्यासका स्थानीय जीतबहादुर बोहराले भने, ‘अहिलेसम्म सरकार छैन भन्ने अनुभूति भएको थियो । बल्ल सरकारले हेलिकोप्टरमार्फत भए पनि व्यासमा सुरक्षाकर्मी पुर्याएर राज्य भएकोजस्तो भएको छ ।’ व्यासी सौका समाजका अध्यक्ष यशोदा तिंकरीले सरकारले व्यास क्षेत्रमा सशस्त्र प्रहरी राख्नु राम्रो भए पनि अहिले नागरिकलाई खलंगामै छोडेर जानु राम्रो नभएको प्रतिक्रिया दिइन् । व्यास गाउँपालिका- १ का वडाध्यक्ष अशोकसिंह बोहरा सशस्त्र प्रहरीको पोष्ट छाङरूभन्दा पनि कौवा भन्ने ठाउँमा उपयुक्त हुने बताए ।
‘गागामा नेपाल प्रहरीको उपस्थिति छँदैछ,’ उनले भने, ‘कालापानीबाट नजिकको क्षेत्र कौवा हो, भारतले काठ तस्करी पनि गर्ने हुँदा यो क्षेत्र विकल्पको रुपमा हुन सक्छ ।’ सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास- १, छाङरूका स्थानीय बासिन्दा गेल्बुसिंह बोहरा सरकारले ढिलै भए पनि राज्यको उपस्थिति गराउन सकिएको बताए । हामीले सशस्त्र प्रहरीलाई कौवा क्षेत्रमा राख्नुपर्ने प्रस्ताव गरेका छाैँ । स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्र प्रहरीलाई दिइसकेको छ ।

सशस्त्र प्रहरीका एआइजी नारायणबाबु थापाले बुधबार सो बीओपीको उद्घाटन गरेका हुन् । दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टरका सशस्त्र प्रहरी इन्स्पेक्टर लिलीबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो । बीओपीमा अहिले २५ जनाको जनशक्ति रहने छ । यो क्षेत्र चीन र भारतसँग सीमा जोडिएको क्षेत्र हो ।
सशस्त्र प्रहरीलाई नेपाली सेनाको एनए- ०५७ नंको हेलिकोप्टरमार्फत व्यासको गागा झारिएको छ । एआइजी नारायणबाबु थापाले व्यासमा सशस्त्रको भवन निर्माणका लागि छिट्टै प्रक्रिया अघि बढ्ने बताए । ‘सरकारले बीओपी स्थापनाका लागि ११ करोड बजेट विनियोजन गरिसकेको छ,’ उनले भने, ‘छिट्टै बोलपत्र आह्वान भएर स्थायी संरचना निर्माण गर्छौँ ।’ अहिलेको परिस्थितिमा सशस्त्रको जिम्मेवारीअनुसार सीमा रक्षाका लागि खटिएको छ । यो हाम्रो कार्ययोजना र सरकारको कार्यादेशानुसार सशस्त्र खटिएको उनले बताए ।
सीमा सुरक्षा र सीमामा सरकारको उपस्थिति देखाउनकै लागि सशस्त्र प्रहरी व्यासको छाङरूमा गएको उनले बताए । सशस्त्र प्रहरीका लागि आवश्यक बन्दोबस्तीका सामग्री छ महिना पुग्ने गरी लगिएको छ । वर्षौंदेखि हुन नसकेको काम अहिलेको सरकारको तादरुकताकै कारण व्यासमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्न सम्भव भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । ‘सीमा क्षेत्रमा राज्यको उपस्थिति र जनताको सुरक्षा अनुभूति हुने गरी सरकारले गरेको ऐतिहासिक र दूरगामी निर्णय हो,’ उनले भने, ‘यो दिन सरकार, जनता र प्रशासकलाई समेत खुसीको अनुभूति भएको दिनका रूपमा सम्झेको छु ।’
‘देश बन्दाबन्दीको अवस्थामा रहेको बेला सीमा क्षेत्रमा हेलिकोप्टरमार्फत राज्यको उपस्थिति गराउनु चुनौतीपूर्ण काम थियो,’ उनले भने, ‘तैपनि हामीले सुरक्षा व्यवस्थापन गरेका छौँ ।’ सीमामा बस्ने सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरणका साथ पठाइएको छ ।
कुञ्चा सर्न नपाएकोमा स्थानीयवासीको गुनासो
वैशाख पहिलो सातामै कुञ्चा सर्नुपर्ने व्यासीहरु अहिलेसम्म पनि सर्न नपाएकोमा गुनासो व्यक्त गरेका छन् । व्यास गाउँपालिका १ का यसोदा तिंकरीले भनिन्, ‘अहिले पनि आफ्नो जन्मभूमि जान भारतीय बाटो कुर्नुपर्ने अवस्था छ ।’
सोही ठाउँका दानसिंह तिंकरीले पञ्चायतकालमा निर्माण गरिएको बाटो निर्माणमा सरकारले गम्भीरता देखाउन नसकेको बताउँदै पञ्चायतकालमा निर्माण गरिएको गोरेटोबाटो सञ्चालनमा ल्याउन सके यस क्षेत्रको विकास र व्यासीहरुलाई सजिलो हुने बताए । अहिले नेपालतिरको मौराभेल र कौवा क्षेत्रमा झण्डै ४०० मिटर क्षेत्रमा बाटो अवरुद्ध छ । व्यास गाउँपालिका- १, छाङरूमा ११० तथा तिंकरमा ६५ घरधुरीको बसोबास छ ।
प्रकाशित समय १३:०७ बजे

















